तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: विज्ञ भन्छन्, 'सके घरै बस्नूस्, नसके सुरक्षित यात्रा गर्नूस्'
कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सरकारले सबै शैक्षिक संस्था बन्द गर्नुका साथै २५ जनाभन्दा बढी एकै स्थानमा जम्मा नहुन निर्देशन दिएसँगै सङ्घीय राजधानी काठमाण्डूबाट बाहिरिनेहरूको सङ्ख्या ह्वात्तै बढेको विवरण आएका छन्।
काठमाण्डू आएर पढ्ने विद्यार्थीका साथै अन्य मानिसहरू घर फर्कन थालेको अवस्थामा विज्ञहरूले सामाजिक दूरी कायम गर्न र व्यक्तिगत सुरक्षाका उपाय अपनाएर मात्रै यात्रा गर्न सुझाएका छन्।
कोरोनाभाइरस फैलिन नदिन विश्वका प्रमुख सहरहरूमा हाल यात्रामा प्रतिबन्ध लगाइनुका साथै अत्यावश्यक बाहेकको अवस्थामा घरबाहिर ननिस्कन भनिएको छ।
कोरोनाभाइरस नियन्त्रण गर्न सफल भएको बताइरहेको चीनले पनि सङ्क्रमण नफैलियोस् भनेर हुबे प्रान्तको आवागमनका साथै अन्य गतिविधिहरूमा पूर्ण प्रतिबन्ध लगाएको थियो।
बाहिरिनेको सङ्ख्या
महानगरीय ट्राफिक महाशाखाका अनुसार बिहीवार काठमाण्डू उपत्यकाका विभिन्न नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारीसाधनको सङ्ख्या बढेको छ।
महाशाखाका अनुसार काठमाण्डूमा बिहीवार १५,१४० सवारीसाधन भित्रिएका छन् जसमा ८३,१३९ यात्रु सवार थिए।
बाहिरिएका १८,५५४ सवारीसाधनमा १,०८,४५८ जना यात्रु रहेको महाशाखाले जनाएको छ।
बुधवार भने काठमाण्डूबाट बाहिरिनेभन्दा भित्रिने सङ्ख्या धेरै रहेको तथ्याङ्कले देखाउँछ।
विज्ञको सुझाव
सरुवा रोग विशेषज्ञ डा. अनुप सुवेदी विद्यमान परिस्थितिमा आवतजावत कम गर्दा ठीक हुने बताउँछन्। तर आवतजावत ठप्पै पार्न नहुने उनको भनाइ छ।
"यो कति संवेदनशील अवस्था हो भन्ने कुराको जानकारी हुन पाएको छैन। यस विषयमा सूचना अन्य मुलुकमा जस्तै नेपालमा पनि दिइनुपर्छ। त्यसपछि मात्रै सुसूचित जनताले सरकारलाई सहयोग गर्न सक्छन्," सुवेदीले बीबीसीलाई भने।
उनका अनुसार कोरोनाभाइरस सङ्क्रमण रोक्न भिडभाड कम भएको वा जनघनत्व कम भएको राम्रो हो।
"काठमाण्डूबाट बाहिरिँदै गर्दा यदि यहाँ फैलिसकेको रहेछ भने बाहिर पनि त्यो फैलिएला भन्ने डर जायज हो। तर काठमाण्डूबाहिर पो पुगिसक्यो कि भन्ने हामीलाई थाहा छैन।"
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
डा. सुवेदी अहिले सकेसम्म व्यापक रूपमा कोरोनाभाइरसको परीक्षण गरिनुपर्ने बताउँछन्।
"परीक्षण गर्दा पोजीटीभ देखिए आइसोलेसन अर्थात् एक्लाएर राख्ने व्यवस्था कसरी मिलाउने हेर्नुपर्छ," उनले भने।
त्यस्तै उनीहरूसँग सम्पर्कमा आएका व्यक्ति कसरी पहिचान गर्ने भन्नेतर्फ पनि ध्यान केन्द्रित गरिनुपर्ने उनी सुझाउँछन्।
जनस्वास्थ्य अनुसन्धानकर्ता तथा वैज्ञानिक समीर दीक्षित हालको 'असामान्य परिस्थिति'मा 'जो जहाँ छौँ त्यही बसौँ'भन्ने अवधारणा अपनाउनुपर्ने बताउँछन्।
मास्क लगाएर मात्रै यात्रा
आवतजावतबाट कोरोनाभाइरस सर्ने डर हुने भन्दा पनि मास्क लगाएर मात्रै बसको यात्रा गर्न सुझाउनुपर्ने उनी बताउँछन्।
दीक्षित भन्छन्: "विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले भने जस्तै मास्क र स्यानीटाइजर लगायतका वस्तुको प्रयोग तथा अन्य विधिबारे सूचित हुन जरुरी छ।"
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा १८ भारतीय र एक विदेशी तथा उत्तराखण्ड र पश्चिम बङ्गालमा एक-एक जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरण सार्वजनिक भएका छन्।
यस अवस्थामा दुई देशबीच हुने आवागमन अनुगमनमा पनि ध्यान दिइनुपर्ने अवस्था रहेको र त्यसमा सर्वासाधारणहरूले पनि भूमिका खेल्न जरुरी रहेको विज्ञहरू बताउँछन्।
"हामीले दुईदेखि तीन हप्ताका लागि नाकामा रोक लगाउँदा हुन्छ। भारतभन्दा हाम्रो सङ्क्रमण नियन्त्रण राम्रो देखिएको छ," दीक्षितले भने।