कोरोना भाइरस सङ्क्रमणः विश्वभरि कोभिड-१९ पुष्टि भएको सङ्ख्या ५० लाख नाघ्यो

संसारभरि कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको सङ्ख्या ५० लाख पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।

कोरोनाभाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३,२८,००० भन्दा बढी छ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले बुधवार संसारभरि १,०६,००० जनामा सङ्क्रमण पुष्टि भएको बताएको थियो।

यो एकै दिन पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

अहिलेसम्म अमेरिका, रुस, ब्रजिल र यूकेमा सर्वाधिक सङ्क्रमित छन्।

एशियामा भारत सबैभन्दा बढी प्रभावित देखिएको छ।

चिन्ता

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले कम र मध्यम आय भएका देशहरूमा सङ्क्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो दश लाख सङ्क्रमण दुई हप्ताभन्दा कम समयमा भएको तथ्याङ्कले देखाउँछ।

विज्ञहरूले सङ्क्रमितको कुल सङ्ख्या परीक्षणको अभावमा कम देखिएको हुन सक्ने बताउँदै आएका छन्।

बुधवार डा. टेड्रोसले भने, "विगत २४ घण्टामा १,०६,००० वटा सङ्क्रमण पुष्टि भएका छन् जुन एकै दिनमा देखिएको सर्वाधिक सङ्ख्या हो।"

"यीमध्ये झन्डै दुईतिहाइ सङ्क्रमण चारवटा देशमा छन्।"

उनले यो महामारी अझै लामो समय चल्न सक्ने पनि बताए।