कोरोना भाइरस: मृतकको सङ्ख्याले अमेरिकी गोरा र अश्वेतबीच देखाएको अचम्मको असमानता

सिकागो सहर

तस्बिर स्रोत, Getty Images

शिकागोका स्वास्थ्य अधिकारीहरूले दिएको तथ्याङ्कले कोरोनाभाइरसका कारण अश्वेत जातिका अमेरिकीले ठूलो सङ्ख्यामा ज्यान गुमाएको देखाएका छन्।

उनीहरू त्यहाँ कुल जनसङ्ख्यामध्ये ३० प्रतिशत छन्। तर कुल सङ्क्रमितको आधा र कुल मृतकको ७० प्रतिशत सङ्ख्या अश्वेत अमेरिकीहरूकै छ।

डिट्रोइट, मिल्वाउकी, न्यूओर्लिअन्स र न्यूयोर्क लगायतका अश्वेतहरूको ठूलो जनसङ्ख्या रहेका सहर कोरोनाभाइरसबाट अतिआक्रान्त छन्।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या साढे चार लाख र मृतकको सङ्ख्या १६,००० भन्दा धेरै पुगेको छ।

विश्वभरि करिब ९५,००० को मृत्यु भएको छ भने १६ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्।

शिकागोको तथ्याङ्कले के देखाउँछ?

सहरका अधिकारीहरूले ५ एप्रिलसम्म शिकागोमा कोभिड-१९ का बिरामीको सङ्ख्या ४,६८० पुग्दा १,८२४ जना अश्वेत जातिका नागरिक रहेको बताएका थिए।

त्यसको तुलनामा ८४७ जना गोरा जातिका, ४७८ जना हिस्प्यानिक र १२६ जना एशियाली मूलका मानिस रहेका छन्।

शिकागोमा यो साताको सुरुसम्म ज्यान गुमाउने ९८ जनामा ७२ प्रतिशत अश्वेत जातिका बासिन्दा थिए।

शिकागोमा ३ हजार शैय्याको अस्पताल बनाइँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शिकागोमा ३,००० शय्याको अस्पताल बनाइँदै

इलनोय राज्यभरि नै असमानता झल्किन्छ।

त्यहाँ १४ प्रतिशत जनसङ्ख्या अश्वेतको छ। मृत्यु हुनेहरूमध्ये ४१ प्रतिशत उक्त जातिका छन्।

'विध्वंशकारी'

शिकागोका जनस्वास्थ्य आयुक्त डा. एलिसन अर्वडीले संवाददाताहरूलाई श्वेतजातिका मानिसको तुलनामा सहरका अश्वेत बासिन्दाको आयु सरदर ८.८ वर्ष कम रहेको बताइन्।

मेयर लोरी लाइटफूटका भनाइमा कोरोनाभाइरस 'शिकागो अश्वेतका निम्ति विध्वंशकारी' बनेको छ।

उनले सामाजिक दूरीको निर्देशिका सबै जनाले पालना गरेको कुरा सुनिश्चित गर्न सहरका निरीक्षणकर्ताहरूलाई व्यावसायिक केन्द्रहरूभित्र पठाइने बताइन्।

शिकागो सन-टाइम्सको समाचारमा मेयरले मदिरा पसलबाहिर मानिसहरू भेला हुने क्षेत्रमा कर्फ्यू लगाइने सम्भावना पनि दर्शाएको उल्लेख छ।

राष्ट्रव्यापी तस्बिर कस्तो छ?

कोरोनाभाइरसलाई 'महान् समताकारी' भनिए पनि तथ्याङ्कले सङ्क्रमणको जोखिम निकै फरक रहेको देखाउँछ।

मिलेनियम पार्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, शिकागो मिलेनीअम पार्कमा अचेल मानिसको भिड छैन

मिशिगनमा अफ्रिकी मूलका अमेरिकीहरूको १४ प्रतिशत जनसङ्ख्या छ।

तर राज्यको स्वास्थ्य विभागको सोमवारको तथ्याङ्कअनुसार कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये ३३ प्रतिशत र मृत्यु हुनेमध्ये ४१ प्रतिशत उनीहरू छन्।

तथ्याङ्कले मिशिगनमा सङ्क्रमितमध्ये २३ प्रतिशत र मृतकहरूमध्ये २८ प्रतिशत सङ्ख्या श्वेत जातिका बसिन्दाको भएको देखाएको छ।

मिशिगन राज्यको डिट्रोइट सहरमा ८० प्रतिशत अश्वेत बासिन्दा छन्।

राज्यको कुल सङ्क्रमितमध्ये ८० प्रतिशत डिट्रोइट र छेउछाउका नगरकै बासिन्दा छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोभिड-१९ बाट असुरक्षित

विस्कन्सन राज्यमा पर्ने अमेरिकाको एउटा निकै चर्चित सहर मिल्वाउकीमा त्यस्तै असमानता उत्पन्न भएको छ।

प्रो-पब्लिकको अध्ययनका अनुसार मिल्वाउकी क्षेत्रमा गत सातासम्म झन्डै एक हजार सङ्क्रमितमध्ये आधाजसो अफ्रिकी मूलका अमेरिकी रहेका छन्।

त्यहाँ उनीहरूको जनसङ्ख्या २६ प्रतिशत छ र २७ जना मृत्यमध्ये ८१ प्रतिशत उनीहरू नै छन्।

लूईजीयानामा भएको कुल मृत्युको झन्डै ४० प्रतिशत न्यूओर्लिअन्स क्षेत्रमा भएको छ जहाँ अश्वेत बासिन्दाको बाहुल्य छ।

अस्पताल बाहिर एक महिला

तस्बिर स्रोत, Reuters

यसअघि स्वास्थ्य अधिकारीहरूले 'बिग ईजी' पनि भनिने न्यूअर्लिअन्सका बसिन्दाहरू सिङ्गो देशको जनसङ्ख्याको सरदर तुलनामा मोटोपन, मधुमेह र उच्च रक्तचापबाट बढी पीडित रहेको जसले गर्दा कोभिड-१९ को निम्ति असुरक्षित रहेको बताएका थिए।

शिकागोमा असमानताको कारण

मेयर लाइटफूटले मधुमेह, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोग अश्वेत समुदायमा 'साँच्चिकै व्याप्त' रहेको बताइएकी छन्।

डा. अर्वडीले सहरका प्रत्येक मानिसलाई चिकित्सकहरूसम्म पहुँच भए पनि 'पदयात्रीअनुकूल हुने सडकको अभाव र खाद्यसामग्रीका कारण अझै पनि अर्थपूर्ण स्वास्थ्य असमानता देख्नुपरेको' टिप्पणी संवाददाताहरूसँग गरिन्।

अफ्रिकी मूलका अमेरिकी चिकित्सक डा. क्यामरोन वेबले विश्वव्यापी महामारीले अमेरिकाको जातीय र आर्थिक असमानतालाई प्रदर्शित गरिदिएको बीबीसीलाई बताए।

उनले भने, "यसले साँच्चिकै हाम्रो समाजको दोषलाई उजागर गरेको छ।"

शिकागो परिषद्‍को अश्वेत ककसका अध्यक्ष एल्डरम्यान जेसन अर्विनले 'घरभित्रै बस्नुपर्ने निर्देशन सहरका केही क्षेत्रमा उल्लङ्घन गरिएका दरका कारणले पनि उक्त तथ्याङ्कलाई बल पुर्‍याएको हुन सक्ने' शिकागो ट्रिब्यूनलाई बताएका छन्।