एसईई: परीक्षा केन्द्र पुगेका प्रश्नपत्रको सुरक्षाको चिन्ता, डेरामा बसेका विद्यार्थी निराश भएर घर फर्किँदै

एसईई परीक्षा

तस्बिर स्रोत, NATIONAL EXAMINATION BOARD

तस्बिरको क्याप्शन, एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए
    • Author, कृष्णमाया उपाध्याय
    • Role, बीबीसी न्यूज नेपाली, जुम्ला

आजबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित भएपछि परीक्षामा सहभागी हुनका लागि तयार भएका विद्यार्थीहरू निराश भएका छन् ।

विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा सहभागी हुन नपाएको भन्दै दुखेसो पोखेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।

यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।

टाढा टाढाबाट भाडामा कोठा लिएर बस्न थालेको भए पनि घर फर्किनका लागि अब त्यतिकै हतार गर्नु पर्ने अवस्था सिर्जना भएको तिला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सरस्वती माध्यमिक विद्यालय केन्द्रबाट परीक्षामा सहभागी हुन आएकी छात्रा मनीषा शाहीले बताइन् ।

परीक्षामा सहभागी हुने तयारी अनुसार कोठा भाडामा बसिसकेको अवस्थामा अन्तिममा आएर परीक्षा रोकिएको समाचार सुन्दा निकै पिर लागेको उनले बताइन् ।

"परीक्षा हुनु भन्दा एक हप्ता अगाडि सरकारले यस्तो निर्णय गरेको भए हामीले दोहोरो दु:ख खेप्नु पर्ने थिएन," उनले भनिन।

अन्तिममा आएर परीक्षा रोकिँदा आफूहरूलाई झन् समस्या थपिएको जुम्लाकी अर्की परीक्षार्थी बसन्ती चौलागाँइले बताइन्।

आफू मात्र नभएर परीक्षा दिने ठाउँसम्म पुर्‍याउन आएका अभिभावक समेत निराश भएर घर फर्कनु परेको विद्यार्थीहरूले बताएका छन् ।

समाचार नसुनेका कतिपय विद्यार्थीहरू परीक्षा केन्द्रमा आइरहेका हुनाले उनीहरूलाई सरकारले गरेको निर्णयको विषयमा जानकारी गराएर घर फर्काउने काम भइरहेको चन्दननाथ माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रका केन्द्राअध्यक्ष मीनराज शर्माले बताए ।

एसईई
तस्बिरको क्याप्शन, सन् २०१६मा एसईई परीक्षा केन्द्र पुगेका परीक्षार्थी र अभिभावकहरूको भिड। भूकम्प र तराईमा भएका आन्दोलनले विद्यार्थीहरुको पढाइ बिथोलेको चिन्ताका माझ एसएलसी परीक्षामा त्यसबेला ६ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए

प्रश्न पत्र र उत्तर पुस्तिका सुरक्षामा समस्या

कर्णाली प्रदेशको ग्रामीण क्षेत्रमा रहेका परीक्षा केन्द्रमा पुगिसकेका उत्तर पुस्तिका र प्रश्न पत्रको कसरी सुरक्षा गर्ने भन्ने विषयमा समस्या हुन सक्ने शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ ।

प्रश्न पत्र र उत्तर पुस्तिका सबै सम्बन्धित परीक्षा केन्द्रमा पुगिसकेका हुनाले त्यसको सुरक्षाको लागि सम्बन्धित प्रहरीचौकीहरूको सहयोग लिनु भनेर परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई निर्देशन भए पनि भौगोलिक कठिनाइका कारण समस्या भइरहेको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मकर बहादुर भण्डारीले बताए।

सबै स्थानमा विद्यार्थीको अनुपात अनुसार जनशक्ति खटाएको हुनाले त्यही अनुसारको खर्च बेहोर्नु परेको उनको भनाइछ ।

कर्णाली प्रदेशमा रहेका १० वटा जिल्लाबाट झन्डै ३६ हजार परीक्षार्थीहरू परीक्षा केन्द्रमा पुगेको भए पनि अन्तिम अवस्थामा आएर परीक्षा स्थगित भएपछि घर फर्किनु परेको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।