कोरोनाभाइरस नेपाल: थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुग्यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण

नेपालमा थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाराका ७० वर्षीय पुरुषको गत जेठ ४ गते उपचारका क्रममा मृत्यु भएको थियो।

पछि उनीबाट सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उनले बताए।

ती व्यक्ति क्षयरोग र श्वासप्रश्वासको समस्याबाट पीडित भएको जानकारी पनि डा. देवकोटाले दिए।

कोरोनाभाइरस

उनको अन्तिम संस्कार भइसकेको छ।

यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँके तथा र गुल्मीका एक-एक जनाको पनि मृत्यु पनि कोभिड-१९ सँग सम्बन्धित भएको जनाइएको थियो।

थपिए सङ्क्रमित

साथै मन्त्रालयले थप छ जनामा कोभिड-१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। यसअघि बिहान मन्त्रालयले ७२ जनामा कोभिड-१९ पुष्टि गरेको थियो।

सोमवार कोभिड-१९ पुष्टि भएका मृतकसहित अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ।

अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।

डा. देवकोटाका अनुसार विगत २४ घण्टामा २,९०४ वटा परीक्षण पीसीआर विधिबाट गरिएको थियो। सोमवार अपराह्णसम्म कुल ५१,६४२ वटा परीक्षण भएका छन्।

कोरोना

तस्बिर स्रोत, RSS

अहिलेसम्मको तथ्याङ्कमा ४६,०२९ जना देशका विभिन्न स्थानमा क्वारन्टीनमा छन्। तीमध्ये सर्वाधिक प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा छन्।

जिल्लागत विवरण हेर्दा बाँकेमा सर्वाधिक १४६ सङ्क्रमित फेला परेकोमा अहिलेसम्म २१ जना निको भएका छन्।

पर्सामा कोभिड-१९ पुष्टि भएका ९५ मध्ये २५ जना र कपिलवस्तुका ८३ मध्ये एक जना भाइरसमुक्त भएका छन्।

को हुन् नयाँ सङ्क्रमित?

मन्त्रालयले अपराह्ण पुष्टि गरेका छ सङ्क्रमितमध्ये एक जना अछामका ३२ वर्षीय पुरुष हुन्।

अब सबै प्रदेशका ७७ मध्ये ४३ जिल्लामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

बर्दियामा थप तीन पुरुषमा पनि कोभिड-१९ पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना सङ्क्रमण पुष्टि भएको छ।

उनीहरूमध्ये एक जना बाराको १८ वर्षीय किशोर र एक जना काठमाण्डू घर भई कलैया बारामा कार्यरत व्यक्ति भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बिहान पुष्टि भएका सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन्।

रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन-तीन जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

काठमाण्डूमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन्।

त्यसैगरी बारा र सप्तरीमा दुई-दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ।

उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस नेपाल: लकडाउनको दुई महिना बिताएपछि सर्वसाधरण भन्छन्, ‘अव के खाने, कहाँ जाने’
कोरोनाभाइरस ब्यानर