कोरोना भाइरस लकडाउन: नियम पालना नगरेपछि ब्रिटेन सरकारका सल्लाहकारले दिए राजीनामा

प्राध्यापक नील फर्गुसनले आफूबाट त्रुटिपूर्ण निर्णय भएको भन्दै ब्रिटिश सरकारको सल्लाहकार पदबाट राजीनामा दिएका छन्।

उनी कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सरकारका सल्लाहकार थिए। उनकै सल्लाहमा ब्रिटेनको सरकारले लकडाउनको घोषणा गरेको थियो।

उनले व्यक्तिगत दूरी कायम गर्नुपर्ने नियम आफूले पालना नगरेकोमा दु:ख व्यक्त गरेका छन्। डेली टेलिग्राफले उनीसँग सम्बन्ध भएकी एक महिलाले लकडाउनको बेला फर्गुसनको घरमा गएको समाचार प्रकाशित गरेको थियो।

यूकेमा कोरोनाभाइरस रोकथामका लागि सशक्त कदम नचालिए दुई लाख ५० हजार जनाको ज्यान जाने प्राध्यापक फर्गुसनले प्रक्षेपण गरेका थिए।

त्यसकै आधारमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले मार्च २३ मा विभिन्न प्रतिबन्धात्मक उपायहरू घोषणा गरेका थिए।

सरकारले सर्वसाधारणलाई घरबाहिर यथासम्भव नजान भनेको थियो। छुट्टाछुट्टै बसेका जोडीलाई पनि आआफ्ना घरमा बस्न भनिएको थियो।

त्रुटि स्वीकार

एउटा विज्ञप्तिमा प्राध्यापक फर्गुसनले भने, "निर्णय गर्दा त्रुटि भएको र अनुचित काम गरेको म स्वीकार्छु। त्यही भएर मैले सेज (सङ्कटकालीन अवस्थाबारे सुझाव दिने वैज्ञानिकहरूको सल्लाहकार समूह) बाट राजीनामा दिएको छु।"

"परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको तथा लक्षणहरू देखा परेको झन्डै दुई हप्ता म पूरै एकान्तवासमा बसेपछि आफू सुरक्षित छु भन्ने विश्वासमा मैले काम गरेँ।"

"निरन्तर सामाजिक दूरी कायम राख्नुपर्ने सन्देश पालना नगरेकोमा मलाई साह्रै पछुतो लागेको छ।"

उनले दूरीबारे सरकारले दिएका सुझाव 'सन्देहमुक्त' रहेको भन्दै त्यो सबैको सुरक्षाका लागि भएको उल्लेख गरे।

प्राध्यापक फर्गुसनबाट यस्तो प्रतिक्रिया आए पनि अझै पनि कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएका व्यक्तिहरू भाइरसबाट सुरक्षित हुने वा फेरि सङ्क्रमित हुन्छन् कि हुँदैनन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

बीबीसीका स्वास्थ्य संवाददाता फेर्गस वाल्शका अनुसार नील फर्गुसनलाई (सङ्क्रमणविरुद्धको) प्रतिरक्षाबारे विज्ञान अझै पनि विकासकै चरणमा रहेको थाहा हुनेछ र सरकारले सङ्क्रमण देखिएका व्यक्तिलाई सामान्य अवस्थामा जस्तो व्यवहार नगर्न सुझाव दिएको छैन।

'लकडाउन प्राध्यापक'

बीबीसी संवाददाताले प्राध्यापक फर्गुसनको राजीनामा महत्त्वपूर्ण विषय भएको भन्दै उनलाई ब्रिटेनका प्रमुख स्वास्थ्य सल्लाहकार र प्रमुख वैज्ञानिक सल्लाहकार पछिका "सबैभन्दा प्रभावशाली वैज्ञानिक" भनेका छन्।

बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहर भन्छन् - प्राध्यापक फर्गुसन रोगको प्रभावको आकलन गर्ने विश्वकै सबैभन्दा प्रभावशाली वैज्ञानिक हुन्।

उनी इम्पीरीअल कलेज लन्डनसँग आबद्ध एमआरसी ग्लोबल इन्फेक्शस डिजीज एनलिसिसका निर्देशक हुन्।

उक्त केन्द्रको गणितीय अध्ययनमा आधारित भविष्यवाणीले सरकार र विश्व स्वास्थ्य सङ्गठनलाई इबोलादेखि अहिलेको कोरोनाभाइरस महामारी नियन्त्रणका लागि सुझाव दिएको थियो।

चिनियाँ अधिकारीहरूले केही दर्जन सङ्क्रमण भएको बताइरहँदा सयौँको सङ्ख्यामा वुहानमा मानिसहरू सङ्क्रमित भएको उक्त केन्द्रको अध्ययनले सङ्केत गरेको थियो।

उनी सार्वजनिक वृत्तमा 'प्रोफेसर लकडाउन' भनेर चिनिँदै आएका थिए।

मध्य मार्चमा उनको नेतृत्वमा भएको अध्ययनले यूकेले तत्काल हस्तक्षेप नगरे महामारीका कारण अढाइ लाख मानिसको मृत्यु हुने चेतावनी दिएको थियो।

त्यसपछि सरकारी नीति र मानिसहरूको जीवनयापनमा आमूल परिवर्तन गरिएको थियो।

यूकेमा अहिलेसम्म झन्डै २९,५०० जनाको ज्यान गइसकेको छ। उक्त सङ्ख्या युरोपकै सबैभन्दा उच्च हो।

यो पनि हेर्नुहोस्