कोरोना भाइरस भारत: भारतमा लकडाउनको अवधि अरू दुई हप्ता थप

तस्बिर स्रोत, Getty Images
भारतमा कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै जारी लकडाउन थप दुई हप्ताको लागि बढाइएको छ।
त्यहाँको गृहमन्त्रालयले त्यसरी देशै भर मानिसहरूको जमघट र ओहोरदोहोरलाई बन्देज लगाउने लकडाउनको अवस्थाको अवधि बढाउने घोषणा गरेको हो।
अब भारतमा आउँदो मे ४ तारिखपछि थप दुई हप्तासम्म लकडाउन जारी रहनेछ।
भारतले कोरोनाभाइरस फैलन नदिन गत मार्च २४ मा देशव्यापी लकडाउन सुरु गरेको थियो।
३५ हजार बढीमा सङ्क्रमण
त्यसबाट पर्ने प्रभावलाई नियन्त्रण गर्ने उद्देश्यले २३ अर्ब अमेरिकी डलर बराबरको एउटा आर्थिक सहायता कार्यक्रम पनि सार्वजनिक गरेको थियो।
एप्रिल २५ मा भारतले कोरोनाभाइरस महामारीका फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्चालन गर्न दिने निर्णय गरेको थियो।
भारतमा हालसम्म ३५ हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको छ।
कोभिड १९ का कारण त्यहाँ ११ सय भन्दा बढीले ज्यान गुमाएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

निको
शुक्रवारसाँझसम्मको तथ्याङ्क अनुसार ९ हजार भन्दा बढी उपचारपछि निको भएका छन्। यसैबीच देशव्यापी लकडाउनका कारण अलपत्र परेका आन्तरिक आप्रवासीहरू सवार पहिलो रेल दक्षिणी राज्य तेलङ्गनाबाट हिँडेको छ।
२४ वटा डब्बा रहेको उक्त रेलमा १२ सय यात्रु रहेका छन् र त्यो कतै नरोकीकन पूर्वी राज्य झारखण्ड पुग्ने भनिएको छ।
अघिल्लो हप्ता भारतले लकडाउनका कारण रोकिएका दशौँ लाख मानिसहरू आआफ्नो घर फर्कन सक्ने घोषणा गरेको थियो।
रेलवेका एकजना प्रवक्ताले उक्त विशेष रेलले तेलङ्गना राज्यको अनुरोधमा श्रमिकहरूलाई यात्रा गराइरहेको बताए।
उक्त रेल शनिवार झारखण्ड पुग्ने बताइएको छ।








