कोरोना भाइरस नेपाल: स्वदेश प्रवेश गर्ने हजारौँ नेपालीको 'स्वास्थ्य जाँच नगरी' पालिका पठाइँदै

पश्चिम नेपालको मुख्य नाका मानिने रुपन्देहीको बेलहियाबाट दैनिक करिब एक हजारको सङ्ख्यामा नेपालीहरू नेपाल प्रवेश गरिरहेको रुपन्देही प्रहरीले जनाएको छ।
"नेपाल प्रवेश गरेकाहरूलाई स्थानीय तहसँग समन्वय गरेर सम्बन्धित पालिकाहरूको क्वारन्टीनमा राख्ने व्यवस्था गरिएको छ," रुपन्देहीका प्रहरी प्रमुख एसपी हेम थापाले बीबीसीका बुटवलस्थित संवाददाता माधव नेपाललाई बताए।
स्थानीय तहले समन्वय नगरेका नागरिकहरू भने समस्यामा परेको पाइएको छ।
भारतबाट नेपाल फर्कनका लागि बेलहिया नाकामा आएका करिब तीन सय नागरिक बेलहियामा नै रोकिएको अवस्था छ। उनीहरू सबैजसो प्रदेश नं १ का हुन्।
स्थानीय तहको समन्वय
सिमावर्ती जिल्लाहरूमा व्यवस्था गरिएका क्वारन्टीन सबै भरिएको हुँदा जहाँका नागरिक हुन् त्यहीँको स्थानीय तहले समन्वय गरेको अवस्थामा पठाउन सजिलो हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका एक अधिकारीले बताए।
त्यस्तै कपिलवस्तु जिल्लाका विभिन्न नाकाहरूबाट पनि दैनिक करिब पाँच सयजना मानिसहरू नेपाल आइरहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए।
पछिल्लो पटक नेपालबाट भारत जाने भारतीय नागरिकको सङ्ख्या पनि बढिरहेको छ।
यसैबीच बाँकेको जमुनाहा नाकाबाट पछिल्लो पाँच दिनमा १२ हजार नेपाली नागरिक भारतबाट नेपाल प्रवेश गरेको सुरक्षा अधिकारीले बताएका छन्।
नेपालगञ्जस्थित बीबीसी संवाददाता बिमला चौधरीलाई भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा पाँच दिनमा १२ हजार नेपालीलाई नेपाल प्रवेश गराईएको बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक वीरबहादुर वलीले जानकारी दिए।
"गत बुधवार बेलुकादेखि आईतवारसम्म पाँच दिनको अन्तरालमै १२ हजार नेपाली प्रवेश गरेका छन्। ८,६०० भारतीय नागरिक सीमा पार गरेर गएका छन्", उनले भने।
सोमवार पनि उताबाट यता आउने र यताबाट उता जाने क्रम जारी रह्यो।
आईतवार मात्रै ४,१०१ नेपाली भारतबाट नेपाल प्रवेश गरेको बाँकेका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक शिवबहादुर सिंहले जनाकारी दिए।
जमुनाहा नाका खुला
सोमवार पनि बिहानैदेखि नेपालीहरू आउने क्रम जारी रहेकाले साँझसम्म जमुनाहा नाका खुला रहने उनले बताए।
भारतबाट प्रवेश गरेकालाई ठेगाना पहिचान गरी सम्बन्धित जिल्लामा पठाउने गरिएको र बाँकेका नागरिकलाई भने सम्बन्धित पालिका प्रमुखलाई सम्पर्क गरी जिम्मा लगाउँदै आएको प्रहरी प्रवक्ता सिंहको भनाई छ।
यस अघि बुधवार बेलुकादेखि बिहिवार बिहान ४ बजेसम्म नाका खोलेर करिब छ हजारको सङ्ख्यामा अलपत्र परेका दुवै देशका नागरिक वार पार गराईएको अधिकारीहरूले बताएका छन्।
भारतको नानपारा र बहराईचमा अत्यधिक सङ्ख्यामा नेपालीहरू रोकिएको जानकारी पाएपछि शनिवार बेलुकादेखि पुनः नाका खोलेर सीमा वारपार गराईरहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।
नेपाल भारत सीमा सुरक्षा अधिकारीबीच समन्वय गरेर सीमा वारपार गराउने नीति अनुसार प्रवेश गराईरहेको जानकारी दिँदै प्याकुरेलले दुई दिनको अवधिमा भारतबाट आउने नेपालीको सङ्ख्या अत्यधिक बढेको बताए।
जमुनाहा नाकाभएर आउनेमा प्रदेश ५ का विभिन्न जिल्लाका रहेको र सबैभन्दा बढी कर्णली प्रदेशका रहेको प्याकुरेलको भनाई छ।

"पछिल्लो चरणमा नेपाल आउनेहरूको सामान्य स्वाथ्य जाँचविना सम्बन्धित जिल्ला प्रशासन प्रमुखसँग समन्वय गरेर पठाउँदै आएका छौँ," प्याकुरेलले भने।
कर्णाली प्रदेश जानेहरूलाई सुर्खेतको छिन्चुमै स्वाथ्य परिक्षण गरिरहेको उनले बताए।
यस्तै भारतबाट आउने नेपालीहरूको यातायात व्यवस्थामा हम्मे हम्मे परेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज माधव रिजालले बताए।
भारतबाट नेपालीलाई पैदल प्रवेश गराएर ब्यवस्थापन गर्न समस्या भएकोले आईतवारदेखि रुपेडीयाको बसपार्क सम्म गाडीहरू लिन गएको उनले जानकारी दिए।
दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा रुपैडिहाको बसपार्कबाटै जिल्ला पहिचान गरेर नेपालबाट गएको बस मार्फत सिधै सम्बन्धित जिल्लामा पठाईरहेको उनले बताए।
उनले भने, "एक दिनमा ५५ वटा बसले ओसार्दा पनि पुगेको छैन।"
दैनिक चार हजार बढी नेपाली आईरहेका छन् भने यताबाट भारत जानेहरूको सङ्ख्या घटेर दैनिक दुईदेखि ३०० को हाराहारीमा छ।
किट
सुदूरपश्चिममा पनि भारतबाट हजारौँको सङ्ख्यामा भित्रिइरहेको धनगढीस्थित हाम्रा संवाददाता उमिद बागचन्दले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीको तथ्याङ्क अनुसार गए राति मात्र १ सय २ वटा बसमा भारतबाट आएकाहरूलाई सम्बन्धित पालिकामा पठाईएको छ।
त्यसरी पठाईएकाहरू अहिलेसम्म करिव १५ हजार रहेको उनीहरूको व्यवस्थापनमा खटिएका प्रशासकीय अधिकृत शिवराज जोशीले जनाएका छन्।

उनले कोरोना परीक्षणका किट उपलब्ध नभएका कारण सम्बन्धित पालिकाको क्वारन्टीनमा किट आईपुगेपछि परीक्षण गर्ने गरी पठाईएको बताए।
सुदुरपश्चिम जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार १४ दिन क्वारन्टीनमा बसेपछि कोरोनाभाइरस परीक्षण गर्नुपर्ने भएकाले त्यसबेला नै सम्बन्धित पालिकामा परीक्षण गरिने छ ।
हरेक दिन २ हजार देखि ५ हजारको सङ्ख्यामा सुदुरपश्चिमेलीहरू भित्रिइरहँदा उनीहरुको व्यवस्थापन र समयमै कोरोना परीक्षण किट उपलब्ध हुन नसक्नुलाई सरकार र सरकारमा रहेका जनप्रतिनिधिहरुको कमजोरी भन्दै आलोचना हुन थालेको छ।








