तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: कुकुर र बिरालोको मासु खान प्रतिबन्ध लगाउने शेन्जेन पहिलो चिनियाँ शहर
कुकुर र बिरालोको मासु विक्री तथा उपभोगमा प्रतिबन्ध लगाउने शेन्जेन पहिलो चिनियाँ शहर बनेको छ।
कोरोनाभाइरस प्रकोपलाई वन्यजन्तुको मासुसँग जोडेर हेरिएपछि चिनियाँ अधिकारीहरूलाई उक्त प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।
शेन्जेनले त्यसभन्दा एक कदम अगाडि बढेर कुकुर र बिरालोको मासु खानमा पनि प्रतिबन्ध लगाएको छ। नयाँ कानून मे १ तारिखदेखि कार्यान्वयनमा आउनेछ।
एशियाभरि एक वर्षमा तीन करोड कुकुर मासुका लागि वध गर्ने गरिएको ह्यूमेन सोसाइटी इन्टरन्याशनल (एचएसआई) ले जनाएको छ।
यद्यपि कुकुरको मासु खाने चलन चीनमा त्यति प्रचलित छैन।
यहाँका बहुसङ्ख्यक मानिसले कहिल्यै कुकुरको मासु खाएका छैनन् र खान पनि नचाहने उनीहरू बताउँछन्।
'मानव सभ्यताको मर्म र माग बमोजिम'
"घरपालुवा जनावरका रूपमा कुकुर र बिरालाको मानिसहरूसँग नजिकको सम्बन्ध स्थापित छ र विकसित मुलुकमा कुकुर र बिरालाको मासु खानमा प्रतिबन्ध लगाउने चलन छ।
हङ्कङ र ताइवानमा पनि त्यसै गरिएको छ," रोयटर्स रिपोर्टमा शेन्जेन नगरका सरकारलाई उल्लेख गरिएको छ।
"यो प्रतिबन्ध मानव सभ्यताको मर्म र माग बमोजिम छ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
जनावरको वकालत गर्ने संस्था एचएसआईले त्यो कदमको स्वागत गरेको छ।
एचएसआईमा चीन नीति विज्ञ डा. पीटर ली भन्छन्, "यो कदम चीनमा हरेक वर्ष करिब एक करोड कुकुर र ४० लाख बिरालाहरू मारिने गरेको निर्मम व्यापार अन्त्य गर्नेतर्फ यो ऐतिहासिक क्षण हुन सक्छ।"
यद्यपि यो निर्देशन आएकै बेला चीनले कोरोनाभाइरस सङ्क्रमितको उपचारमा भालुको पित्त प्रयोगलाई अनुमति दिएको छ।
नियन्त्रणमा लिइएका जीवित भालुबाट निकालिने पित्त लामो समयदेखि परम्परागत चिनियाँ औषधिका रूपमा प्रयोग हुँदै आएको छ।
त्यसमा हुने सक्रिय तत्व उर्सोडीओजाइकोलिक एसिड पित्त थैलीमा हुने पत्थर पगाल्न र कलेजोसम्बन्धी रोगको उपचारमा प्रयोग गर्ने गरिएको छ।
तर त्यो कोरोनाभाइरस उपचारमा प्रभावकारी हुन्छ भन्ने प्रमाण छैन।
भालुबाट पित्त निकाल्ने काम सजिलो छैन र निकाल्दा जनावरलाई असाध्यै कष्ट हुने गरेको छ।
एनिमल्स एशिया फाउन्डेशनका प्रवक्ता ब्रायन ड्यालीले एएफपीलाई भने, "वन्यजन्तुबाटै सुरु भएको जस्तो देखिएको घातक भाइरससँग लड्न भालुको पित्त जस्तो वन्यजन्तु उत्पादनमा हामी भर पर्नु हुँदैन।"
वन्यजन्तुको बजार
फेब्रुअरी महिनामा चिनियाँ अधिकारीहरूले वन्यजन्तु उपभोग र व्यापारमा प्रतिबन्ध लगाएका थिए।
वुहानस्थित एक जङ्गली जनावर तथा वन्यजन्तुको मासु विक्री गर्ने बजारको जनावरबाट मान्छेमा सरेर कोरोनाभाइरस प्रकोपको सुरुवात भएको हुन सक्ने ठानिएको थियो।
यो समाचारपछि चिनियाँ सरकारले यस्ता उत्पादन विक्री गर्ने बजार नियन्त्रण गर्न पाइला चालेको थियो।
जोन्स हप्किन्स विश्वविद्यालले राखेको तथ्याङ्क बमोजिम अहिले संसारभरि १० लाखभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र ५० हजारभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।
चीनमा मात्रै ८१,५८९ जनामा सङ्क्रमण पुष्टि भएको ३,३१८ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
वैज्ञानिक र अनुसन्धानकर्ताहरूले अहिलेसम्म भाइरसको स्रोत के हो र कसरी त्यो मान्छेमा फैलियो भन्नेबारे भेउ पाउन सकेका छैनन्।