कोरोना भाइरस नेपाल: प्रदेश नं ५ मा पहिलो पटक कोभिड-१९ देखियो, देशभरि सङ्क्रमितको कुल सङ्ख्या ५९

तस्बिर स्रोत, RSS
नेपालको प्रदेश नं ५ मा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्ति फेला परेका छन्।
स्वास्थ्य मन्त्रालयले रूपन्देही र बाँकेमा एक-एक जना सङ्क्रमित भेटिएको शुक्रवार अपराह्ण जनाएको छ।
यससँगै नेपालमा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या ५९ पुगेको छ। तीमध्ये १६ जना निको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रूपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषमा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू दुवैको स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले बताएको छ।
अहिलेसम्म सातमध्ये कर्णालीबाहेक छवटा प्रदेशमा सङ्क्रमित फेला परेका छन्।
वैशाख १९ अपराह्णसम्मको तथ्याङ्क
५९कुल सङ्क्रमित
+२अघिल्लो दिनबाट वृद्धि
१२,५००+वटा परीक्षण (पीसीआर विधिबाट )
२४,९००+ जना देशभरि क्वारन्टीनमा
क्वारन्टीन र परीक्षणको स्थिति के छ?
नेपालमा अहिले २४,९०७ जनाभन्दा बढी मानिस क्वारन्टीनमा छन्।
तीमध्ये सर्वाधिक प्रदेश नं ५ मा १२,१६३ जना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
सबैभन्दा कम वाग्मती प्रदेशमा ७०८ जना छन्।
सबैभन्दा बढी सङ्क्रमित व्यक्ति प्रदेश नं १ मा ३१ जना र प्रदेश नं २ मा आठ जना छन्।
Sorry, your browser cannot display this map
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डू उपत्यकामा पाँच सहित ९४ जनालाई चिकित्सकीय निगरानीमा अलग्गै राखेर उपचार गरिँदैछ।
स्वास्थ्य मन्त्रालयले अहिलेसम्म पीसीआर विधिबाट १२,५०० भन्दा बढी परीक्षण गरिएको जनाएको छ।
त्यसैगरी आरडीटी विधिबाट झन्डै ४७,८०० वटा परीक्षण गरिएको तथ्याङ्कले देखाउँछ।
को हुन् नयाँ सङ्क्रमित?
बाँकेमा सङ्क्रमण पुष्टि भएका व्यक्ति ६० वर्षीय पुरुष हुन्। उनी नेपालगन्जको एकलैनीस्थित एउटा मस्जिदमा बस्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ।
बीबीसी संवाददाता विमला चौधरीका अनुसार मस्जिदमा परीक्षणका लागि बुधबार दिउँसो ११ जनाको नमुना सङ्कलन गरिएको थियो।

तस्बिर स्रोत, RSS
भेरी अस्पतालको प्रयोगशालामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा नौ जनामा कोरोनाभाइरस देखिएन भने एक जनाको परिणाम आउन बाँकी भएको बताइएको छ।
सङ्क्रमित व्यक्तिलाई खजुरास्थित क्यान्सर अस्पतालको आईसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
नेपालगन्जमा सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले यहाँका मस्जिदमा निगरानी बढाएको जनाएको छ।
नेपालगन्जमा सङ्क्रमित भेटिएपछि प्रशासनले चार स्थानलाई सील गरेको छ र त्यहाँ आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमित पाइएका रूपन्देहीका २५ वर्षीय पुरुषको बुटवलमा उपचार भइरहेको छ।
उनी भारतमा रोजगारीपछि हालै स्वदेश फर्किएका व्यक्ति रहेको बताइएको छ।
कोरोनाभाइरस सङ्क्रमित फेला परेपछि स्थानीय प्रशासनले माइकिङ गरेर लकडाउनको पालना गर्न अनुरोध गरेको हाम्रा बुटवलस्थित संवाददाता माधव नेपालले जनाएका छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ












