कोरोनाभाइरस: नेपालमा परीक्षण गर्दा 'चरम लापरबाही' भएको आरोपबारे के भन्छ सरकार

स्वास्थ्य मन्त्रालय

तस्बिर स्रोत, MOHP/Twitter

कोरोनाभाइरस परीक्षणका विषयमा 'लापरबाही' भइरहेको भन्दै एक जना बरिष्ठ चिकित्सकले सार्वजनिक मञ्चमा प्रश्न उठाएका बेला स्वास्थ्य मन्त्रालयले भने नेपालमा हालसम्म सङ्क्रमण देखा नपरेको तर चिकित्सकहरूले सुझाए अनुसार आफूहरूले पहल थाल्ने बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटा नेपालमा अहिले विदेशबाट आएका र उनीहरूसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूलाई केही लक्षण देखिए उनीहरूलाई एक्ल्याएर निगरानीमा राखेर (आइसोलेशन) परीक्षण गर्ने गरिएको बताउँछन्।

उनका अनुसार हालसम्म नेपालमा परीक्षणका हिसाबले एक्टीभ सर्भिलेन्स अर्थात् सङ्क्रमणको सम्भावना नरहेकाहरूमध्येका केहीलाई छानेर गरिने परीक्षण गरिएको छैन।

"तर गर्नु पर्छ कि भन्ने सोच्दै छौँ," देवकोटाले भने।

त्यस बाहेक हाल रुघा खोकीको परीक्षण गरिएकाहरूमध्ये केहीमा कोरोनाको पनि परीक्षण गरी राखिएको उनको भनाई छ।

आरोप

एउटा सार्वजनिक मञ्चमा बोल्दै बरिष्ठ डाक्टर सुन्दरमणि दीक्षितले कोरोना भाइरस परीक्षणका विषयमा 'लापरबाही' भइरहेको बताएका थिए।

उनले आफूले परीक्षण गर्नका लागि पठाएकाहरूलाई निकै फितलो रूपमा टेकुस्थित अस्पतालबाट अहिले नै गर्नु पर्ने अवस्था नरहेको भन्दै फिर्ता पठाइएको बताएका थिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

त्यस बाहेक परीक्षण गर्न गएकाहरूका लागि झन्झटिलो कागजी प्रक्रिया राखिएको समेत उनले बताए।

हालसालै दुबई पुगेर फर्किएका व्यक्तिलाई तुरुन्त टेकु जानु भनेर परीक्षण गर्न पठाउँदा, "तपाईँहरू फर्केको १२-१५ दिन भइसकेको रहेछ। परीक्षण गर्नु पर्दैन। तपाईँहरू आफ्नो घाँटी र नाकको स्वाब कहीँबाट मिलाएर हामीकहाँ पठाइदिनुस् भनेर पठाइएछ।"

नेपालमा परीक्षण नै नभएकाले पनि एक जनामा मात्र कोरोनाभाइरस देखिएको भन्ने गरिएको र परीक्षण गर्न आवश्यक पर्ने पूर्वाधार नै नभएको दीक्षितले बताएका थिए।

कोरोना

तस्बिर स्रोत, Getty Images

के भन्छ सरकार?

देवकोटा कुनै पनि चिकित्सकले कोरोनाका लागि परीक्षण गर्न सिफारिस गरिएको अवस्थामा त्यसलाई बेवास्ता गर्न नहुने बताउँछन्।

"उहाँले भनेको कुरा बुझौँला। त्यसको अनुगमन गरौँला," उनले भने। "हामीले परीक्षण गर्ने गरेका छौँ। मलाई लाग्छ त्यो भइरहेको छ।"

नेपालमा हालसम्म कोरोनाभाइरस नदेखिएको कुरामा भने दुई मत नरहेको उनी बताउँछन्।

"भएको भए त देखिन्छ नि। यो त भाइरल इन्फेक्सन हो। लक्षण आउँछ। लक्षण देखिएकाहरूको अवस्था नाजुक हुँदै जान्छ। त्यो हिसाबले नभाको हिसाबमा अहिले छ भन्न सकिन्न। नेपालमा छैन नै भन्छौँ हामी," देवकोटाले भने।

"तर अहिले लक्षण नदेखिएको हो। समुदायमा रहेकाहरूमा भोलि एकै पटक लक्षण देखिन्छ कि भनेर भने हामीले निगरानी गरिरहेका छौँ।"

तयारी अवस्था

क्वारन्टीन

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चीनबाट नेपाल फर्काइएका नेपालीहरूको खरिपाटीस्थित क्वारन्टीनमा रगत र खकारका नमुना परीक्षण गरिएको थियो

सरकारका अनुसार हालसम्म खरिपाटीमा २०० बेड तयार पारेको छ। चीनको उहानबाट नेपाल ल्याइएका नेपालीहरूलाई यस अघि त्यो स्थानमा क्वारन्टीनमा राखिएको थियो।

ती नेपालीहरूलाई लिन गएको विमानको चालक दलका सदस्य तथा टोलीमा रहेका अन्यलाई राखिएको स्थानमा थप ६०-७० जनालाई राख्न सकिने अवस्था छ। त्यस्तै कीर्तिपुर स्थित आयुर्वेद अस्पताल पनि तयारी राखिएको छ।

"तीन सय भन्दा बढीलाई भोलिकै दिन देखि आइसोलेसनमा राख्न सकिने अवस्था छ," उनले भने।

त्यस बाहेक सरकारले आवश्यक सामान खरिद प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिए। काठमाण्डूमा कम्तीमा एक हजार सम्मलाई आइसोलेसनमा राख्न सकिने पूर्वाधार तयार गर्ने गरी प्रक्रिया अघि बढाइएको उनले बताए।

अबको दुई हप्तामा त्यो लक्ष प्राप्तिको नजिक पुगिने उनले बताए।

त्यस्तै काठमाण्डूमा १५५ वटा भेन्टिलेटरसहितका सघन उपचार कक्ष रहेको देवकोटाले जानकारी दिए।

त्यस बाहेक थप २ सय ३५ भेन्टिलेटर खरिद गर्ने प्रक्रिया बढाइएको र पुराना पनि मर्मत गर्ने तयारी थालेको उनले बताए।

Coronavirus
BBC
नेपालमा कोरोनाभाइरस परीक्षण

  • ५२१वटा नमुनाको परीक्षण

  • ५११वटामा सङ्क्रमण देखिएन

  • वटा मात्र सङ्क्रमण देखियो

  • वटाको प्रतिवेदन आउन बाँकी

Source: NPHL

दक्षिण एसियाको अवस्था

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार दक्षिण एशियामा हालसम्म तीन जनाको मृत्यु भएको छ भने तीन सय ९० भन्दा बढी सङ्क्रमित भए।

विश्वभर भने करिब एक लाख ८५ हजार मानिस सङ्क्रमित भएका छन्। त्यस्तै मृत्यु हुनेको सङ्ख्या भने ७ हजार ५०० भन्दा बढी पुगिसकेको छ।

सङ्क्रम(मृत्यु)

भारत१३७ (३)

पाकिस्तान १८५ (०)

श्रीलङ्का २९ (०)

अफगानिस्तान २१ (०)

माल्दिभस १३ (०)

बङ्गलादेश ८ (०)

भुटान १ (०)

नेपाल १ (०)