कोरोनाभाइरस: के जोहो गरेर बनाइने भेन्टिलेटर र मास्कले कोभिड-१९ सँग लड्न सघाउलान्?

    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी विश्व सेवा

कोरोनाभाइरसको महामारीसँग जुझ्न अस्पतालमा निकै धेरै भेन्टिलेटर, मास्क र अन्य व्यक्तिगत सुरक्षा सामग्रीहरू आवश्यक छन्।

तिनको तत्काल धेरै सङ्ख्यामा उत्पादन गर्नु चुनौतीपूर्ण काम बनेको छ। अरूले त्यस्ता सामग्रीको नक्कल गर्न नसकुन् भनेर तिनका डिजाइनहरू कानुनी रूपबाट संरक्षित हुन्छन्।

तर विश्वभरि थुप्रै मानिसहरूले त्यस्ता सामग्रीलाई खुला रूपमै उपलब्ध सामग्री र सूचनाका आधारमा थुप्रै सङ्ख्यामा उत्पादन गर्न थालेका छन्।

ब्रिटिश इञ्जिनियर एलेक्सन्ड्र जेम्स फिलिप्स समेत यस्ता सामग्रीका डिजाइनबारेको जानकारी खुला रुपमा उपलब्ध हुनुपर्ने ठान्छन्।

त्यस्तो उपायको महत्त्व किन अहम छ भन्नेबारे उनले बीबीसीसँग कुरा गरेका छन्।

'हरेक भेन्टिलेटर सुन सरह बनेका छन्'

विभिन्न देशमा हजारौँ कोभिड-१९ का बिरामीहरूले सास फेर्न कठिनाइ महसुस गरिरहँदा अस्पताल एवं स्वास्थ्य संस्थामा भने उनीहरूलाई बचाउने मुख्य सामग्रीको अभाव झन् बढिरहेको छ।

अनपेक्षित उच्च सङ्ख्यामा अस्पतालहरूमा बिरामीहरू देखा परेका छन्।

जसका कारण इटली र स्पेनमा भेन्टिलेटरहरू सघन स्याहार चाहिने र मृत्युको जोखिममा हुने जेष्ठ मानिसहरूलाई नभइ युवा, र अन्य रोग नलागेका बिरामीलाई मात्र दिइन थालेका छन्।

उत्तरी इटलीको एउटा सघन उपचार एकाइका चिकित्सक डा डानिइल म्याकचिनीले पछिल्लो अवस्थाको व्याख्या गर्दै भने: "हरेक भेन्टिलेटर सुनसरह बनेका छन्।"

भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीको ज्यान बचाउन भेन्टिलेटर अत्यावश्यक मानिन्छ।

उच्च माग

महामारीको सबैभन्दा उच्च मृत्युदर रहेको इटलीले आफ्नो एउटा मात्र भेन्टिलेटर उत्पादकलाई एक महिनामा चार गुणा बढी उत्पादन गर्न भनेको छ।

उसले त्यसलाई सघाउन भन्दै सुरक्षा बलका सदस्यहरू समेत पठाएको छ।

जर्मनीले आफ्नो एउटा स्थानीय कम्पनीसँग त्यसैगरी थप १० हजार भेन्टिलेटरको माग गरेको छ।

ब्रिटेनको सरकारले एक कदम अगाडि बढेर उत्पादकहरूलाई अन्य उत्पादनको साटो समेत भेन्टिलेटर नै बनाउन आग्रह गरेको छ।

तर त्यहाँ एउटा समस्या छ: सर्वाधिकार।

सर्वाधिकार

सघन उपचारमा भेन्टिलेटरहरू थुप्रै दशकदेखि प्रयोग हुँदै आएका छन्।

यसका उपकरणहरू विश्वका विभिन्न भागमा तयार हुन्छन्।

यो निकै विशेष जीवनरक्षाको उपकरण भएकोले यसको सर्वाधिकार सुरक्षित गरिएको हुन्छ।

एलेक्सन्ड्र जेम्स फिलिप्स ठान्छन्: "तिनको डिजाइन सार्वजनिक गरियो भने स्वतन्त्र संस्थाहरूले निकै धेरै सङ्ख्यामा त्यसको उत्पादन गर्न सक्नेछन्।"

"तिनको निर्माण कसरी गर्ने भन्ने जानकारी सार्वजनिक गरिँदा त्यसले आश्चर्यजनक रूपमा मूल्यवान काम गर्नेछ। अहिलेको समस्यासँग जुझ्न सकिनेगरी उच्च सङ्ख्यामा अन्य कम्पनीहरूले बौद्धिक सम्पत्ति सुरक्षित गरिएका प्रविधिमा काम गर्न सक्नेछन्।"

उपाय खोज्दै विज्ञहरू

अक्सफोर्ड विश्वविद्यालयमा पढेका वायोकेमिस्ट तथा सफ्टवेयर इञ्जिनियर एलेक्सन्ड्र जेम्स फिलिप्सले 'प्रोजेक्ट ओपन एअर' नामको एउटा विश्वव्यापी विज्ञ समूह -थिङ्क ट्याङ्क- गठन गर्न सघाएका थिए।

विज्ञ र व्यावसायिक सोच भएका तिनै अन्तर्राष्ट्रिय स्तरका बौद्धिक व्यक्तिहरूले अहिले कोरोनाभाइरस महामारीसँग जुझ्ने उपाय र स्रोतबारे काम गरिरहेका छन्।

उनले बीबीसीसँग भने: "सूचना बाँड्नु सबैभन्दा आवश्यक छ। र त्यही काम भइरहेको छैन।"

कानुनी उपचार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले देशहरूलाई भाइरसको धेरैभन्दा धेरै जाँच गर्न भनेको छ। तर थुप्रैले अझै परीक्षण किट पाउन सङ्घर्ष गरिरहेका छन्।

फिलिप्स थप्छन्: "एक वायोकेमिस्टका नाताले कोरोनाभाइरस जाँच्ने प्रक्रियाको एउटा लिपिवद्ध तरिका होस् भन्ने म चाहन्छु जसले गर्दा जुनसुकै वायोकेमिकल कम्पनीले जाँचका लागि आवश्यक पर्ने रसायनहरु तयार पार्नसक्छन्।"

"जाँच प्रक्रियामा घोलकहरूको मिश्रणले नतिजा थाहा हुन्छ। तर त्यहाँ कुन रसायन छ भन्ने मलाई थाहा छैन," उनले थपे।

एक अमेरिकी कम्पनीले समेत कीट उत्पादन गर्नका लागि मुद्दाको प्रक्रियामा गएको थियो। तर सर्वत्र आलोचना भएपछि थप अगाडि बढेन।

सूचना प्रवाह

अन्य दुई विज्ञ समूहहरूले समेत प्रोजेक्ट ओपन एअरले जस्तै काम गरिरहेका छन्।

फिलिप्स थप्छन्: "हामी मानिसहरूबीच अन्तर्क्रिया र सूचना आदानप्रदान तीब्र गतिमा होस् भन्ने वातावरणको लागि काम गरिरहेका छौँ: निर्णयहरू गरौँ, डिजाइनका परीक्षण गरौँ र अन्तत: उत्पादनहरू पठाउँ जसले मानिसहरूलाई कोभिड-१९ सँग लड्न सघाउनेछ।"

थुप्रै वायोमेडिकल र रसायन इञ्जिनियरिङ्ग कम्पनीहरू प्रमाणित भइसकेका डिजाइनमा काम गर्न तम्तयार भएर बसेका छन्।

आशा

उनका अनुसार डिजाइनलाई खुला छाड्दा छोटो समयमै उपचारका लागि निकै महत्त्वपूर्ण उपकरणहरू सहजै उपलब्ध हुनेछन्।

"सामान्यत: भेन्टिलेटर देख्दा त्यसको जटिल प्रारुप, विद्युतीय सुरक्षा संयन्त्र देखिन्छ। तर त्यसको सरलीकृत संस्करण समेत हुनसक्छ। मैले त्यो छिट्टै देख्ने आशा गरेको छु।"

इटलीको एउटा भर्खर स्थापना हुँदै गरेको कम्पनीले अधिक प्रयोग भइसकेका भेन्टिलेटरलाई चलायमान राख्ने महत्त्वपूर्ण उपकरण उत्पादन गर्न सफल भयो।

धेरैको भलोका लागि...

फिलिप्सका अनुसार विश्व व्यापार सङ्गठन (डब्लूटीओ)ले बौद्धिक सम्पत्ति प्रयोगको अधिकार असहज र चरम अवस्थामा अरूसँग बाँड्न अनुमति दिनसक्छ।

जसले गर्दा उत्पादन गर्ने अन्य कम्पनीहरूले मूल कम्पनीलाई रोयल्टी तिर्नुपर्छ।

धेरैको भलो हुने यस्तो अवस्थामा कम्पनीहरूले आफ्ना डिजाइन अरूसँग पनि बाढ्नु हितकर हुने फिलिप्स सुझाउँछन्।

"कम्पनीहरूले समेत यसबाट धेरै कमाउँछन्। हामीलाई एकैदिन अर्बौको जाँच आवश्यक छ। महिनामा दशौँलाख होइन।"

उनले यस काममा आवश्यक परे सरकारहरूले नै पनि हात हाल्नुपर्ने बताउँछन्।

आयरल्याण्डले एउटा घोषणा गर्दै नमुनाका रूपमा छ वटा थ्री-डी भेन्टिलेटरहरू खुला रूपमा उपलब्ध जानकारीका आधारमा बनाउने जनाएको छ।

तर मुख्य प्रश्न चाहीँ के थुप्रै तहका जाँचबिनै तयार हुने यस्ता जीवनरक्षक उपकरण चिकित्सकहरूले सहजै प्रयोग गर्लान् भन्ने हो।

"औपचारिक रूपमा मैले कुरा गरेका कुनै पनि डाक्टरले त्यसरी गुणस्तर जाँच नहुने उपकरण वा कीट यस महामारीसँग जुझ्न प्रयोग गर्ने बताएका छैनन्।"

उनको भनाइ छ: "तर अनौपचारिक रिपोर्टहरूका अनुसार केही ठाउँमा बिरामीहरू मर्ने अवस्थामा पुग्नुभन्दा विकल्पका रुपमा प्रमाणित नभएकै उपकरण र कीट प्रयोग गरिएका छन्।"