तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: इतिहासमै पहिलो पटक ओलिम्पिक्स प्रतियोगिता सारिने
धेरैले निर्विकल्प देखेको विषय अब औपचारिक भएको छ- कोरोनाभाइरस महामारीका बीच सन् २०२० को टोक्यो ओलिम्पिक्स एक वर्ष पर सारिएको प्रतियोगिताका आयोजकहरूले जनाएका छन्।
एक वर्षपछाडि सार्न जापानले गरेको प्रस्तावलाई अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटि (आइओसी)का प्रमुखले सहमति जनाएका हुन्।
प्रधानमन्त्री सिन्जो आबेले नयाँ समयसीमाबारे स्पष्ट केही नबताए पनि ढिलोमा त्यो, सन् २०२१ को गर्मीयामभित्र आयोजना हुने बताए।
'विजय उत्सव'
यद्यपि त्यसलाई टोक्यो २०२० नै भनिने र उक्त आयोजना कोरोनाभाइरसमाथिको विजय उत्सवको रूपमा हुने आबेले बताए।
बीबीसीका खेल संवाददाता एलेक्स क्याप्स्टिक भन्छन्- ओलिम्पिक प्रतियोगिता सारिएको यो पहिलो पटक हो। युद्धका बेला ओलिम्पिक्स रद्द गरिएको थियो तर कहिल्यै पर सारिएको थिएन।
"तर त्यसको व्यवस्थापकीय चुनौती निकै ठूलो छ। प्रतियोगिता सार्न त्यति सजिलो छैन।"
ओलिम्पिक कमिटिले आगामी २४ घण्टाभित्र औपचारिक रूपमा प्रतियोगिता सार्ने यस निर्णय अनुमोदन गर्ने ठानिएको छ।
दबाब
यसअघि न्यूजिल्याण्ड र अमेरिका समेतले ब्रिटेन, क्यानाडा र अस्ट्रेलियालाई पछ्याउँदै सन् २०२० को टोक्यो ओलिम्पिक्सको मिति सार्न माग गर्ने कित्तामा उभिएको जनाएका थिए।
यसअघि आइओसीले प्रतियोगिता रद्द गर्ने आफ्नो एजेन्डा नभए पनि त्यसलाई सानो स्वरूपमा लैजान सकिने विकल्पबारे भने सोचिने जनाएको थियो।
टोक्यो ओलिम्पिक्स जुलाई महिनामा आयोजना हुने तालिका थियो।
टोक्यो पारालिम्पिक्स समेत अर्को वर्षसम्मलाई सारिनेछ।
१२४ वर्षको आधुनिक इतिहासमा सन् १९१६, १९४० र १९४४ मा ओलिम्पिक्स रद्द गरिएको थियो।
त्यसबेला प्रथम र द्वितीय विश्वयुद्ध भएका थिए।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्