कोरोना भाइरस नेपाल: आकस्मिक सेवाका लागि आउने बिरामीलाई पीसीआरको निहुँमा फर्काए अस्पताललाई ‘कारबाही’

    • Author, फणिन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कुनै पनि अस्पतालले आकस्मिक तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचार तत्कालै गर्न अस्वीकार गरे त्यसविरूद्ध उजुरी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सेवाग्राहीलाई अनुरोध गरेका छन्।

कोरोनाभाइरसको महामारीसँगै कतिपय अस्पतालमा बिरामीहरूले अत्यावश्यक शल्यक्रिया सहितका सेवा नपाएको विवरण आइरहँदा उनले त्यसलाई चिन्ताजनक प्रवृत्ति भन्दै त्यो गैरकानूनी भएको बताए।

देशका विभिन्न ठाउँका अस्पतालहरूले आकस्मिक सेवा लिन आउने बिरामीहरूसँग कोरोनाभाइरस सङ्क्रमण नभएको प्रमाण स्वरूप पीसीआर वा आरडीटी परीक्षणको रिपोर्ट माग गरेका खबरहरू आइरहेका छन्।

निजी अस्पतालहरूको छाता सङ्गठनका अधिकारीले निजी अस्पतालहरूले सरकारले तोकेको ‘प्रोटोकल’ पालना गरिरहेको भन्दै कसैलाई पनि उपचारबाट वञ्चित नगरिएको दाबी गरेका छन्।

गैरकानुनी

कोरोनाभाइरसको महामारी देखापरेपछि सरकारले कोभिड-१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै अस्पतालहरूले शारीरिक दूरी सहित व्यक्तिगत सुरक्षाका मापदण्डहरू अवलम्बन गर्दै कोभिड-१९ बाहेकका स्वास्थ्य सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने भनेको छ।

त्यसक्रममा कोरोनाभाइरसको उपचारका लागि मात्रै भनेर तोकिएका बाहेक सम्पूर्ण अस्पतालले आकस्मिक र गम्भीर किसिमका सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ।

तर कोरोनाभाइरसको महामारी बढ्दै जाँदा देशका विभिन्न स्थानका अस्पतालले आकस्मिक रूपमा उपचार खोजिरहेका बिरामीलाई तत्कालै भर्ना लिन नमानेका विवरणहरू आएका छन्।

अस्पतालहरूले त्यस्ता बिरामीहरूसँग पीसीआर वा आरडीटी विधिबाट परीक्षण गराइ कोरोनाभाइरस नभएको प्रमाण ल्याउन भनिरहेका विवरणहरू आएका छन्।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डाक्टर भगवान कोइराला सबै आकस्मिक र गम्भीर सेवा चाहिने बिरामीका लागि कोरोनाभाइरसको परीक्षण नचाहिने भन्दै त्यस्तो माग गर्नु गलत भएको बताउँछन्।

उनले भने, “जीवन जोखिममा हुने वा अङ्गभङ्ग हुने अवस्थामा कानूनी र आचारसंहिता दुवै हिसाबले त्यसरी आकस्मिक उपचारबाट कसैलाई पनि वञ्चित गर्न पाइँदैन्। यो वा त्यो बहानामा कतै अवरोध भएको छ भने काउन्सिलमा उजुरी दर्ता गराउनुहोस् हामी कारबाहीको प्रकिया अघि बढाउँछौँ।”

त्यस्ता घटनाहरू सरकारीसहित विभिन्न अस्पतालमा पाइएका खबरहरूमा जनाइएको छ।

सरकारको नीतिको कार्यान्वयन

तर एसोसिएशन अफ प्राइभेट हेल्थ इन्सटिच्युटन नेपालका महासचिव हेमराज दाहाल आफ्नो सङ्गठन आवद्ध स्वास्थ्य संस्थाहरूबाट गैरकानूनी ढङ्गका कुनै पनि काम नभएको दाबी गर्छन्।

उनले भने, “उपचार गर्नैपर्छ भन्ने हाम्रो स्पष्ट अडान रहँदै आएको छ। शङ्कास्पद बिरामीहरूलाई आरडीटी परीक्षण गरेर हेर्नुपर्छ तर उपचारबाट वञ्चित गर्न पाँइदैन भनेर हामीले पनि अस्पतालहरूलाई भनिरहेका छौँ र बिरामीलाई उपचारबाट वञ्चित गरिएको छैन।”

उनले थपे, “नियमसङ्गत रूपमा हाम्रा कामहरू भइरहेका छन्। यदि गैरकानूनी भइरहेको भए हामी कारबाही भोग्न पनि तयार छौँ।”

अधिकारीहरूका अनुसार हाल कार्यान्वयनमा रहेको निर्देशिकामा आकस्मिक रूपमा शल्यक्रिया गर्नुअघि बिरामीलाई कोरोनाभाइरसको सङ्क्रमण भए या नभएको भनेर आरडीटी विधिबाट परीक्षण गर्न मिल्ने मापदण्ड तोकिएको छ।

आरडीटी परीक्षणबाट १५ मिनेटमा नै नतिजा आउने भएपनि यसलाई कम्तीमा ६ घण्टापछि मात्रै नतिजा दिने पीसीआर विधिभन्दा कम विश्वशनीय मानिन्छ। उसबेला नेपालमा आरडीटी जाँचका लागि मात्रै कीटहरू रहेकाले त्यस्तो व्यवस्था गरिएको बताइन्छ।

तर अधिकारीहरूले उक्त व्यवस्थालाई परिमार्जन गर्न लागेको बताएका छन्।

नेपाल मेडिकल काउन्सिलले नयाँ निर्देशन जारी गर्न लागेको जानकारी दिँदै डाक्टर कोइराला भन्छन्, “बिरामी कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम भएको क्षेत्रबाट आकस्मिक उपचारका लागि आएको अवस्थामा बेहोस पारेर उपचार गर्नुअघि पीसीआर परीक्षण गराउनुपर्छ भनेर हामीले निर्देशिकालाई अद्यावधिक गर्दैछौँ। हामीले प्रत्येक घटनाहरूलाई एक एक गरेर हेर्नुपर्छ भन्नेमा लागेका छौँ।”

उनले सबै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै परीक्षण गराउनुपर्ने अवस्थामा पनि सावधानी अपनाएर बिरामीहरूलाई बाँकी स्वास्थ्य सेवाहरू उपलब्ध गराइनुपर्ने उल्लेख गरे।

असुरक्षा यथावत्

सङ्क्रामक रोग सम्बन्धी विशेषज्ञ डाक्टर अनुप सुवेदी आकस्मिक सेवा खोज्दै आएका बिरामीलाई भर्ना लिन्न भन्न नपाइने बताउँछन्।

आफूसँग सेवा उपलब्ध नभएको अवस्थामा पनि त्यस्ता बिरामीको उपचारको लागि सहजीकरण गरिदिने जिम्मेवारी बिरामी पहिले पुगेको अस्पतालको हुने विश्व्यापी मान्यता रहेको उनको भनाइ छ।

तर सेवा प्रवाह गर्न चुनौती रहेको उल्लेख गर्दै उनी भन्छन्, “अहिले पनि हामीकहाँ स्वास्थ्यकर्मीका लागि यथेस्ट रुपमा सुरक्षा सामग्री उपलब्ध छैन। पीसीआर विधिबाट गरिने परीक्षणकै पनि नतिजा आउन एकहप्ता भन्दा बढी लागेको देखिन्छ।"

"एउटा अस्पतालमा मात्रै सङ्क्रमण देखियो भने धेरै सेवा प्रभावित हुन्छ र अरूले पनि असुरक्षित महसुस गर्छन्। अवस्था नै भयावह बन्ने जोखिम हुन्छ।"

"त्यही भएर सावधानी अपनाउने र श्रोत साधन जुटाएर बढी भन्दा बढी परीक्षण गर्न हामीले जोड दिनुपर्छ। उपचार चाहिँ दिनैपर्छ।”