कोरोना भाइरस भारत: सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो, दिल्लीमा मदिरामा ७० प्रतिशतसम्म कर

तस्बिर स्रोत, Getty Images
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या एकै दिनमा ह्वात्तै बढेको छ।
स्वास्थ्य अधिकारीहरूले पछिल्लो २४ घण्टामा झण्डै ४ हजारजना नयाँ सङ्क्रमित र करिब २ सय जनाको ज्यान गएको बताएका छन्।
भारतको पश्चिममा पर्ने दुई धनी राज्य महाराष्ट्र र गुजरातमा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको छ।
६ सातादेखि लकडाउनमा रहेको भारतमा उक्त प्रावधान केही खुकुलो पारिएको बेला सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको विवरणहरू आएका हुन्।
भारतले चरणवद्ध रूपमा लकडाउन खुकुलो पार्दै पसल र व्यापार व्यवसाय खोल्न अनुमति दिएको छ। घर फर्किन चाहने प्रवासी कामदारलाई विशेष रेलको व्यवस्था गरिदिएको छ।
भारतभर अहिलेसम्म ४६ हजार भन्दा बढी मानिस कोभिड-१९ बाट सङ्क्रमित भएका छन् भने १५ सय भन्दा बढीको मृत्यु भइसकेको छ।
रक्सीमा ७० प्रतिशतसम्म कर
यसैबीच, कैयौं भारतीय राज्यहरूले रक्सीमा उल्लेख्य रुपमा कर बढाइरहेका छन्।
मानिसहरूको बढ्दो माग व्यवस्थापन गर्न र राजस्व सङ्कलन बढाउने प्रयास गरिरहेका बेला ती राज्यहरूले रक्सीमा भारी कर वृद्धि गरेका हुन्।
दिल्लीले उसकै शब्दमा "विशेष कोरोना शुल्क" भन्दै मङ्गलबारबाट रक्सीमा ७० प्रतिशत कर लगाएको छ।
आन्द्र प्रदेश र पश्चिम बंगालले पनि करमा भारी वृद्धि गरेको छ।
तर कर धेरै लगाइए पनि दिल्लीका रक्सी पसलहरूमा मानिसहरूको लामो लाइन लागेको छ र त्यहाँ प्रहरीले नियमन गरिरहेको छ।
भारतमा मार्च २४ तारिखदेखि लकडाउन गरिएको छ। र, त्यसयता पहिलोपटक सोमवार केही क्षेत्रमा रक्सी पसलहरू खुलेपछि अस्तव्यस्त दृश्यहरू देखिएको थियो र कतिपय ठाउँमा प्रहरीसँग झडपसम्म भएको थियो।
ग्राहकहरूको भीड थाम्नै नसक्ने भएपछि केही पसलहरू केही घण्टामै बन्द भएका थिए।
सामाजिक दुरी कायम गर्नुपर्ने नियमहरू पालना गराउन पनि निकै सङ्घर्ष गर्नुपरेको थियो।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









