कोरोना भाइरस नेपाल: दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

केही सातादेखि कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका अनुसार एक दिनमा कम्तीमा १० हजारवटा नमुना परीक्षण गर्ने गरी क्षमता बढाउन सरकारले एउटा ठूलो स्वचालित र तीनवटा अन्य ठूला उपकरण ल्याउन खोजेको छ।

उनले भने, "विभिन्न ठाउँबाट सङ्कलन गरिएका स्वाब प्रयोगशालामा बढ्दै गएकाले त्यसको निकास दिन त्यस्तो मेसिन ल्याउने निष्कर्षमा पुगेका छौँ।"

अहिले देशभरि १,६०,००० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् र भारत तथा अन्य देशबाट पनि नेपाली नागरिकलाई फर्किन दिने सरकारले जनाएको छ।

त्यसैले रोग नियन्त्रणका लागि परीक्षण बढाउन अपरिहार्य मानिएको छ।

बढ्दो चापले निम्त्याएको आवश्यकता

नेपालभरि भएका सबै प्रयोगशालामा गरी एक दिनमा अधिकतम पाँच हजारको हाराहारीमा परीक्षण नतिजा आएको छ।

कतिपय दिनमा त्यसको आधा मात्रै नमुना परीक्षण हुने गरेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

सबैभन्दा बढी परीक्षण हुने काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजारको हाराहारीमा परीक्षण हुने गरेको देखिन्छ।

स्वास्थ्यमन्त्री ढकालका अनुसार प्रयोगशालामा नमुना परीक्षण गर्न पालो कुर्नुपर्ने अवस्था आएको छ।

पीसीआर मेसिन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर उपकरण राखेर परीक्षण सुरु भएको छ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहान ८ बजेदेखि मध्यरातसम्म परीक्षण भइरहेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार छिट्टै २४ घण्टा परीक्षणको काम गर्ने तयारी भइरहेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

उच्च क्षमताका उपकरण नै विकल्प

स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पछिल्ला दिनमा निकै बढेपछि नमुना सङ्कलन पनि त्यही रूपमा वृद्धि भएको छ।

पछिल्ला दिनमा भारतबाट नेपालीहरू आउने क्रम बढेको र अन्य देशबाट नेपालीलाई ल्याउने सरकारको तयारीले गर्दा अहिलेकै जनशक्ति र उपकरण पर्याप्त नहुने उनीहरूको ठहर छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाका अनुसार अहिलेको पीसीआर मेसिनबाट गरिने परीक्षण प्रक्रिया लामो छ।

यसमा ४८ वटा नमुनाबाट कोरोनाभाइरसको आरएनए अर्थात् आनुवंशिक संरचना निकाल्न दुईजना मान्छेलाई झन्डै दुई-साढे दुई घण्टा लाग्छ। एक जनाले ५० वटाभन्दा बढी निकाल्न सक्दैन।

हात दुख्ने, घाँटी दुख्ने समस्या हुन्छ। त्यसैले यसका धेरै सीमितता छन्।

नेपालमा नयाँ कोरोनाभाइरस सङ्क्रमण. १० दिनमा यसरी बढ्यो सङ्क्रमण पुष्टि हुने क्रम. गत १० दिनको दैनिक सङ्क्रमण पुष्टि सङ्ख्या .

नयाँ उपकरणका फाइदा

स्वचालित उपकरण ल्याइएमा एक घण्टामा ९० वटा नमुनाबाट आरएनए निकाल्न सकिने विज्ञहरू बताउँछन्।

एक अधिकारीका अनुसार अहिलेको उपकरणमा एक पटकमा ९६ वटा नमुना परीक्षणमा राख्न सकिन्छ। त्यसैले एकै पटकमा पाँच सयदेखि एक हजारवटा नमुना जाँच गर्न सकिने उपकरणको खोजी भइरहेको हो।

स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट बिहीवार मन्त्रालय सरुवा हुनअघि महेन्द्रप्रसाद श्रेष्ठले बताएअनुसार त्यस्तो खालको उपकरण स्विट्जरल्यान्डबाट ल्याउन खोज्दा त्यहाँको कम्पनीले छ हप्ताभन्दा पहिले दिन नसक्ने बता‍एको छ।

पीसीआर टेस्ट

तस्बिर स्रोत, RSS

उनले भने, "त्यस्तै मेसिन कोरियामा पनि छ भन्ने थाहा भएको छ। तर कहाँबाट ल्याउने भन्ने निर्क्योल भइसकेको छैन।"

अहिलेको उपकरणमा मान्छेले गर्नुपर्ने प्रक्रिया लामो हुने भएकाले हाललाई जनशक्ति पनि बढाइएको छ र त्यो एक-दुई दिनमा अझ थप गर्न लागिएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

नयाँ उपकरण स्वचालित भएपछि थपिने जनशक्तिबाट काम चल्न सक्ने उनीहरूको अनुमान छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण

अर्को चिन्ता

नेपालले ल्याउन खोजेको एउटा उपकरणको मूल्य डेढदेखि दुई करोड रुपैयाँ पर्ने अनुमान छ।

तर विश्वव्यापी महामारीका कारण खोजेको जस्तै विश्वासिलो उपकरण नपाइने चिन्ता पनि अधिकारीहरूको छ। त्यसैले त्यस्तो उपकरण नपाएको खण्डमा चीनले बनाएका उपकरण ल्याउन सकिने एक अधिकारीले बताए।

तर चीनबाट यसअघि ल्याइएको आरडीटी किट र त्यसको जिम्मा दिइएको कम्पनी ओम्नीसँग सम्बन्धित विवादका कारण खेप्नु परेको आलोचनाले पनि झस्काएको बताइन्छ।

तर स्वास्थ्यमन्त्री ढकाल भन्छन्, "विभिन्न ढङ्गले सहयोग माग्ने, माग्दा भएन भने किन्ने। बढी मूल्य नपरोस् भन्नेमा हामी सतर्क नै छौँ। तर जनताको जीवन सुरक्षा हाम्रो प्राथमिकता हो।"