कोरोना भाइरस: बाँकेको क्वारन्टीनमा कोभिड-१९ का कारण युवाको मृत्यु भएको पुष्टि, सङ्क्रमित सङ्ख्या ३०४

बाँकेको नरैनापुरस्थित क्वारन्टीन
तस्बिरको क्याप्शन, बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा ३९ जना रहेका छन्
    • Author, विमला चौधरी
    • Role, बीबीसी न्यूज नेपाली, नेपालगञ्ज

आइतवार नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बाँकेको नरैनापुरस्थित क्वारन्टीनमा आइतवार बिहान मृत्यु भएको २५ वर्षीय पुरुष कोरोनाभाइरस सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन्।

नरैनापुरस्थित दिपेन्द्र प्राथमिक विद्यालयमा रहेको क्वारन्टीनमा रहेका ती युवा बैशाख ३० गते भारतको मुम्बईबाट आएको बताइएको छ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख मोइन खानले उनलाई शनिवार राति वान्ता हुनुका साथै एक्कासी ज्वरो देखिएको र बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको बताए ।

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो।

जिल्ला स्वाथ्य कार्यालय बाँकेको टोलीले ती युवा सहित नरैनापुरबाट शनिवार २६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन्।

तीमध्ये ३९ जना मृतक युवा बसेको क्वारन्टीनका हुन्।

नयाँ सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बेलुकी थप तीन जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यससँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या २९५ पुगेको छ।

नयाँ सङ्क्रमितहरू धनकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन्।

मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ सङ्क्रमितहरूको पुष्टि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको हो।

कोरोनाभाइरस

भेरी अस्पताल नेपालगञ्जमा पीसीआर विधिबाट परीक्षण गर्दा ती युवाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएपछि मन्त्रालयले पुष्टि गरेको हो।

दुई दिनअघि उक्त क्वारन्टीनमा रहेका छ जना सहित नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।

नरैनापुरमा आठ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उनको सम्पर्कमा रहेका ३०० भन्दा बढीको स्वाब सङ्कलन गर्ने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

आइतवार पनि स्वाब सङ्कलनकालागि स्वाथ्यकर्मीको टोली नरैनापुरमा रहेको श्रेष्ठले बताए।

नरैनापुरमा भारतबाट आएका सबैलाई क्वारन्टीनमा राखिएको बताइएको छ र बिहान युवकको मृत्युपछि सो क्वारन्टीनलाई सुरक्षामा राखी आवतजावत बन्द गरिएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण