कोरोना भाइरस: इङ्ग्ल्यान्डमा डाक्टरहरूले 'आफैँ पीपीई किन्छन् या दानमा भर पर्छन्'

रोयल लिभरपुल अस्पतालका स्वास्थ्य कर्मचारी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, करिब दुई तिहाइ डाक्टरहरूले कोरोनाभाइरस महामारीमा आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस नगरेको बताएका छन्

इङ्ग्ल्यान्डका आधाजसो डाक्टरहरूले व्यक्तिगत सुरक्षाका लागि आवश्यक पीपीई आफैँले किन्ने गरेको या दानमा भर पर्ने गरेको ब्रिटिश मेडिकल असोसियसन (बीएमए)ले गरेको एउटा सर्वेक्षणले देखाएको छ।

१६,००० भन्दा बढी डाक्टरहरूमा गरिएको सर्वेक्षणमा कोरोनाभाइरस सङ्कटको अग्रमोर्चामा डट्दा आफूहरू आंशिक रूपमा मात्र या कत्तिपनि सुरक्षित नरहेको महसुस गरेको डाक्टरहरूले बताएका छन्।

एकजना स्वास्थ्यकर्मीले अहिले 'सबै कर्मचारीका लागि बहुत नराम्रो अवस्था' रहेको बताए।

सरकारले भने उपकरण उपलब्ध गराउन 'हरपल काम गरिरहेको' बताएको छ।

दानमा प्राप्त

सर्वेक्षणमा ४८ प्रतिशत डाक्टरहरूले आफ्ना लागि अथवा आफ्नो विभागका लागि आफै पीपीई किनेको या परोपकारी अथवा स्थानीय संस्थाबाट दान प्राप्त गरेको बताएका छन्।

"अहिले हामी दानको भरमा चलिरहेका छौँ या आफैँ पीपीई किनिरहेका छौँ," बीएमएका अध्यक्ष डा. चाँद नागपालले बीबीसी ब्रेकफास्ट कार्यक्रममा भने।

"त्यसले हामीलाई सुरक्षित महसुस गराउँदैन र सरकारले आफ्ना कर्मचारीको सुरक्षा गर्ने भन्ने आफ्नै प्रतिबद्धता र वाचा पुरा गरेको छैन।"

सर्वेक्षणले सामानको उपलब्धताको अवस्था सुध्रिरहेको भए पनि सबै कर्मचारीहरू सुरक्षित हुने स्थितिमा पुगेका छन् र सङ्क्रमणबाट जोगिनेछन् भन्ने बिन्दुमा नपुगेको उल्लेख छ।

अस्पतालका डाक्टरको तुलनामा पारिवारिक डाक्टरको रूपमा काम गर्नेहरू पीपीई अभावबाट बढ्ता प्रभावित भएको सर्वेक्षणले देखाएको छ। अस्पतालका ३८ प्रतिशत डाक्टरले अभावको कुरा गरेका थिए जबकी ५५ प्रतिशत जीपी डाक्टरले आफ्नालागि आफै पीपीई किन्नुपरेको बताएका थिए।

डा. नागपालले उनको आफ्नै जीपीले आँखाको सुरक्षाका लागि एनएचएसबाट केही नपाएको र स्थानीय स्कूल र व्यवसायीले दान दिएकोबाट काम चलाएको बताए।

उनले भने, "जब दानमा प्राप्त वस्तु सकिन्छन् त्यसबेला नयाँ वस्तु कताबाट आउला भन्ने अनिश्चित छ।"

'रघडी काम'

सर्वेक्षणमा सहभागी एक तिहाइ डाक्टरहरूले पीपीई, कर्मचारी अभाव, परीक्षण अभाव र औषधी अभावबारे केही बोलेका छैनन्। त्यसबारे बोलेमा आफूमाथि कारवाही होला कि भन्ने डर उनीहरूले व्यक्त गरेको बताइएको छ।

एउटा विज्ञप्तिमा सरकारले "पीपीई उपलब्ध होस भनेर हरघडी काम गरिरहेको" बताएको छ। सङ्क्रमण सुरु भए यता सरकारले एक अर्ब भन्दा बढी प्रकारका वस्तु उपलब्ध गराइसकेको विज्ञप्तिमा जनाइएको छ।

लकडाउन खुकुलो बन्नु अघि नै स्वास्थ्यकर्मीहरूलाई यथेष्ट पीपीई उपलब्ध गराउनुपर्ने बीएमएले जनाएको छ।

सरकारले लकडाउन खुकुले पार्दा खतरामा रहेका ७० वर्ष माथिका व्यक्तिलाई कडा व्यवस्था गर्नु पनि ठिक नहुने डा. नागपालले बताए। विभिन्न स्वास्थ्य समस्या भएका जवान मान्छेहरू पनि उत्तिकै खतरामा हुने उनको भनाइ छ।

बढी उमेर भएका मानिसहरूलाई लामो समय घरभित्रै राख्दा शारीरिक र मानसिक स्वास्थ्य समस्या आउने चेतावनी उनले दिए।

बरू लकडाउन नियन्त्रित रूपमा खुकुलो गर्दै लग्न उनले सरकारलाई आग्रह गरे। उनले भने, "मानिसहरू बाहिर घुलमिल गरेर सङ्क्रमण बढोस् भन्ने हामी चाहन्नौँ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर