कोरोनाभाइरस: दक्षिण कोरियामा दूरी कायम गर्ने समयसीमा दुई साता थपियो

तस्बिर स्रोत, AFP
कोरोनाभाइरस नियन्त्रण गर्न उदाहरणीय काम गरेको भन्दै प्रशंसा भइरहेको दक्षिण कोरियामा मानिसहरूबीच दूरी कायम गर्ने समयसीमा दुई साताका लागि थपिएको छ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीका अनुसार देशमा कोरोनाभाइरस फैलिने दर कम नभएसम्म त्यो दूरी कायम गर्ने नियम जारी राखिनेछ।
त्यहाँ अहिले दैनिक सरदर ५० जना कोरोनाभाइरस सङ्क्रमित भेटिने गरेका छन्।
त्यो दर आधाले नघटेसम्म सावधान हुन सरकारले जोड दिएको छ।
अनलाइन पढाइ
व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ।
उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ।
एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूको पढाइ बिहीवारबाट अनलाइनमार्फत् हुने भनिएको छ।
दक्षिण कोरियाले व्यापक रूपमा परीक्षण तथा सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको अवस्थिति पत्ता लगाउँदै उनीहरूको जाँच गर्दै भाइरस फैलिने क्रम रोकेको भन्दै उसको सर्वत्र प्रशंसा भइरहेको छ।
त्यसलाई उदाहरणीय भन्दै अन्य देशहरूले पनि अनुकरण प्रयास गरेका छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

टापुहरूमा उच्च सतर्कता
यसैबीच प्रशान्त महासागरीय टापु देश टोङ्गा र सामोआमा पनि निषेध कायम रहने अवधि थप गर्ने निर्णय गरिएको छ।
त्यहाँ अझै कोरोनाभाइरस देखिएको छैन।
सोलोमन आईलन्ड्स, पपुवा न्यूगिनी र भानुआटुमा पनि त्यस्तै प्रतिबन्धहरू लगाइएको छ।
अमेरिकी नियन्त्रणमा रहेको गुआम, न्यू क्यालेडोनिया फिजी र फ्रेन्च पोलिनेशियामा रात्रिकालीन कर्फ्यू जारी छन्।
स्पेनको अवस्था
स्पेनमा ८९० जनाको ज्यान गएपछि त्यहाँ कोरोनाभाइरसका कारण भइरहेको मृत्यदर केही तल झरेको छ।
त्यहाँ अहिलेसम्म ११,७०० जनाको ज्यान गइसकेको छ।
यसै साता स्पेनी स्वास्थ्य मन्त्रालयले महामारी उच्चतम बिन्दुमा पुगेको बताएका थिए।
प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा जारी बन्दाबन्दी अर्को दुई सातालाई थप्ने घोषणा गरेका छन्।
स्वस्थ मानिसले कमजोर मानिसलाई कोरोनाभाइरस सार्न सक्ने चिन्ताबीच स्पेनमा मास्क अभाव भइरहेको छ।









