कोरोना भाइरसः ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन भन्छन्, 'मेरो मृत्यु भएको भए के गर्ने भन्ने योजना बनेको थियो'

जोनसन

तस्बिर स्रोत, Downing Street

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस सङ्क्रमणका आफ्नो मृत्यु भएको भए के गर्ने भन्ने विषयमा "आकस्मिक योजनाहरू" बनाइएको खुलासा गरेका छन्।

कोभिड-१९ बाट गम्भीर बिरामी परेका उनी अहिले रोगबाट तङ्ग्रिएर काममा फर्किसकेका छन्।

'सन' पत्रिकासँगको एउटा अन्तर्वार्तामा उनले आफूलाई भेन्टिलेटरमा राखिने वा नराखिने विषयको सम्भावना ५०-५० प्रतिशत भएको बताएका छन्।

"यो त्यति बेलाको कुरा हो जति बेला...उनीहरू यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सोच्न थालेका थिए," उनले भने।

"यो निकै कठिन क्षण थियो, यसलाई म अस्वीकार गर्दिनँ," उक्त पत्रिकाले उनलाई उद्धृत गरेको छ।

योजनाबारे 'थाहा थियो'

उनका अनुसार आफ्नो मृत्यु भएको अवस्थामा के गर्ने भन्ने विषयमा चिकित्सकहरूले योजना बनाएका आफूले त्यति बेला नै थाहा पाएको बताए।

जोनसनका अनुसार उनलाई जीवित राख्न निकै धेरै अक्सिजन दिइएको थियो।

उनले आफू निको हुनुमा निकै राम्रो स्याहारलाई श्रेय दिए।

"म यसबारे भावुक हुन्छु...तर त्यो असाधारण कुरा थियो।"

गत मार्च २६ मा जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको थाहा भएको थियो। त्यसको १० दिनपछि उनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।

"केही दिनमै मेरो स्वास्थ्यस्थिति त्यो स्तरमा बिग्रिएको कुरा विश्वास गर्न गाह्रो थियो," उनले भने।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

बिरामी भएपछि 'प्रेरणा'

कोरोनाभाइरसको सङ्क्रमण कति गम्भीर रोग हो भन्ने विषलाई व्याख्या गर्दै उनले भने, "मेरो नाक फुटिसकेको छ। औँला, नाडी र करङ पनि भाँच्चिसकेको छ। लगभग सबै कुरा भाँच्चिएको छ। कुनैकुनै अङ्ग त धेरै पटक भाँच्चिएको छ।"

"तर मैले कहिल्यै पनि यति गम्भीर परिस्थिति भोगेको थिइनँ।"

अस्पतालमा बिताएको समयले आफूलाई अरू मानिसहरू यो रोगबाट पीडित नहोऊन् र यूकेलाई "फेरि स्वस्थ" बनाउन सकियोस् भनेर प्रेरित गरेको जोनसनले बताए।

बिहीवार यूकेले कोरोनाभाइरस प्रकोपको "चरमोत्कर्ष पार गरेको" बताउँदै जोनसनले "सङ्क्रमण दोहोरिन सक्ने खतरा" बाट जोगिनुपर्ने बताए।

के छ यूकेको स्थिति?

इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसरका अनुसार पछिल्लो हप्तामा अस्पतालहरूमा कोरोनाभाइरस सङ्क्रमणको उपचार भइरहेकाहरूको सङ्ख्या १३ प्रतिशतले घटेको छ।

यूकेमा कोरोनाभाइरसका कारण मृत्यु हुनेहरूको सङ्ख्या २८,००० नाघेको छ।

शनिवार ब्रिटेन सरकारले असुरक्षित बालबालिका र घरेलु हिंसापीडित व्यक्ति तथा लकडाउनका बेला घरमा "थुनिएकाहरूलाई" सहयोग गर्न सात करोड ६० लाख पाउन्डको राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।