कोरोना भाइरस नेपाल: सङ्क्रमितको कुल सङ्ख्या १५०० नाघ्यो, बाजुरामा एक बालिकाको मृत्यु भएको पुष्टि

तस्बिर स्रोत, rss
नेपालमा थप १६६ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार पुष्टि गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म सङ्क्रमितको कुल सङ्ख्या १,५६७ पुगेको छ।
शनिवार दैलेखमा एक पुरुष र आइतवार बिहान बाजुरामा एक बालिकाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उनले पुष्टि गरे।
दैलेखमा मृत्यु भएका व्यक्तिमा कोरोनाभाइरस देखिएको प्रदेश सरकारले शनिवार नै पुष्टि गरेको थियो।
डा. देवकोटाका अनुसार बाजुरामा मृत्यु हुने दुई वर्षीया बालिका आफ्ना आमाबुवासँग भारतबाट फर्किएकी थिइन्।



शनिवार सरकारले १८९ जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ


यससँगै अब नेपालमा कोभिड-१९सँग सम्बन्धित मृत्युको सङ्ख्या आठ पुगेको छ।
अरू तथ्याङ्क के छ?
मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २२० छ।
अहिलेसम्म पीसीआर विधिबाट कुल ६९,५८२ वटा परीक्षण गरिएको छ। विगत २४ घण्टामा २,८५३ वटा परीक्षण गरिएको डा. देवकोटाले बताए।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १,१९,१९२ व्यक्ति क्वारन्टीन र १,३४९ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

जेठ १८ आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
१,५६७कुल सङ्क्रमण
५७सङ्क्रमण देखिएका जिल्ला
पीसीआर विधिबाट परीक्षण ६९,५८२
चिकित्सकीय निगरानीमा अलग्गै१,३४९
देशभरि क्वारन्टीनमा१,१९,१९२
अहिलेसम्म कोरोनाभाइरसमुक्त भएका २२०

अहिले देशका ५७ जिल्लामा सङ्क्रमण फैलिएको छ।
प्रवक्ता देवकोटाले पीसीआर परीक्षण बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको जानकारी दिए।
अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।
अधिकांश सङ्क्रमित भारतबाट फर्किएका व्यक्ति भएको बताइन्छ।









