तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: थप एकको मृत्यु, कपिलवस्तुमा एकै दिन थपिए एक सयभन्दा बढी सङ्क्रमित
नेपालमा शनिवार थप १८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १,४०१ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस सङ्क्रमितमध्ये १२८८ जना पुरुष हुन् भने ११३ जना महिला रहेका छन्।
शनिवार एकै दिन हालसम्मकै सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको हो।
शुक्रवार एकै दिन १७० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।
आज प्रदेश ५ मा १११ जना नयाँ सङ्क्रमित थपिएका छन्। ती मध्ये कपिलवस्तु जिल्लाका मात्रै १०६ जना रहेको प्रदेश ५ का स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशङ्कर प्रसाद चौधरीले जनाएको नेपालगञ्जस्थित संवाददाता विमला चौधरीले उल्लेख गरेकी छन्।
बिहीवार १५६ जना र बुधवार ११४ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २१९ छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि १ लाख १० हजार ७८ जना व्यक्ति क्वारन्टीन र १,१७६ जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
परीक्षण
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६६ हजार ७ सय २९ नमुना परीक्षण भइसकेको छ।
गएको २४ घण्टामा मात्र २ हजार ५ सय ७५ नमुनाको पीसीआर परीक्षण भएको छ।
हाल देशभर १ लाख १० हजार ७८ जना क्वारन्टीनमा रहेका छन्।
अहिले नेपालमा १ हजार १ सय ७६ जना आइसोलेशनमा रहेका छन् भने हालसम्म २ सय १९ जना निको भएर घर फर्केका छन्।
त्यसमध्ये १ सय ७२ जना पुरुष र ४७ जना महिला रहेका छन्।
हालसम्म देशका ५३ जिल्लामा सङ्क्रमण फैलिइसकेको छ।
प्रदेश नम्बर २ र ५ सबभन्दा प्रभावित
प्रदेश नम्वर २ मा शनिवार मात्रै ५७ ब्यक्तिहरुमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयले वीरगञ्जस्थित हाम्री संवाददाता माधुरी महतोलाई जनाए अनुसार ती मध्ये सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोतरी ४ जना, सर्लाहीमा १७ जना, रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जना रहेका छन्।
त्यस्तै कर्णाली प्रदेशमा भारतबाट आएर क्वारन्टीनमा बसेका दैलेखका १४ जना व्यक्तिमा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको जुम्लास्थित हाम्री संवाददाता कृष्णमाया उपाध्यायले जनाएकी छन् ।
दैलेखको क्वारन्टीनमा मृत्यु भएका युवामा कोरोना पोजेटिभ
दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारन्टीनमा मृत्यु भएका युवाको कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
कर्णाली प्रदेशमा कोरोना भाइरसका कारण भएको यो मृत्यु पहिलो भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
दुल्लु नगरपालिका-११ का ३५ बर्षीय उनको दुल्लु नगरपालिका-७ मा रहेको क्वारन्टीनमा मृत्यु भएको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए। उनका अनुसार शनिवार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको थियो। भारतबाट फर्किएका उनी क्वारन्टीनमा बसेको १० दिन भएको थियो।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।
संखुवासभामा पहिलो पटक सङ्क्रमण पुष्टि
विराटनगरबाट हाम्रा संवाददाता विक्रम निरौलाले जनाए अनुसार प्रदेश १ को पहाडी जिल्ला संखुवासभामा पहिलो पटक कोरोना सङ्क्रक्रमित भेटिएका छन्।
विराटनगरको कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा दुइ जना पुरुषमा कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलालयले जनाएको छ।
संखुवासभामा भेटिएका कोरोनाभाइरस सङ्क्रमित गत जेठ १३ गते भारतको सुनौली नाका हुदै आएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटीले बताए।
उनीहरूलाइ तुम्लिङटारस्थित क्वारन्टीनमा राखिएको थियो ।
संखुवासभामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश १ का १४ जिल्ला मध्ये ९ जिल्लामा सङ्क्रमण देखिएको छ।
सङ्क्रमितहरूको विराटनगरको कोशी अस्पताल र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा