तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरसः युरोपेली सङ्घमा आबद्ध देशमध्ये इटलीमा सबैभन्दा धेरै मृत्यु
युरोपेली सङ्घमा आबद्ध मुलुकहरूमध्ये कोरोनाभाइरसबाट ३० हजारभन्दा बढी मृत्यु हुने पहिलो देश इटली बनेको छ।
शुक्रवार थप २४३ जना व्यक्तिको ज्यान गएको छ जुन अघिल्लो दिनको भन्दा ३२ जनाले कम हो।
पछिल्लो मृत्युसँगै त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या ३०,२०१ पुगेको छ।
केही दिनअघि इटलीलाई उछिन्दै युरोपमा सबैभन्दा बढी मृत्यु हुने देश यूके बनेको थियो।
'टाइम बम'
इटलीमा दैनिक देखिने नयाँ सङ्क्रमितको सङ्ख्या थोरैले कम भएर शुक्रवार १,३२७ जनामा सङ्क्रमण देखियो।
योसँगै त्यहाँ हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २,१७,१८५ पुगेको छ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरूलाई खुकुलो पार्न शुरू गरिएको छ।
तर स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिकित्सकहरूले मिलान शहरलाई "टाइम बम"को सङ्ज्ञा दिएका छन्।
आधिकारिक मृतक सङ्ख्याका आधारमा इटलीमा कोरोनाभाइरसबाट विश्वकै तेस्रो बढी मृत्यु भएको छ।
पहिलो स्थानमा संयुक्त राज्य अमेरिका छ भने दोस्रो स्थानमा यूके छ जुन हाल युरोपेली सङ्घमा आबद्ध छैन।
बुधवार ब्रिटेनमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ३० हजार नाघेको थियो।
युरोपका नराम्ररी प्रभावित देशहरूमध्ये स्पेन तेस्रो स्थानमा छ जहाँ कोरोनाभाइरसबाट २६ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
कडाइ
फेब्रुअरीमा देशका उत्तरी क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरू देखिन थालेपछि लकडाउन लागु गर्ने इटली युरोपको पहिलो मुलुक बनेको थियो।
लकडाउनका केही उपायहरू हटाइएका छन्। यो साता सामाजिक दूरी कायम राख्दै र मास्क लगाउँदै पहिलो पटक कैयौँ हप्तापछि त्यहाँका नागरिकले शारीरिक व्यायाम गर्न पाए।
उनीहरूले आफन्तलाई भेट्न पाए। त्यसमा साथी चाहिँ परेनन्। क्याथोलिक गिर्जाघरहरूले पनि मे १८ तारखिमा सामूहिक प्रार्थना शुरू गर्ने तयारी गरिरहेका छन्।
तर सामाजिक दूरीसम्बन्धी कडा नियमहरू पालना गर्नुपर्ने हुन्छ र मास्क लगाउनैपर्छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
यद्यपि विद्यालय सिनेमाघर र अधिकांश पसलहरू बन्द रहनेछन् र सार्वजनिक रूपमा भेला हुने खालका सबै कार्यक्रममा प्रतिबन्ध कायमै छ।
केही प्रतिबन्धहरू कायम रहे पनि मानिसहरूले सामाजिक दूरीलाई बेवास्ता गरेको र मास्क नलगाएका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन्।
मिलानस्थित एउटा अस्पतालको सङ्क्रामक रोग विभागका प्रमुख लकडाउन खुकुलो बनाइँदा त्यसले "समस्या निम्त्याउन सक्ने" बताउँछन्।
उनले भने, "हामीकहाँ ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू आइरहेका छन्।"
कोरोनाभाइरस मामिला हेर्ने आयुक्तले सङ्क्रमण फेरि ठूलो सङ्ख्यामा देखिन थाले लकडाउनका उपायहरूमा कडाइ गरिने बताएका छन्।