तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: पुरुषले मास्क लगाउने सम्भावना किन कम हुन्छ?
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
लामो विवादपछि मोनिकाले* नाटकीय निर्णय लिइन्।
ब्राजिलमा कोरोनाभाइरसको महामारी बढिरहँदा उनका पति एडवार्डोले मास्क लगाउन निरन्तर अस्वीकार गरिरहेका थिए।
त्यही भएर उनले राजधानी रिओ नजिकै पर्ने झण्डै पाँच लाख मानिसको बसोबास रहेको नितेरोईमा रहेको परिवारको अपार्टमेन्टमा नबस्ने निधो गरिन् र सात वर्षे छोरालाई लिएर आफ्ना बुवा आमाको घरमा सरिन्।
उनी भन्छिन्, "मलाई दमको रोग भएकाले कोरोनाभाइरसको सङ्क्रमणको उच्च जोखिम रहन्छ। तर मेरा श्रीमान्लाई म अनावश्यक रूपमा डराइरहेको जस्तो लाग्यो।"
"मेरा श्रीमान्ले आफू घरबाट बाहिर निस्किएपछि गुम्सने खालका ठाउँमा नगएको तर्क गर्न थाल्नुभयो। उहाँले मलाई र हाम्रो छोरालाई उच्च जोखिममा राखिरहेको कुरा सोचिरहनुभएको थिएन।"
लैङ्गिक विभाजन
विश्वका अरू दम्पतीले पनि यस्तै खालको तनावको सामना गरे कि गरेनन् हामीलाई थाहा छैन तर मोनिका र एडवार्डोको कथाले महामारीको समयमा मास्कको प्रयोग सम्बन्धी दृष्टिकोणलाई लिएर देखा परेको लैङ्गिक विभाजनलाई जनाउँछ।
कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या अमेरिकापछि ब्राजिलमा सबैभन्दा उच्च छ।
जुलाई ९ सम्म विश्वभर कोभिड-१९ को सङ्क्रमण १ करोड २० लाख जनामा भएको छ भने ५ लाख ५० हजार भन्दा बढीले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।
तथ्याङ्क उपलब्ध भएका अधिकांश देशहरूमा पुरुष मृत्युदर उल्लेख्य रूपमा बढी छ।
तर अध्ययन र सर्वेक्षणहरूले पुरुषहरू सुरक्षाका उपकरण र अनुहार ढाक्ने मास्क लगाउन महिला भन्दा कम इच्छुक भएको र विगतका महामारीमा पनि यस्तै प्रवृत्ति देखिएको उल्लेख गरेका छन्।
कोभिड-१९ नियन्त्रण गर्न सघाउ पुर्याउने भन्दै स्वास्थ्य अधिकारीहरूले अनुहार ढाक्ने मास्कको प्रयोग गर्न आम रुपमा सुझाव दिँदै आएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले मास्कको प्रयोगको समर्थन गर्दै त्यसलाई सङ्क्रमणको फैलावट दबाउने रणनीतिको हिस्सा भनेको छ। मास्कमा प्रयोग हुने कपडा वा स्वास्थ्यकर्मीले प्रयोग नगर्ने प्रकृतिका मास्क सर्वसाधारणका लागि कति उपयोगी छन् भनेर यथेष्ट प्रमाण नभएपनि समाजिक दूरी सम्भव नभएको अवस्थामा डब्लूएचओले मास्कको प्रयोग गर्न प्रोत्साहन गरेको छ।
कतिपय देश र शहरहरूले पनि मास्कको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् र देशका भिडभाड हुने ठाउँ जस्तै सार्वजनिक यातायात र बारमा त्यसलाई अनिवार्य बनाएका छन्।
यदि मास्कले कोरोनाभाइरस नियन्त्रणमा मद्दत गर्न सक्छ भने किन पुरुषहरूले त्यसलाई प्रयोग गरिरहेका छैनन्?
अध्ययनहरूले यस्तो भन्छन्
अमेरिकामा बसोबास गरिरहेका २५ सय मानिसमा हालै गरिएको एउटा अध्ययनले पुरुषहरूले महिलाको तुलनामा कम सङ्ख्यामा मास्क लगाउने मात्र नभइ मास्क लगाउनु 'लाजमर्दो, नराम्रो वा कमजोरीको सङ्केत भएको' धारणा राखेका थिए।
पुरुषहरूको व्यवहारमा केन्द्रित उक्त अध्ययनमा सहभागी मिडलसेक्स विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रका वरिष्ठ प्राध्यापक भेलीरीओ कापरारो भन्छन् "अनुहार ढाक्ने कुरामा पुरुषहरूको रूचि कम पाइयो। रोगले महिलाको तुलनामा आफूलाई कम प्रभाव पार्ने विश्वास उनीहरूले गरिरहेका कारण यसो गरेका हुनसक्छन्।"
सहभागीहरूलाई समाजिक गतिविधिमा संलग्न हुँदा वा अरू घरका मानिसहरूसँग भेट्दा मास्क प्रयोग गर्ने धारणाका बारेमा सोधिएको थियो।
पुरुषको तुलनामा दोबर सङ्ख्यामा महिलाहरूले 'आफ्नो घर बाहिर मास्क लगाउने गरेको' जबाफ दिएको पाइएको सर्वेक्षणमा उल्लेख छ।
मास्क प्रयोग बाहेक हात धुने मामिलामा पनि पुरुषहरू महिलाको तुलनामा पछि नै रहेको अरू अध्ययनले देखाएका थिए। हालै गरिएको एउटा सर्वेक्षणले ६५ प्रतिशत महिलाले नियमित हात धुने गरेको र ५२ प्रतिशत पुरुषले मात्रै त्यसो गर्ने गरेको पाइएको थियो।
हालैको साताहरूमा अमेरिकामा राजनीतिक आबद्धताका कारण कसरी पुरुष र महिलाहरूले माहामारीको समयमा व्यवहार गर्छन् भन्ने प्रष्ट देखिएको थियो।
मास्क र राजनीति
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन दलका समर्थकहरू डेमोक्र्याटिक दलका समर्थकको तुलनामा मास्क लगाउन वा सामाजिक दूरी कायम गर्न कम इच्छुक रहेको धेरैवटा सर्वेक्षणले देखाएका थिए।
त्यसमा पनि व्यवहार दर्शाउन लिङ्गले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको जनाउँ दिँदै हालै गरिएको एउटा देशव्यापी सर्वेक्षणले ६८ प्रतिशत रिपब्लिकन महिलाहरूले घर बाहिर नियमित रूपमा मास्कको प्रयोग गर्ने गरेको देखाएको थियो।
४९ प्रतिशत रिपब्लिकन पुरुषहरूले मात्रै मास्क प्रयोग गर्ने बताएका थिए।
जापानका वैज्ञानिकहरूले गरिरहेको हालसम्म अप्रकाशित एउटा अध्ययनले मास्कको प्रयोग र मृत्युदरबीच 'अनौठो' सम्बन्ध रहेको देखाएको थियो।
यूनिभर्सिटी अफ कोपेनहेगनकी आचरणवाद सम्बन्धी वैज्ञानिक क्रस्टिना ग्राभर्ट अनुसन्धानले देखाएका वा कथा जसरी प्रस्तुत भएका मास्कको प्रयोग सम्बन्धी लैङ्गिक विभाजनले आफूलाई आश्चर्यमा नपारेको बताउँछिन्।
डेनमार्कको राजधानीमा भोगेको घटनाक्रम सुनाउँदै उनले भनिन्, "महामारीको समयमा कोपेनहेगनमा हिँड्ने वा दगुर्ने बाटोहरूलाई एकतर्फी बनाइएको थियो। मेरो अनुभवमा महिलाको तुलनामा बढी पुरुषहरू गलत बाटोबाट हिँडेका थिए।"
यसअघिका महामारीमा अरू देशहरूमा पनि यस्ता खालका प्रवृत्ति देखा परेको बताइन्छ।
उदाहरणका लागि मेक्सिको सिटीमा सन् २००९ को स्वाइन फ्लूका बेला महिलाहरूले पुरुष भन्दा बढी सङ्ख्यामा मास्क लगाएको देखिएको थियो।
त्यस्तै सन् २००२-२००३ मा हङकङमा सार्स महामारी देखिएको समयमा पनि महिलाहरूले हात धुने र मास्क प्रयोग गर्ने सावधानी बढी अपनाएको पाइएको थियो।
मास्कको प्रयोगमा जोड दिइरहेका अभियानकर्ताहरूले दशौँ लाखले ज्यान गुमाएको सन् १९१८ को फ्लूमा मारिनेमध्ये ठूलो सङ्ख्यामा पुरुष र किशोरहरू रहेको तथ्य पनि औल्याइरहेका छन्।
अनुसन्धान वा खोज बाहेक पनि कतिपयले पुरुषहरूले बढी हेलचेक्रयाइँ गरिरहेका छन् कि छैनन् भनेर प्रश्न गरिरहेका छन्।
कारको बिमा गराउने कम्पनीहरूले ऐतिहासिक रूपमा नै महिलासँग कम बिमा शुल्क लिँदै आएका छन् किनभने अधिकांश दुर्घटनामा पुरुष जिम्मेवार रहेको पाइएको छ। यद्यपि विश्वमा पुरुष सवारी चालकको सङ्ख्या ठूलो छ।
तर दबावले काम गर्छ भन्ने उदाहरण मास्कका कारण अलग्गै बस्न थालेका जोडी एडवार्डो र मोनिकाले प्रमाणित गरेका छन्।
एडवार्डोमा ठूलो परिवर्तन आएको छ र उनले मास्क लगाउन थालेका छन्।
मोनिका भन्छिन्, "मलाई लाग्छ मेरा श्रीमान्ले उनीजस्ता स्वस्थ्य पुरुष बिरामी नहुने ठान्छन्। तर उनी अहिले आफ्नो राम्रो कामले परिवारलाई जोगाउँछ भन्नेमा सचेत छन्।"
*अनुरोधका आधारमा नाम परिवर्तन गरिएको हो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
यो पनि हेर्नुहोस्