कोरोना भाइरस: कोभिड-१९ को परीक्षण किन महत्त्वपूर्ण

कोरोनाभाइरस परीक्षण
    • Author, राचेल श्रेआ
    • Role, स्वास्थ्य संवाददाता

एप्रिल महिनाको अन्त्यसम्ममा ब्रिटेनले दैनिक एक लाखको सङ्ख्यामा कोरोनाभाइरस परीक्षण गर्ने जनाएको छ। तर परीक्षणको गति सुस्त भएको भन्दै आलोचना भइरहेको छ।

उसोभए कस्ता जाँचहरू उपलब्ध छन् र ती कसका लागि हुन्?

कस्ता परीक्षण उपलब्ध छन्?

यूकेमा अहिले भइरहेका परीक्षणहरूले कुनै व्यक्तिमा कोभिड-१९ भए वा नभएको पत्ता लगाउँछ।

त्यस्ता परीक्षणका लागि सङ्क्रमणको शङ्का भएका व्यक्तिको नाक वा घाँटीबाट स्वाबको नमुना झिकेर प्रयोगशालामा पठाई त्यसमा भाइरस छ कि छैन त्यो हेरिन्छ।

कोरोनाभाइरस परीक्षण

सरकारले गर्न खोजेको अर्को परीक्षणमा एन्टीबडी पत्ता लगाइन्छ। यो परीक्षण सङ्क्रमण भइसकेका व्यक्तिमा उपयोगी हुन्छ।

गर्भ बसेको छ कि छैन भनेर जाँच्दा जसरी नै कुनै किट वा उपकरणमा रगतको थोपा हालेर यो परीक्षण हुन्छ। यसबाट शरीरले बाह्य पदार्थसँग प्रतिरोध गर्दा बनाउने तत्व अर्थात् एन्टीबडी पत्ता लाग्छ।

सरकारले ३५ लाखवटा नमुना जाँच्ने क्षमता भएको प्रविधि किनेको भए पनि त्यो उपयोगी भए वा नभएको टुङ्गो लागेको छैन।

कति भरपर्दा छन् यी परीक्षण?

अस्पतालमा रोग पत्ता लगाउने परीक्षणहरू निकै भरपर्दा हुन्छन्।

तर तिनले कोरोनाभाइरस सङ्क्रमण भएका सबै बिरामी पत्ता लगाउन सक्छन् भन्ने स्पष्ट छैन।

सङ्क्रमणको प्रारम्भिक चरणमा रहेका वा तुलनात्मक रूपमा भाइरसको मात्रा कम भएका व्यक्तिमा परीक्षणले यथार्थपरक परिणाम नदिन सक्छ।

घाँटीमा स्वाब लिने ठाउँसम्म भाइरसको सङ्क्रमण पर्याप्त फैलिसकेको छैन भने पनि कोरोनाभाइरस नदेखिन सक्छ।

अहिलेसम्म एन्टीबडी परीक्षण भरपर्दो भएको प्रमाणित भइसकेको छैन।

स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले केही समयअघि एन्टीबडीसम्बन्धी केही परीक्षण गरिएको भए पनि ती कुनै पनि सन्तोषजनक नभएको बताएका थिए।

कोरोनाभाइरस परीक्षण

कोरोनाभाइरस परीक्षणको सुपरिवेक्षण गरिरहेका प्राध्यापक जोन न्यूटनले द टाइम्स पत्रिकालाई बताएअनुसार चीनबाट आयात गरिएका उपकरणले कोरोनाभाइरसबाट गम्भीर बिरामी भएकाको पहिचान गर्न सघाए पनि मध्यमखाले लक्षण भएकाको हकमा त्यसले राम्ररी काम गरेन।

कोरोनाभाइरस परीक्षण किन महत्त्वपूर्ण छ?

यसका दुइटा मुख्य कारण छन्- मानिसमा रूपमा रोग पत्ता लगाउनु र भाइरस फैलिन नदिनु।

कोरोनाभाइरस

तस्बिर स्रोत, PA Media

समुदायमा कोरोनाभाइरस सङ्क्रमणको अवस्था थाहा पाउँदा स्वास्थ्य निकायलाई सघन उपचार एकाइको व्यवस्थासहित थप योजना बनाउन सघाउँछ।

सामाजिक दूरी कायम राख्ने जस्ता उपायमा निर्णय गर्न समेत सहयोग पुग्छ। उदाहरणका लागि, धेरै मानिसहरू सङ्क्रमित भइसकेका छन् भने लकडाउन अर्थात् हिँडडुलमा प्रतिबन्ध आवश्यक नहुन सक्छ।

व्यापक रूपमा जाँच नगर्नुको अर्थ धेरै मानिसहरू आवश्यकताबिनै एकान्तवास गरिरहेका हुन सक्छन्।

अझै पनि धेरै मानिसहरूका लागि परीक्षण उपलब्ध छैन। अहिले धेरै परीक्षण अस्पतालमा गम्भीर रूपमा रहेका बिरामीका लागि सीमित गरिएको छ।

जसको अर्थ लक्षण देखिएका थुप्रै मानिसको पनि परीक्षण हुन र उनीहरूमा कोरोनाभाइरस भए नभएको पत्ता लाग्न बाँकी छ।

अहिले लक्षण भएका चिकित्सक र नर्स तथा सङ्क्रमित व्यक्तिको संसर्गमा आएका मानिसको जाँच भइरहेको छ। यसपछि अस्पतालममा बिरामीलाई स्याहार गर्ने कर्मचारीको जाँच गरिनेछ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

नेपालमा के हुँदैछ?

नेपालमा समेत विदेशबाट आएका र सङ्क्रमण भएको पुष्टि भएका मानिसको संसर्गमा आएकाहरूको पहिचान 'कन्ट्याक्ट ट्रेसिङ्' गरेर पहिलो चरणमा जाँच गरिएको छ।

नेपालमा अहिलेसम्म ५,००० जनाभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट जाँच भएको छ।

र्‍यापिड डाईअग्नस्टिक टेस्ट अर्थात् द्रुत परीक्षण किट जाँच किटको प्रयोग गरेर थप केही हजारको जाँच गरिएको छ।

Rapid Test Kit, Galeshwor
RSS
नेपालमा कोरोनाभाइरस

सङ्ख्यामा सङ्क्रमण (वैशाख १, २०७७, दिउँसो ४ बजेसम्म प्राप्त तथ्याङ्क)

  • १४जनामा पुष्टि

  • जना निको

  • ५२ जिल्लामा RDT (र्‍यापिड डाईअग्नस्टिक टेस्ट) किटबाट परीक्षण

  • १०३जनामा कोभिड-१९ का लक्षण देखिएकाले अलग्ग राखेर निगरानी

स्रोतः covid19.mohp.gov.np

स्वास्थ्य मन्त्रालयका अनुसार ५२ वटा जिल्लामा उक्त किट पठाइएको छ।

तर विश्व स्वास्थ्य सङ्गठनले किटबाट गरिने परीक्षणलाई मान्यता दिइसकेको छैन। नेपालमा किटबाट परीक्षण गर्दा सङ्क्रमण भएको सङ्केत पाइए त्यसको पुष्टि गर्न पीसीआर विधि प्रयोग गरिने गरेको छ।

लक्षण देखिएका तर किटबाट परीक्षण गर्दा एन्टीबडी भएको सङ्केत नदेखिएका सम्भावित सङ्क्रित व्यक्तिबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट थप परीक्षण गर्न प्रयोगशालामा पठाइने गरेको छ।

ब्रिटेनले किन धेरैको परीक्षण गरेको छैन?

गत सातासम्म यूकेमा झन्डै दुई लाख जनाको परीक्षण गरिएको थियो। धेरै मानिसको एकैपटक जाँच गर्नका लागि ब्रिटेनसँग स्रोत छैन।

स्वास्थ्यमन्त्री म्याट ह्यान्कक भन्छन्, "हामीसँग विश्वकै उत्कृष्ट वैज्ञानिक प्रयोगशालाहरू छन् तर तिनको सङ्ख्या कम छ।"

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

ती प्रयोगशालामा काम गरिरहेका वैज्ञानिकहरूका अनुसार त्यहाँ थुप्रै स्वाब, किट र परीक्षणका लागि आवश्यक रसायनहरू थुप्रिएर बसेका छन्।

पीसीआर विधिमा कोरोनाभाइरसको आरएनए अर्थात् आनुवंशिक तत्त्व हेरिन्छ। मानिसबाट सङ्कलित नमुनाबाट आरएनए निकाल्न केही विशेष रसायन आवश्यक पर्छन्।

अहिले विश्वभरि त्यस्ता रसायनको उच्च माग भएकोले त्यसको अभाव देखिएको छ।

सुरुमा पब्लिक हेल्थ इङ्ग्ल्यान्डले आफ्ना आठवटा मात्र प्रयोगशाला प्रयोग गरेको थियो। अहिले ४८ वटा प्रयोगशाला प्रयोग गरिएको छ। सरकारले विश्वविद्यालय र अध्ययन संस्थानका प्रयोगशालाहरू पनि प्रयोग गर्नेगरी काम भइरहेको जनाएको छ।

ठूला व्यावसायिक साझेदार र औषधि निर्माता कम्पनीसँग मिलेर रोग पत्ता लगाउने क्षमता विकास गर्ने बताइएको छ।

बाँकी विश्वको अवस्था के छ?

दक्षिण कोरियाले ब्रिटेनले भन्दा व्यापक रूपमा परीक्षण गरेको छ।

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, EPA

उसले निकै द्रुत गतिमा परीक्षण किट बनायो। अहिले दक्षिण कोरियासँग परीक्षण किटको भण्डार नै छ।

ब्रिटेनको भन्दा केही कम जनसङ्ख्या भए पनि दक्षिण कोरियासँग दोबर सङ्ख्यामा प्रयोगशालाहरू थिए। उसले साढे दुईगुना बढी दरमा साप्ताहिक परीक्षण क्षमता विकास गरेको थियो।

जर्मनीले ब्रिटेनको भन्दा तीनगुना बढी जाँच गर्‍यो।

मार्च २७ सम्म जर्मनीमा प्रतिलाख व्यक्तिमा १,०९६ जनाको मात्रै परीक्षण भएको थियो। एप्रिल १ सम्ममा ब्रिटेनले प्रतिलाख ३४८ जनाको मात्रै परीक्षण गर्न सकेको थियो।

इटलीमा प्रतिलाखमा ८९५ जना, दक्षिण कोरियामा ८४२ जना,अमेरिकामा ३४८ जना र जापानमा २७ जनाको जाँच भएको थियो।