उत्तर कोरियाद्वारा दक्षिण कोरियासँगको 'संयुक्त सम्पर्क कार्यालय' ध्वस्त

उत्तर कोरियाले सीमावर्ती सहर गेसङमा दक्षिण कोरियासँग मिलेर बनाइएको दुई देशबीचको एउटा संयुक्त सम्पर्क कार्यालय ध्वस्त पारेको दुवै पक्षहरूले पुष्टि गरेका छन्।

उत्तर कोरियाको सेनाले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) प्रवेश गर्न तयार भएको चेतावनी दिएको केही घण्टापछि उक्त घटना भएको हो।

उत्तर कोरियाली भूमिमा रहेको उक्त कार्यालय दुई देशबीच संवादका लागि सन् २०१८ मा स्थापना गरिएको थियो।

कोभिड-१९ का कारण लगाइएका प्रतिबन्धका कारण उक्त कार्यालय ज्यानुअरी महिनादेखि बन्द थियो।

किन चेतावनी?

यसअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा आश्रय लिइरहेका मानिसहरूको समूहले उत्तरतर्फ सङ्गठित रूपमा प्रचारात्मक सामग्री पठाइएको प्रत्युत्तरस्वरूप प्योङ्याङले डीएमजीमा सैनिक पठाउने चेतावनी दिएको थियो ।

सप्ताहान्तमा उत्तर कोरियाली नेता किम जङ-अनकी बहिनी किम यो-जङले त्यस्तो कदमका लागि तयार रहन आदेश दिएको बताएकी थिइन्।

यतिखेर सेनाले आफ्ना ‘अग्रमोर्चालाई किल्लाको रूपमा बदल्न र सैन्य निगरानीलाई बढाउन' तयार रहेको बताएको छ।

असैनिकीकृत क्षेत्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि कोरियाको सीमारेखा हो।

तनाव किन बढ्यो?

केही समययता दुई देशबीच खासगरी बलूनमार्फत् सीमापारि पठाइने पर्चाका कारण तनाव चुलिएको छ।

त्यो गतिविधिबाट क्रुद्ध बनेको प्योङ्याङले गत साता दुई देशका नेताहरूबीच स्थापित हटलाइन सेवासहित दक्षिण कोरियासँगका सबै सम्पर्क सञ्जालहरू बन्द गरेको थियो।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले मङ्गलवार विकसित पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको छ।

प्योङ्याङले के भन्यो?

मङ्गलवार उत्तर कोरियाली सेनाले असैनिकीकृत क्षेत्रमा सेना पठाउने कार्ययोजनाको अध्ययन गरिरहेको जनाएको छ।

एक वरिष्ठ सैन्य अधिकारीले सेना 'उच्च सतर्कतामा रहेको' र सरकारको कुनै निर्णय तत्काल र कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।

त्यस्तो भनाइ शनिवार किम जङ-अनकी बहिनीले दक्षिणविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो।

"मलाई लाग्छ यो दक्षिण कोरियाली अधिकारीसँग साँच्चिकै मुठभेडमा जाने बेला हो," उत्तर कोरियाली राजनीतिमा उच्च पदमा आसीन किम यो-जङले भनेकी थिइन्।

उनले आफ्नो वक्तव्यको अन्त्यमा भनेकी थिइन्, “फोहोरलाई फोहोरदानीमै फ्याँक्नुपर्छ।”

बलूनमा के हुन्छ?

भगौडाहरूले नेतृत्व गरेका समूहहरूले सीमापारि उत्तर कोरियातर्फ पठाउने बलूनमा पर्चा मात्र हुँदैन।

त्यसमा खानेकुरा, एक डलर बराबरको स्थानीय मुद्रा, रेडिओ र दक्षिण कोरियाली नाटक तथा समाचार भएका पेनड्राइभ समेत छन्।

त्यसले सीमामा बस्ने मानिसहरूको जीवन जोखिममा परेको भन्दै दक्षिण कोरियाले त्यस्ता कदम रोक्ने प्रयास गरिसकेको छ।

राष्ट्रपति मुन जे-इनले सोमवार उत्तर कोरियालाई एउटा सीधा अनुरोध गर्दै अवस्थालाई थप नचर्काउन भन्दै वार्तामा बस्न आग्रह गरेका छन्।

कारण के हो?

पछिल्लो घटनाक्रमलाई बीबीसीकी सोल संवाददाता लोरा बिकरले पर्चा जोडिएका कारणसँग मात्र जोडेर हेर्न नहुने बताउँछिन्।

उनले देखेका दुई कारण यस्ता छन्-

  • उत्तर कोरियाले आफ्नो शासनविरुद्ध प्रचारबाजी भइरहेको बताएको छ। सन् २०१८ मा किम जङ-अन र मुन जे-इनबीच भएको सम्झौतामा सोलले त्यस्ता बलून रोक्ने प्रतिबद्धता जनाएको थियो
  • सोलले अमेरिकालाई प्योङ्याङमाथि लगाइएका कडा प्रतिबन्धहरू समाधान गर्न चुनौती नदिएकोमा समेत उत्तर कोरिया क्रुद्ध भएको छ

बिकरका अनुसार उत्तर कोरियाले यस्तो सङ्कटको अवस्था सिर्जना गरेर भविष्यमा हुने वार्तामा दक्षिणसँग आफू बलियो देखिन समेत प्रयोग गर्न सक्छ।

प्योङ्याङले राष्ट्रपति मुनले सन् २०१८ मा हासिल गरेका कठिन उपलब्धि चेतावनीकै रूपमा उल्टाउन पनि खोजिरहेको ठानिएको छ।