कोरोना भाइरस नेपाल: काठमाण्डूसहित विभिन्न जिल्लाका थप ७२ जनामा कोभिड-१९ पुष्टि, कुल सङ्ख्या ६७५ पुग्यो

सुदूरपश्चिममा कोरोनाभाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको नमुना प्रदर्शन गर्दै नेपाली सेना

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुदूरपश्चिममा कोरोनाभाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको नमुना प्रदर्शन गर्दै नेपाली सेना

नेपालमा थप ७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। यो वृद्धिसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६७५ जना पुगेको छ।

सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक वक्तव्य जारी गर्दै थप सङ्क्रमणको पुष्टि गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सोमवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

उनीहरूबाट सङ्कलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेतमा परीक्षण गरिएको थियो।

प्रदेश नं २ का जिल्लामा कुल ५४ जनामा कोभिड-१९ देखिएको हो।

नेपालमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।

नेपाल

कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले सङ्ख्या बढेको उल्लेख गरिरहेका छन्।

कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको सङ्ख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन्। सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन्।

लकडाउनका कारण भारतमा अड्किएका नेपालीहरू ठूलो सङ्ख्यामा देश भित्रिएसँगै क्वारन्टीनहरूमा बस्नेको सङ्ख्या दिनदिनै बढ्दै गएको छ।

को हुन् सङ्क्रमित?

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये दैलेखमा फेला परेका सात जनामध्ये एक महिलाबाहेक अरू सबै पुरुष हुन्।

रौतहटका २६, बाराका २१, बाँकेका चार तथा धनुषा, कपिलवस्तु र काठमाण्डूका तीन-तीन जनामा पनि कोभिड-१९ पुष्टि भएको छ।

काठमाण्डूमा फेला परेका सङ्क्रमित टोखा र बूढानीलकण्ठ नगरपालिकाका हुन्।

त्यसैगरी बारा र सप्तरीमा दुई-दुई जना तथा बर्दियामा एक जनामा पनि सङ्क्रमण देखिएको छ।

उनीहरू १६ देखि ५३ वर्ष उमेरका भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।

आइतवार अपराह्णसम्म देशभरि ३९,८०४ जना क्वारन्टीनमा थिए। अहिलेसम्म तीन जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर