कोरोना भाइरस नेपाल: सङ्क्रमितको कुल सङ्ख्या ३,००० नाघ्यो, थप दुई जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि

तस्बिर स्रोत, RSS
नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ।
तीमध्ये ३६५जना निको भएका र थप दुईसहित १३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।
मन्त्रालयले बिहीवार अहिलेसम्मकै सर्वाधिक सङ्ख्या ३३४ जनामा र शुक्रवार २७८ जनामा सङ्क्रमण देखिएको पुष्टि गरेको थियो।

को हुन् मृतक?
डा. देवकोटाका अनुसार डोल्पा र धनगढीमा एक-एक जनामा मरणोपरान्त कोभिड-१९ पुष्टि भएको छ।
जेठ २१ गते मध्यरातपछि मृत्यु भएका ५८ वर्षीय पुरुषबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनभाइरस देखिएको हो। उनी दमको रोगी भएको बताइएको छ।
ती व्यक्ति जेठ १६ गते सुर्खेतबाट फर्किई क्वारन्टीनमा बसेका थिए।
धनगढीमा मिर्गौलाको समस्या भएकी ५५ वर्षीया महिलाको डाईयालिसिसको क्रममा शुक्रवार मृत्यु भएको र पछि परीक्षण गर्दा कोरोनाभाइरस देखिएको डा. देवकोटाले बताए।
तर उनमा पहिला कोभिड-१९ को कुनै लक्षण नदेखिएको बताइएको छ।
के छ अरू तथ्याङ्क?
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ४,१११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पीसीआर विधिबाट गरिएको परीक्षणको कुल सङ्ख्या ९२,४७७ पुगेको छ।
जेठ २४ गते शनिवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
३,२३५कुल सङ्क्रमण
७०प्रभावित जिल्ला
पीसीआर विधिबाट कुल परीक्षण ९२,४७७
चिकित्सकीय निगरानीमा अलग्गै२,८५७
देशभरि क्वारन्टीनमा१,६८,०३१
अहिलेसम्म निको३६५
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
मन्त्रालयले अहिलेसम्म नेपालमा समुदायमा सङ्क्रमण नफैलिएको दाबी गरेको छ।
अहिले देशभरि १,६८,०० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सर्वाधिक (६०,००० भन्दा बढी) र त्यसपछि क्रमश: प्रदेश नं ५ (४१,००० भन्दा बढी), कर्णाली प्रदेश (३२,००० भन्दा बढी) र प्रदेश नं २ (२१,००० भन्दा बढी)मा धेरै सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
जाजरकोट र डोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९ बाट प्रभावित जिल्लाको सङ्ख्या ७० पुगेको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

को हुन् सङ्क्रमित?
नयाँ सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये पाँचमहिने र छमहिने शिशुसहित केही बालबालिका पनि छन्।
तर अधिकांश सङ्क्रमित युवा छन्। तीमध्ये पनि महिलाभन्दा पुरुष धेरै छन्।
काठमाण्डू उपत्यकाका पाँच जनामा पनि सङ्क्रमण देखिएको छ।
नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोनाभाइरस देखिएका ४० मध्ये बाँकेका १२ र बर्दियाका २८ जना छन्।
उनीहरूमध्ये एक चार वर्षीय बालक र तीन महिला छन्।
कपिलवस्तुका ५०, दैलेखका ४७, सल्यानका ३८, महोत्तरीका ३५ र सर्लाहीका २७ जनामा पनि कोभिड-१९ देखिएको छ।
दैलेखका ९० जनामा शुक्रवार र ११३ जनामा बिहीवार सङ्क्रमण पुष्टि भएको थियो।
अहिलेसम्म कपिलवस्तुमा सर्वाधिक ५२५ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये १८ जना रोगमुक्त भइसकेका छन्।
त्यसैगरी रौतहटमा ३९२ जनामा सङ्क्रमण देखिएकोमा चार जना निको भएका छन्।
दैलेखमा सङ्क्रमित भेटिने क्रम जारी छ। अहिलेसम्म त्यहाँ ३५५ जनामा कोरोनाभाइरस देखिएको छ भने तीमध्ये एक जनाको मृत्यु भइसकेको छ।
मानव अधिकार आयोग चिन्तित
राष्ट्रिय मानव अधिकार आयोगले भारतबाट आएका नेपालीहरूलाई राखिएका क्वारन्टीन स्थलहरूलाई मापदण्डअनुरूप व्यवस्थित गर्न सरकारलाई आह्वान गरेको छ।

तस्बिर स्रोत, RSS
शनिवार जारी गरिएको प्रेस विज्ञप्तिमा आयोगले शुक्रवारसम्म नेपालमा कोभिड-१९ का कारण ज्यान गुमाएको पुष्टि भएका ११ जनामध्ये नौ जनाको मृत्यु क्वारन्टीनभित्र भएको र अहिले पनि डेढ लाखभन्दा धेरै मानिस क्वारन्टीनमै भएको औँल्याएको छ।
"सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले सङ्कट झनै लम्बिन सक्ने देखिन्छ। झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारन्टीनहरू न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकोले आधारभूत मानव अधिकार संरक्षणमा समेत उदासीनता देखिएको छ," विज्ञप्तिमा उल्लेख छ।
साथै आयोगले लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनको क्रममा हिँडेका सञ्चारकर्मीहरूमध्ये २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की र दुर्व्यवहारमा परेको भन्दै चिन्ता प्रकट गरेको छ।

तस्बिर स्रोत, RSS
सूचना प्रदान गर्ने काममा उत्पन्न अवरोध अनि कतिपय श्रमजीवी पत्रकारहरूले पारिश्रमिक पाउन नसकेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको भन्दै आयोगले नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने अवस्था आइपरेको आयोगले उल्लेख गरेको छ।
आयोगले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि देशभरि सञ्चालित क्वारन्टीनहरू मापदण्डअनुरूप व्यवस्थित सञ्चालन गर्न, क्वारन्टीनमा रहेकाहरूको पीसीआर परीक्षणलाई तीव्रता दिन तथा पत्रकारहरूलाई आवश्यक सूचना उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।









