तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: भारतका एक अर्ब ३० करोड जनता २१ दिनमा ‘लकडाउन’मा
भारतको सम्पूर्ण जनसङ्ख्या तीन साता लामो कडा बन्देज अर्थात् 'लकडाउन' मा बस्न बाध्य भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले देशका एक अर्ब ३० करोड जनतालाई आफ्नो सुरक्षाका निम्ति कसैले घरबाहिर ननिस्कन आह्वान गरेका छन्।
अन्यथा भारत दशकौँ पछाडि धकेलिने उनले बताए।
घुइँचो
मङ्गलवार राति टेलिभिजनमा उनले गरेको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न मानिसहरूको भिड लागेको थियो।
भारतमा हालसम्म ५०० जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण भेटिएको छ भने १० जनाको ज्यान गएको छ।
विश्वभरि सङ्क्रमणका सङ्ख्या चार लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
अहिलेसम्म १८,००० जनाभन्दा धेरैको ज्यान गइसकेको छ।
मध्यरातबाट 'लकडाउन' लागु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको बताए।
उक्त बन्देज गएको मध्यरातबाट लागु भएको छ र आगामी २१ दिनसम्म जारी रहनेछ।
"तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ," मोदीले भने।
उनले मानिसहरूलाई नआत्तिन भनेका थिए तर लगत्तै राजधानी दिल्लीका पसलहरूमा भिड लाग्यो।
संवाददाताहरूका अनुसार बन्देजका बेला मानिसहरूलाई खानेकुरा तथा अन्य अत्यावश्यक वस्तु किनमेल गर्न कसरी दिइनेछ भन्ने स्पष्ट पारिएको छैन।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
दिल्ली र मुम्बईमा पहिले नै 'लकडाउन'
बीबीसीकी दिल्लीस्थित संवाददाता रजिनी वैद्यनाथन भन्छिन्: दिल्ली तथा मुम्बईजस्ता सहरमा यसअघि नै प्रतिबन्ध घोषणा भइसकेका थिए।
अब त्यस्तो बन्देज सम्पूर्ण देशमा लागु हुँदैछ।
आइतवार भारतमा 'जनता कर्फ्यू' भनेर पनि लगाइएको थियो।
त्यतिखेर प्रधानमन्त्री मोदीले आफ्ना घरबाटै ताली बजाएर स्वास्थ्यसेवकहरूको सम्मान गर्न आह्वान गरेका थिए। तर कतिपयले कुरा नबुझेर र्याली निकालेका थिए।
भारतमा यस्तो 'लकडाउन'को परिणाम के होला भनेर भन्न सकिँदैन। यसको आर्थिक तथा सामाजिक परिणाम हुन सक्छन्।
तर विश्वव्यापीरूपमा फैलिएको सङ्क्रमणका सामु यी उपाय आवश्यक रहेको पनि ठानिएको छ।