तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: सम्भावित सङ्क्रमित पत्ता लगाउन 'कन्ट्याक्ट ट्रेसिङ'मा के छ प्रगति
धेरै सङ्क्रमित देखिएका नेपालगन्ज, वीरगन्ज र उदयपुरको भुल्केसहितका स्थानमा सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
नेपालगन्जमा स्वास्थ्यकर्मीले सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ र स्वाब सङ्कलन तथा परीक्षण एकैसाथ गरिरहेको बताएका छन्।
नयाँ सङ्क्रमित पत्ता लाग्दै गएकाले उनीहरूको सम्पर्कमा पुगेकाहरूको खोजी गर्दै स्वाब लिने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
पछिल्लो पटक लिइएको १३० जनाको स्वाब परीक्षण गर्दा नेपालगन्जको वडा नं ८ जोलहनपुरवामा थप एक जनामा सङ्क्रमण देखियो।
सङ्कलन
वैशाख १९ गते नेपालगन्ज-७ का ६० वर्षीय एक पुरुषमा कोरोनाभाइरस पुष्टि भएपछि उनीको सम्पर्कमा रहेका ९४ जनाको परीक्षण गर्दा थप २२ जनामा सङ्क्रमण पुष्टि भयो।
बाइस जनाको सम्पर्कमा रहेका अन्य व्यक्तिको खोजी गर्दै नमुना सङ्कलन गरी अहिले परीक्षण भइरहेको रहेकको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
बाँकेमा कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलनमा १७ जना तालिमप्राप्त स्वाथ्यकर्मी खटिएका छन्।
तीमध्ये चारजना चौबीसै घण्टा सङ्क्रमितको यात्रा विवरण बुझेर फारम भर्ने र स्वाब सङ्कलन कार्यमा खटिरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोनाभाइरस फोकल पर्सन नरेश श्रेष्ठले बताए।
उनका अनुसार यसरी दुई हप्तासम्म काम गरेकाहरू दुई हप्ता क्वारन्टीनमा बसेर पुनः स्वाब सङ्कलनमा खटिने गरेका छन्।
सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा आएकाहरूको पहिचान गरी उनीहरूको व्यक्तिगत विवरण समेटेर एक दिनअघि नै फारम भरेर राख्ने गरिएको स्वाथ्यकर्मीहरूले बताएका छन्।
यसरी फारम भर्दा लक्षण देखिएका र नदेखिएका छुट्ट्याएर राख्ने गरिएको छ।
स्वाब सङ्कलनका लागि तोकिएका स्थानको सुरक्षा, सङ्कलन व्यवस्थित गर्न आवश्यक व्यवस्था र त्यस समयमा प्रयोग भएका पीपीई नष्ट गर्नका लागि समेत व्यवस्था मिलाइएको फोकल पर्सन श्रेष्ठ बताउँछन्।
सङ्घबाट पठाइएका कोरोनाभाइरस विशेष स्वास्थ्य सामग्रीहरू प्राप्त गर्न तोकिएका स्थानमा आवश्यक सवारीसाधनको व्यवस्था मिलाई सामान बुझ्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।
परीक्षण
सङ्कलन गरिएका थ्रोट स्वाब एकैसाथ परीक्षण गर्नका लागि छुट्टै बाकस र छुट्टाछुट्टै परीक्षणका लागि छुट्टै बाकसमा सील गरी सोहीबमोजिम प्रष्ट रूपमा लेबलिङ गरेर सुरक्षित ढङ्गले पीसीआर ल्याबसम्म पुर्याउँदै आएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले बताए।
प्रदेश नं १ मा कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दुजस्तै देखिएको उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के र त्यसको आसपासका मानिसहरूको स्वाब परीक्षण अन्तिम चरणमा पुगेको अधिकारीहरूले बताएका छन्।
भुल्केमा भेटिएका सङ्क्रमितहरुको सम्पर्कमा रहेका र अन्य शङ्कास्पद व्यक्तिहरूको सङ्ख्या, सम्पर्क र गन्तव्य पहिचान गरी अन्तिम परीक्षणका लागि स्वाब सङ्कलन भइरहेको जनाइएको छ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले सङ्क्रमितहरूको सम्पर्कमा रहेका र अन्य शङ्कास्पद एक हजारभन्दा बढीलाई परीक्षणको दायरामा ल्याइएको बताए।
"हामीले सङ्क्रमण हुन सक्ने जोखिम क्षेत्र र मानिसको खोजी गरी आवश्यकता अनुसार सबैको परीक्षण गरेका छौँ, छुटेका केहीको परीक्षण हुने क्रममा छ," उनले बीबीसीसँग भने।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
भुल्केस्थित एउटा मस्जिदमा बसेका १२ जनामा पहिलो पटक वैशाख ५ गते सङ्क्रमण भएको पाइएको थियो।
तत्पश्चात् वरपरका बस्तीमा गरिएको परीक्षणपछि थप १६ जनामा कोरोनाभाइरस देखियो। तीमध्ये १४ जना उपचारपछि बिदा भइसकेका छन्।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने, "मस्जिदवरपरका बस्तीका कोही पनि नछुटून् भनेर ४०० भन्दा बढीको स्वाब परीक्षणको तयारी छ, केही दिनमै स्वाब सङ्कलनको काम गरिसक्ने तयारी छ।"
सुरुमा मस्जिदमा बसेका जमातीबाट सङ्क्रमण फैलिएको भनिए पनि पछि सङ्क्रमणको कारण विदेशबाट आएका तीन व्यक्ति भएको निष्कर्ष विज्ञ टोलीले निकालेको थियो।
एकै परिवारका १७ जना कोरोनाभाइरस सङ्क्रमित भेटिएको वीरगन्जमा कन्ट्याक्ट ट्रेसिङको कार्यलाई तीव्रता दिइएको अधिकारीहरूले बताएका छन्।
कडाइ
गत बुधवार वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैयाका एकै परिवारका १७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि उनीहरू बसोबास गरिरहेको क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ तीव्र पारिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले बताए।
उनका अनुसार सङ्क्रमित भेटिएको छपकैया क्षेत्रलाई सील गरी सङ्क्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङ भइरहेको छ।
छपकैयाका १७ जना सङ्क्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा शुक्रवारसम्म करीब ३०० जनाको स्वाब सङ्कलन गरिएको उपाध्यायले बताए।
यसबाहेक सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वाथ्यकर्मीहरूको पनि स्वाब सङ्कलन गरी परीक्षण गरिएको उनी बताउँछन्।
वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीका अनुसार सङ्क्रमितहरू भेटिएका वडा, आशङ्का गरिएको वडा तथा छिमेकी वडाका गरी झन्डै ५,००० व्यक्तिको परीक्षण गरिनेछ।
एकै परिवारका १७ जना सङ्क्रमित भएको पाइएपछि समुदायमै फैलिएको हो कि भन्ने आशङ्कामा क्रमशः एउटा परिवारको एक जनाको अनिवार्य पीसीआर परीक्षण गर्न थालिएको सरावगीले बताए।
प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ र अझ बढ्न सक्ने भन्दै सङ्क्रमित भेटिएका वडाहरू सील गरिएको छ भने वीरगञ्जका विभिन्न स्थानमा आवतजावतमा कडाइ गरिएको छ।