कोरोना भाइरस नेपाल: थप ४५१ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ६,००० नाघ्यो

नेपालमा विगत २४ घण्टामा थप ४५१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६,२११ पुगेको छ।

कुल सङ्क्रमितमध्ये १,०४१ जना निको भई अस्पतालबाट बिदा भएका र १९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जनाएका छन्।

अहिलेसम्म ७७ मध्ये ७३ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।

यसअघि सरकारले गत साता शुक्रवार सर्वाधिक सङ्ख्या अर्थात् ४४८ जनामा सङ्क्रमण पुष्टि गरेको थियो।

त्यसैगरी शनिवार र आइतवार क्रमश: दुई जनाको मृत्यु तथा २७३ जनामा सङ्क्रमण र एक जनाको मृत्यु र ४२५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

के छ अरू तथ्याङ्क?

प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ५,३०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।

यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,३८,६८३ पुगेको छ।

अहिले देशभरि १,३३,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्।

सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।

तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।

पोखरामा थप एक प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण सुरु भएको जानकारी डा. गौतमले दिए।

योसँगै देशभरि २२ वटा प्रयोगशालाबाट कोरोनाभाइरस पुष्टि गर्ने परीक्षण हुन थालेको छ।

को हुन् सङ्क्रमित?

सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको बाहुल्य छ।

रौतहटका १०२, दैलेखका ९३, दाङका ४३, महोत्तरीका ३०, सर्लाही २३ र मोरङ २२ र सुर्खेतका १९ जना भएको मन्त्रालयले जनाएको छ।

दैलेखमा कोरोनाभाइरस पुष्टि भएका व्यक्तिहरू दुईवर्षे बालकदेखि ५४ वर्षसम्मका भएको उक्त प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पर्सामा सङ्क्रमण पुष्टि भएकामध्ये तीन जना स्वास्थ्यकर्मी भएको नारायणी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिएका छन्।

पर्साको ग्रामीण भेगको विभिन्न क्वारन्टीनमा बस्दै आएका १८ जनाको जेठ २६ गते स्वाब सङ्कलन गरिएको थियो।

तीमध्ये १० जनामा कोरोनाभाइरस पुष्टि भएको पर्सास्थित बीबीसी संवाददाता माधुरी महतोले अधिकारीहरूलाई उद्धृत गर्दै बताइन्।

उनका अनुसार कोरोनाभाइरस देखिएकामध्ये छ जना भारतबाट फर्किएर क्वारन्टीन बसेका व्यक्ति भएको बुझिएको छ।

त्यसैगरी काठमाण्डू उपत्यकामा पाँच जनामा पनि सङ्क्रमण देखिएको छ।