तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: सङ्क्रमणमुक्त नर्स भन्छिन्- 'सङ्क्रमितलाई हेयको भावले हेरिन्छ, त्यसरी नहेरियोस्'
- Author, विमला चौधरी
- Role, बीबीसी न्यूज नेपाली
भारतबाट आएर विभिन्न क्वारन्टीनमा बसेकाहरूको उपचारमा खटिएकी बाँके खजुराकी एकजना नर्स लक्ष्मी केसी ओली (४२) आफूलाई पनि सङ्क्रमण हुनसक्छ भन्नेमा चनाखो थिइन्।
तर पनि उनलाई कोरोनाभाइरस सङ्क्रमण भयो।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा सह–संयोजक तथा बाँके नर्सिङ् सङ्घकी अध्यक्ष रहेकी उनी र उनका श्रीमान पत्रकार मेघराज ओली सङ्क्रमणमुक्त भएर शुक्रवार घर फर्किएका छन्।
सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन कक्षमा बसेर उपचार गराएकी उनी सङ्क्रमणबाट जोगिन सचेत हुँदाहुँदै सङ्क्रमित भएको थाहा पाउँदा सुरुमा सम्हाल्न गाह्रो भएको अनुभव सुनाउँछिन्।
"सङ्क्रमित हुँदैमा केही हुँदैन भनेर अरुलाई सम्झाउँदा जति सजिलो हुन्छ आफूलाई हुँदा सम्हालिन गाह्रो हुँदोरहेछ," उनले भनिन्।
"आफूलाई पनि सङ्क्रमण हुन सक्छ भनेर पहिले नै सावधानी अपनाएकी थिएँ, गाउँमा रहेका क्वारन्टीनमा धेरैजसो भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य जनचेतनाका लागि घरघर पुगेर आउँदा सङ्क्रमण फैलनबाट बचाउन आफ्ना वृद्ध आमा बुवालाई समेत भेट्न छाडेकी थिएँ।"
सङ्क्रमण कसरी?
जेठ ८ मा उनलाई कोरोनाभाइर सङ्क्रमण पुष्टि भएको हो।
त्यसपछि घरका सबैको स्वास्थ्य परीक्षण गरियो।
छोराछोरीमा सङ्क्रमण नदेखिए पनि उनका श्रीमानलाई भने पोजेटिभ देखियो।
श्रीमान्लाई जेठ १३ मा पोजेटिभ देखिएको थियो। श्रीमान् पोजेटिभ देखिए पनि छोराछोरीमा नदेखिएकाले धेरै चिन्ता नलागेको उनी बताउँछिन्।
बाँकेमा भारत तथा विदेशबाट आएकाबाट कोरोनाभाइरसको जोखिम बढेको उनको बुझाइ छ।
उनी भन्छिन्, "पहिले अवस्था सामान्य थियो जब सीमा नाकाबाट सर्वसाधारण भित्रिन थाले। सङ्क्रमणको दर बढ्यो।"
उनलाई भारत तथा विदेशबाट आएका नागरिकको स्वास्थ्य परीक्षण, क्वारन्टीनमा रहेकाको चेकजाँचका साथै समुदायमा पनि जानुपर्ने भएकाले त्यतैबाट कोरोनाभाइरस सरेको हुनसक्ने शङ्का छ।
"सर्वसाधारणको सेवा गर्ने प्रतिबद्धतासहित स्वास्थ्य क्षेत्रमा लागेकाले नागरिकको ज्यान जोगाउनु स्वास्थ्यकर्मीको कर्तव्य तथा दायित्व हो" उनले भनिन्।
"नर्सिङ पढ्ने बेला सेवा गर्ने कसम खाएर आएका छौँ, जिम्मेवारीबाट भाग्न मिलेन।"
आइसोलेशनमा बसेर दुई हप्तामा कोरोनाभाइरसमुक्त भएकी लक्ष्मी घरमा थप एक हप्ता सुरक्षित बसेर पुनः काममा फर्किने छिन्।
आइसोलेशन अनुभव
दुई हप्ता आइसोलेशन बसाइका क्रममा विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक दुई घण्टा व्यायाम र ध्यान गरेको उनले बताइन्।
त्यसपछि खाना खाएर छोराछोरी र आफन्तसँग भिडियोमार्फत् कल गरेर आफूलाई केही नहुने भन्दै सम्झाएको ओलीले जानकारी दिइन्।
वृद्ध आमाबुबासँग पनि बारम्बार फोन सम्पर्क गरेर स्वस्थ भएर छिटै घर फर्कने बताउने गरेको उनी बताउँछिन्।
खानेकुरामा पोषिलो खानासँगै गुर्जोको झोल, तातोपानी पनि बारम्बार सेवन गर्ने गरेको ओलीले जानकारी दिइन्।
सुझाव
अस्पतालभन्दा गाउँघर तथा समाजमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढी भएको उनको बुझाइ छ।
"सङ्क्रमण जहाँ जतिबेला पनि हुनसक्छ भन्ने त लाग्थ्यो, तर आफू सचेत हुँदाहुदै पनि सङ्क्रमित भइयो। तर कोरोनाभाइरस लाग्दैमा कसैको ज्यान जाँदैन। सङ्क्रमित व्यक्तिलाई समाजले भने हेयका दृष्टिले हेर्ने भएकाले सोचाइ परिवर्तन गर्न आवश्यक छ," उनले भनिन्।
"हामी स्वास्थ्यकर्मीलाई हेर्ने नजर त फरक छ भने सर्वसाधारणलाई कति गाह्रो हुन्छ होला।"
भाइरसको सङ्क्रमण जोसुकैलाई पनि हुनसक्ने तर सङ्क्रमित भएपछि सबैले फरक दृष्टिले हेर्ने गरेको उनको अनुभव छ।
"सङ्क्रमणपछि मैले अनुभव गरेको तीतो सत्य यही हो, सङ्क्रमितलाई हेर्ने नजर फरक छ। यसले सामाजिक संरचना नै खलबल्लिन्छ।"
कोरोनाभाइरसका कारण सर्वसाधारण त्रसित र भयभित हुनु स्वाभाविक भए पनि स्वास्थ्यकर्मी नै मनोवैज्ञानिक त्रासमा रहनुपरेको उनले बताइन्।
स्वास्थ्यकर्मीले भाइरसप्रतिको मनोवैज्ञानिक त्रास नहटाएसम्म काम गर्न गाह्रो हुने उनको अनुभव छ।
स्वास्थ्यकर्मीले उच्च मनोबलकासाथ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्ने उनको बुझाइ छ।
सङ्क्रमण देखिएको दुई दिनसम्म उनीसहित घर, माइती, नातेदार सबैतिर चासो, चिन्ता र तनाव बढेको थियो।
तर अहिले सबैले सामान्य रूपमा लिइरहेका छन्।
सङ्क्रमित हुँदा खानपान र आफू सुरक्षित हुनुपर्ने कुरामा ध्यान दिन उनी सुझउँछिन्।
कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मी, सर्वसाधारण र सरकार सबै संयमित भई हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा