कोरोना भाइरस: आइतवार 'थपिएका दशैजना सङ्क्रमित भारतबाट आएका'

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

नेपालमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित सबै १० जना भारतबाट आएको स्थानीय जनप्रतिनिधिहरूले जनाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको छ।

यससँगै नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या २९१ पुगेको छ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित राजपुर नगरपालिका वडा नम्बर नौका सातजना र ईशनाथ नगरपालिकाका तीनजना छन्।

सङ्क्रमित भएको पुष्टि भएपछि राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिल अख्तरको तनाव थपिएको छ।

'भनेको मान्दैनन् के गर्ने?'

अख्तरका अनुसार आफ्नो नगरका सातैजना भारतबाट हालै नेपाल आएका हुन्।

'जहाँ छौँ त्यही बस' भन्दा नमानेर धमाधम भारतबाट नेपाल आइरहेको उनको भनाइ छ।

पहिलो पटक उक्त नगरपालिकामा सङ्क्रमण भेटिएको हो।

कोरोनाभाइरस ब्यानर

नगरप्रमुख अख्तरले भने, "हाम्रो नगरपालिकामा कहाँ कोरोनाभाइरसको सङ्क्रमण थियो र, सबै भारतबाट आएका हुन्।"

"जहाँ छौँ त्यही बस भनेको मान्दैनन्। दिल्ली र मुम्बईबाट मेयरले केही गरेन, सीडीओले केही गरेन भनेर सामाजिक सञ्जालमा गाली गर्छन्। के गर्नु?"

प्रमुख जिल्ला अधिकारीले ती गाउँ 'सील' गर्न सुरक्षाकर्मी खटाएको जानकारी आफूलाई गराएको उनले सुनाए।

'भोट दिएका छन्, हाम्रो बाध्यता छ'

"भनेको मानिदिएको भए कति राम्रो हुन्थ्यो। अब गाउँघरमा कति समस्या हुनेभयो," उनले बाध्यता सुनाए।

"अहिले फेरि सिमानामा बसेका २१ जनालाई लिन गाडी पठाएको छु, अभिभावक घरमा आएर कराउँछन्।"

"भोट दिएका छन्, हाम्रो त मजबुरी छ। कुरै बु्झ्दैनन। के गरौँ?"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

उनलाई भारतको दिल्लीबाट अन्य ५२ जना हिंडिसकेको सूचना आएको छ।

भारतबाट आएका सङ्क्रमितहरू सहित करिब १५० देखि २०० जनालाई क्वारन्टीनमा राखिएको उनले बताए।

उनका अनुसार प्रमुख जिल्ला अधिकारीसँग कुरा गरेर सिमानामा गाडी पठाएर आफ्ना गाउँका बासिन्दालाई ल्याउने गरेका छन्।

'धमाधम आउँदैछन्'

रौतहटको ईशनाथ नगरपालिकामा भारतबाट आएकाहरूमा यसअघि पनि सङ्क्रमण पुष्टि भएको थियो।

नगर प्रमुख सन्तोष कुमार मेहताले पछिल्लो पटक सङ्क्रमित देखिएकाहरू तीनैजना दिल्लीबाट आएका बताए।

उनले भने, "अहिले २०० जना जति क्वारन्टीनमा छन्। अरु पनि आइरहेका छन्।"

नमेहताले करिब १,२०० लाई राख्न सकिने गरी क्वारन्टीनको व्यवस्था गरिएको जानकारी दिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?