कोरोना भाइरस नेपाल: कर्णाली प्रदेशमा दुई हप्तामा शून्यबाट १०० भन्दा बढी सङ्क्रमण पुष्टि

- Author, कृष्णमाया उपाध्याय
- Role, बीबीसी न्यूज नेपाली, जुम्ला
भारत तथा अन्य स्थानबाट घर फर्किएका मानिसमा कोरोनाभाइरस परीक्षणको दायरा बढाउँदै लगिएपछि कर्णाली प्रदेशमा सङ्क्रमण पुष्टि हुने क्रम बढ्न थालेको चिकित्सकहरूले बताएका छन्।
गत साता सोमवार पहिलो पटक कर्णालीमा कोभिड-१९ भएका व्यक्ति फेला परेको पुष्टि भएको थियो। दुई साताभित्रै सङ्क्रमितको सङ्ख्या १०० नाघेको प्रदेश सरकारले जनाएको छ।
शनिवार एकै दिन ६३ जनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। पुष्टि भएका सङ्क्रमितहरू कालीकोट, सल्यान र बाजुरा जिल्लाका हुन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरानाभाइरस सङ्क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जानकारी दिए। शनिवार राति अबेर आएको परिणाममा सङ्क्रमण देखिएको हो।
को हुन् सङ्क्रमित?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको जानकारीअनुसार शनिवार राति सङ्क्रमण पुष्टि हुनेमा कालीकोटका १८, दैलेखका १८ र बाजुराका एक जना छन्।
उनीहरू दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिका, कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका र महाबु गाउँपालिकामा बनाइएका क्वारन्टीनमा बस्दै आएका मानिसहरू भएको बुझिएको छ।
विभिन्न जिल्लामा क्वारन्टीनमा भएका मानिसहरूको स्वाब सङ्कलन गरेर त्यसको परीक्षण गर्ने कामलाई निरन्तरता दिइएको अधिकारीहरूले बताएका छन्।
प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका चार जनामा पनि सङ्क्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ।
योसँगै आइतबार बिहान ८ बजे सम्मको विवरणअनुसार कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितहरूको कुल सङ्ख्या १२३ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत तथा जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले बताएका छन्।
सङ्क्रमितहरू १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष हुन्।

तस्बिर स्रोत, RSS
दैलेखमा चिकित्सक टोली
कर्णाली प्रदेशको दैलेख, कालीकोट र सल्यान जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि क्वारन्टीनमा बसेका मानिसको स्वास्थ्य परीक्षण गरेर स्वाब सङ्कलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकहरूको एउटा टोली खटाइएको छ।
प्रतिष्ठानमा कार्यरत डा. दिनेश शाहीको नेतृत्वमा पाँच स्वास्थ्यकर्मीसहितको उक्त टोली एक महिनाका लागि दैलेख गएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।
उक्त टोलीले क्वारन्टीनमा स्वास्थ्य परीक्षण गर्नुका साथै त्यहाँ आवश्यक पर्ने आइसोलेशन वार्ड स्थापना गर्न पनि सहयोग गर्ने बताइएको छ।
सङ्क्रमितलाई छुट्टै कोठा
शनिवार कोरोनाभाइरस पुष्टि भएका व्यक्तिलाई क्वारन्टीन भएकै स्थानमा छुट्टै कोठामा राख्न लागिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन्।
दिनदिनै भारत तथा अन्य जोखिम भएका जिल्लाबाट आउने मानिसहरूको सङ्ख्या बढ्दै गएको हुनाले क्वारन्टीन व्यवस्थापनमा कठिनता उत्पन्न भएको उनले बताए।
विशेषज्ञ स्वास्थ्यकर्मीहरूको अभाव भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहयोग मागिएको उनले बताए।
उनका अनुसार क्वारन्टीनमा आवश्यक पर्ने खाना तथा अन्य सामग्रीको लागि आर्थिक अभाव भएपछि सङ्घ र प्रदेश सरकारसँग माग गरिएको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

क्वारन्टीनमा मृत्यु भएपछि त्रास
दैलेखको दुल्लु नगरपालिका-७ को क्वारन्टीनमा शनिवार बिहान एक युवकको मृत्यु भएपछि त्यहाँ बस्दै आएका ७९ जना त्रसित बनेको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए।
भण्डारीका अनुसार उक्त घटनापछि अन्य मानिसले शनिवार क्वारन्टीनमा खाना खाएनन्।
मरणोपरान्त गरिएको परीक्षणमा ती युवकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको प्रदेश सरकारले पुष्टि गरेको छ।
उनको शवलाई आवश्यक प्रक्रिया पूरा गरेर शनिवार नेपाली सेनाको टोलीले खाल्डो खनेर गाडेको दुल्लु नगरपालिकाले जनाएको छ।
स्थानीय स्रोतसाधनको उपयोग गरेर यथाशक्य व्यवस्थापन गर्न खोजिएको भए पनि धेरै मानिसहरू आइरहेको हुनाले धेरै चुनौती भएको उनको भनाइ छ।
स्वास्थ्यकर्मीहरू नै जोखिममा
कालीकोटको शुभकालिका गाउँपालिका र महाबु गाउँपालिकामा शनिवार एकै दिन १८ जना व्यक्तिमा सङ्क्रमण पुष्टि भएको थियो।
सङ्क्रमितहरूलाई एउटै क्वारन्टीनमा छुट्टै कोठामा राख्न लागिएको जिल्ला अस्पताल कालीकोटमा कार्यरत मेडिकल अधिकृत कटक महतले जानकारी दिए।
"भारतबाट झन्डै २,००० जनाभन्दा बढी मानिस आएर क्वारन्टीनमा बसेको हुनाले व्यवस्थापन गर्न कठिन भइरहेको छ," उनले भने।
उनीहरूको परीक्षणका लागि आवश्यक किट तथा अन्य स्वास्थ्य सामग्रीको अभाव हुँदा समस्या भएको उनले बताए।
क्वारन्टीनमा खटिएका स्वास्थ्यकर्मीका लागि मास्क, पन्जा, पीपीई आदि सामग्री अभाव र उनीहरू उच्च जोखिमामा परेको उनले गुनासो गरे।
कालीकोट जिल्ला अस्पतालमा आइसोलेशनसहित चारवटा शय्या मात्र भएको हुनाले थप ५० वटा शय्या बढाउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
स्थानीय तहको सहयोगमा सदरमुकामको सार्वजनिक भवनमा आइसोलेशन वार्ड बनाउन लागिएको हो।










