कोरोना भाइरस नेपाल: थप एक जनाको मृत्यु र १५६ जनामा सङ्क्रमण भएको पुष्टि, कुल सङ्ख्या १००० नाघ्यो

तस्बिर स्रोत, Getty Images
नेपालमा १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,०४२ पुगेको बताए।
यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो। सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।
बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या अब पाँच पुगेको छ।
को हुन् मृतक?
कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएका पाँचौँ व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।
डा. देवकोटाका अनुसार उनी जेठ ११ गते ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएका थिए। कलेजोसम्बन्धी रोगबाट पीडित उनलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो।
उनको नमुना जेठ १२ गते सङ्कलन गरी परीक्षण गरिएको जानकारी दिँदै डा. देवकोटाले ती व्यक्तिको जेठ १४ गते निधन मृत्यु भएको बताए।

यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बाराका एक-एक जनाको मृत्यु भएको पुष्टि भएको थियो।
नेपालमा पहिलो कोरोनाभाइरस सङ्क्रमित भेटिएको झन्डै चार महिनापछि उक्त भाइरससँग सम्बन्धित पहिलो मृत्यु भएको सरकारले पुष्टि गरेको थियो। ती मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला हुन्।
अरू तथ्याङ्क के छ?
अहिलेसम्म निको हुनेको सङ्ख्या १८७ छ।
वीरगन्जस्थित नारायणी अस्पतालबाट चार जना बिदा भएपछि भाइरसमुक्त हुनेको सङ्ख्या बढेको हो।
डा. देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति फेला परेको जिल्लाको सङ्ख्या ५१ पुगेको छ।
अहिलेसम्म प्रदेश नं १ र २ का आठ-आठ, वाग्मती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश नं ५ का नौ, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लामा सङ्क्रमित फेला परेका छन्।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ८६,०५७ व्यक्ति क्वारन्टीन र ८५० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।
अहिलेसम्म पीसीआर विधिबाट कुल ६०,६९६ वटा परीक्षण गरिएको छ।
अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।
प्रदेश नं २ का जिल्लामा फेला परेका सङ्क्रमितहरू अधिकांश भारतबाट फर्किएर क्वारन्टीनमा भएका व्यक्ति भएको बीबीसी संवाददाता माधुरी महतोले बताएकी छन्।
तर सप्तरीमा क्वारन्टीनको सुरक्षाका लागि खटिएका एक प्रहरीमा पनि सङ्क्रमण पुष्टि भएको छ।
अहिले प्रदेश नं २ मा ३१३ सङ्क्रमित छन् भने १०१ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट बिदा भइसकेका छन्। एक सङ्क्रमितको मृत्यु भएको थियो।
प्रदेश नं ५ मा अहिलेसम्म ३६९ जनामा कोभिड-१९ पुष्टि भएकोमा ३८ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










