कोरोना भाइरस: गुल्मीका पुरुषको कोभिड-१९ का कारण बुटवलमा मृत्यु

तस्बिर स्रोत, Getty Images
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।
प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ: "उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दु:खी छौँ।"
नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४५७ छ।
जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो।
अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बीबीसीलाई भने, "भेन्टीलेटरमा उपचार गरिएका उनको बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा निधन भएको छ।"
"अब हामी उनको दाहसंस्कारको प्रक्रियामा छौँ।"

सङ्क्रमण
गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नं ६ बस्ने शिक्षक पेशामा संलग्न उनलाई कसरी सङ्क्रमण भयो भन्ने बारेमा अनुमान नै गर्न नसकेको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताए।
"निमोनियाले गर्दा स्वास्थ्य स्थिति कमजोर भएको उनलाई गाउँमा अरुसँग सम्पर्क भएर सङ्क्रमण भएको स्थिति देखिन्न," अध्यक्ष केसीले भने।
उपचारको लागि बुटवल आउनु पहिले स्थानीय क्लीनिक र अर्घाखांचीको एक पोलिक्लीनिकमा उनी पुगेको बताइएको छ।
अध्यक्ष केसीका अनुसार उनीसँग सम्पर्कमा भएका र उनका परिवारका सदस्यहरुको स्वाब सङ्कलन गरिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









