कोरोना भाइरसः इन्डोनेशियाको जाभास्थित एउटा गाउँमा मानिसहरूलाई घरभित्रै राख्न 'भूत'को भेषमा स्वयंसेवक

तस्बिर स्रोत, Reuters
इन्डोनेशियाको एउटा गाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि मानिसहरू घरभित्रै बसून् र बाहिर निस्किनुपर्दा एकअर्काबीच दूरी कायम राखून् भन्ने उद्देश्यले भूतको भेषमा स्वयंसेवकहरू परिचालित भएका छन्।
गत महिनादेखि जाभा द्वीपको केपु गाउँमा ती स्वयंसेवकहरू गस्ती गर्न राति सडकमा निस्किन थालेका हुन्।
इन्डोनेशियाको लोककथामा मृत्यु भएका मानिसको आत्माले मुक्ति पाएन भने 'पोकोङ' बन्ने उल्लेख छ।
पोकोङहरू डरलाग्दा हुन्छन्। स्वयंसेवकहरूले त्यस्तै भेषधारण गरेका हुन्।
इन्डोनेशियामा झन्डै ४,५०० जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। तीमध्ये ४०० जनाको मृत्यु भएको जोन्स हप्किन्स यूनिभर्सिटीको तथ्याङ्कले देखाउँछ।
तर विज्ञहरूले देशभरि सङ्क्रमण नराम्ररी फैलिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।
अभियान
गाउँलेहरूका अनुसार स्वयंसेवकहरूले गस्ती गर्न थालेपछि अवस्थामा सुधार आयो।
"पोकोङ देखिन थालेपछि अभिभावक र बालबालिकाहरू घरबाट बाहिर निस्किएका छैनन्," कर्नो सुपद्मोले रोएटर्ससँग भने। "अनि मानिसहरू सन्ध्याकालीन प्रार्थनापछि बाटोमा भेला हुने वा बसिरहने गर्दैनन्।"
पोकोङको भेषमा स्वयंसेवकहरूलाई देखेपछि कोरोनाभाइरस कति घातक हुन सक्छ भन्ने गाउँलेहरूले बुझेको र त्यो अभियान प्रभावकारी भएको स्थानीय मस्जिदका रक्षक अन्जर पान्काले 'जाकार्ता पोस्ट' पत्रिकालाई बताए।
गाउँले युवाहरूको समूहका प्रमुखको अगुवाइमा स्थानीय प्रहरीसँग सहकार्य गरेर उक्त अभियान थालिएको हो।
"हामी अरूभन्दा फरक हुन चाहन्थ्यौँ। अनि पोकोङहरू डरलाग्दा देखिने भएकाले तिनबाट (गाउँलेहरू) हतोत्साह होऊन् भन्ने चाहन्थ्यौँ," युवा समूहका प्रमुख अन्जर पन्कानिङ्त्यासले रोएटर्ससँग भने।
पोकोङको गतिविधि नियाल्न केपु गाउँको भ्रमण गरेका समाचारसंस्था रोएटर्सका कर्मचारीका अनुसार भूतको भेषमा स्वयंसेवक परिचालन गर्दा सुरुसुरुमा गाउँलेहरू तिनलाई हेर्न बाहिर आए। त्यसबाट तत्कालै सोचे जस्तो परिणाम आएन।

तस्बिर स्रोत, AFP
प्रकोप थेग्न नसक्ने त्रास
इन्डोनेशियामा तत्काल कडा प्रतिबन्धात्मक उपाय अवलम्बन नगरिए देशको स्वाथ्यसेवा प्रणालीले कोरोनाभाइरस महामारीको प्रकोप थेग्न नसक्ने त्रास उत्पन्न भएको छ।
तर अहिलेसम्म राष्ट्रपतिले राष्ट्रव्यापी लकडाउन घोषणा गरेका छैनन्।
"कोभिड-१९ फैलिन नदिने उपायबारे गाउँलेहरूमा अझै चेतना छैन," केपु गाउँका प्रमुखले रोएटर्सलाई बताए।
"उनीहरू सामान्य अवस्थामा बस्न चाहन्छन्। त्यसैले घरमै बस्न दिइएको निर्देशन पालना गर्न उनीहरूलाई कठिन हुन्छ।"

तस्बिर स्रोत, AFP


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









