कोरोना भाइरस सङ्क्रमणः कोभिड-१९ को उपचारमा परम्परागत पद्धति र औषधि अघि सार्दै चीन

वैज्ञानिकहरू कोभिड-१९ को खोप विकास गर्न लागिपरेका बेला बेइजिङले भने ट्रेडिशनल चाइनिज मेडिसिन (टीसीएम) अर्थात् परम्परागत औषधिको प्रवर्धन गरिरहेको छ।

चीन सरकारले भर्खरै सार्वजनिक गरेको श्वेतपत्रमा चीनमा कोभिड-१९ भएका ९२ प्रतिशत बिरामीको उपचारमा कुनै न कुनै तरिकाले परम्पराग औषधि प्रयोग गरिएको उल्लेख छ।

टीसीएमलाई विश्वकै पुरानो उपचार पद्धतिमध्ये एक मानिन्छ र यसमा जडीबुटी देखि अकुपन्चर तथा ताइचीजस्ता विधि समाविष्ट छन्।

यसको प्रयोगबारे कहिलेकाहीँ अनलाइन माध्यममा तीव्र बहस हुने भए पनि विभिन्न चिनियाँहरूमा परम्परागत उपचार विधि निकै प्रख्यात छ।

विज्ञहरूका अनुसार चीन टीसीएमको आकर्षण आफ्नो देशका साथै अन्यत्र पनि बढाउन प्रयासरत छ। तर स्वास्थ्यसेवामा काम गरिरहेकाहरूमा भने यसको उपयोगिताबारे संशय छ।

समग्रमा कस्तो प्रभाव

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बनाएको कोरोनाभाइरससम्बन्धी निर्देशिकामा टीसीएमबारे विशेष अध्याय छ।

त्यस्तै सरकारी सञ्चारमाध्यमहरूले सन् २००३ को सार्स प्रकोपका बेला यसको प्रयोग गरिएको बारे प्रकाश पारिरहेका छन्।

कोभिड-१९ को उपचारमा उपयोगी हुने भन्दै छवटा परम्परागत उपचार विधिको विज्ञापन गरिएको छ।

टीसीएमका समर्थकहरू यसको प्रयोगमा कुनै समस्या नभएको बताउँछन्। तर विज्ञहरू भने यस्ता औषधिको प्रयोगलाई सुरक्षित मान्न व्यापक वैज्ञानिक परीक्षण गरिनुपर्ने मत राख्छन्।

द यूएस न्याश्नल इन्स्टिट्यूट अफ हेल्थका अनुसार टीसीएम रोगको लक्षणका हकमा सहयोगी साबित हुनसक्ने भए पनि कोरोनाभाइरसविरुद्ध यसको पूर्ण प्रभावकारिता प्रमाणित छैन।

तर चीनमा र अन्यत्र पनि टीसीएमको बजार बढिरहेको छ।

चीनको राज्य परिषद्ले गत वर्ष गरेको अनुमानका अनुसार सन् २०२० को अन्त्यसम्ममा टीसीएम उद्योगको व्यापार ४२० अर्ब अमेरिकी डलर पुग्नेछ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ परम्परागत उपचार विधिको "ठूलो प्रशंसक" रहेको र उनले यसलाई "चिनियाँ सभ्यताको खजाना" भनेको बताइन्छ।

तर वैदेशिक सम्बन्धबारे परिषद्का एक वरिष्ठ प्राज्ञ यान्झोङ हुवाङ भन्छन्, "सुरक्षा र प्रभावकारिताजस्ता विषयमा समस्याका कारण अधिकांश चिनियाँहरू टीसीएमको तुलनामा आधुनिक औषधि नै प्रयोग गर्न रुचाउँछन्।"

अन्तर्राष्ट्रियकरण गर्ने नीति

टीसीएमलाई अन्तर्राष्ट्रियकरण गर्ने बेइजिङको लगातार प्रयास भए पनि चीनबाहिर धेरै मानिस यसबारे अनभिज्ञ छन्।

आलोचकहरूले यसलाई प्रवर्धन गर्न चीनले महामारीको प्रयोग गरेको बताउँछन्। तर चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले त्यस्तो आरोप अस्वीकार गरेका छन्।

चीनले टीसीएमका लागि आवश्यक पर्ने सामग्री तथा यसको प्रयोगबारे जानकारहरूलाई अफ्रिका, मध्यएशिया र युरोपमा पठाइरहेको छ।

"हामी कोभिड-१९ उपचार गर्ने 'चिनियाँ अनुभव' र 'चिनियाँ उपाय' बारे जानकारी गराउन र धेरै राष्ट्रहरूमा चिनियाँ औषधिबारे थाहा दिन चाहिरहेका छौँ जसबाट गर्दा उनीहरूले त्यसबारे बुझ्न र प्रयोग गर्न सक्छन्," चीनको न्याश्नल एड्मिनिस्ट्रेशन अफ ट्रेडिशनल चाइनिज मेडिसिनका उपप्रमुख यु यान्होङले भने।

यो पनि हेर्नुहोस्