'बढ्यो लकडाउन तर अवस्था अनुसार केही फरक हुने'

बैठक

तस्बिर स्रोत, PMO

सरकारले देशव्यापी रूपमा लगाएको लकडाउन जेठ महिनाको अन्तिमसम्म लम्ब्याउने निर्णय गरेको छ।

भाइरसबाट सङ्क्रमितको सङ्ख्या एकै दिन करिब दुई सय बढेको दिन शनिवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

तर लकडाउन केही खुकुलो बनाउने सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

उनले भने, "लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने छ। लकडाउन सबै क्षेत्रमा एउटै हुनसक्छ भन्ने होइन। अवस्था अनुसार केही फरक हुनसक्छ।"

सिमानामा कडाइ

अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोक्ने अवधि असार १६ गतेसम्मको निम्ति बढाइएको छ।

उनले भने, "सङ्क्रमणको जोखिम सीमापारीबाट पनि बढेकाले सम्पूर्ण आवागमनमा थप कडाइ गर्ने र सीमा वारपार गर्दा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जाँच गरेर मात्र लग्ने वा ल्याउने विषयमा छिमेकी मुलुकसँग पनि सहकार्य गर्ने निर्णय भएको छ।"

शनिवार बसेको सुरक्षापरिषद्को बैठकले पनि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरसः लकडाउन खुलेपछि जनजीवन कस्तो होला

लकडाउन निश्चित क्षेत्रहरूमा हटाइन सक्ने चर्चा भइरहेका बेला सरकारको पछिल्लो निर्णय आएको छ।