मलेशियामा दुई वर्षमै कसरी ढल्यो महाथिर मोहम्मद नेतृत्वको सरकार

तस्बिर स्रोत, Getty Images
- Author, जोनाथन हेड
- Role, दक्षिण पूर्वि एशिया संवाददाता
मलेशियामा ६० वर्षदेखि सत्तामा रहेको पार्टी गत निर्वाचितमा पराजित हुँदा त्यसलाई एउटा ऐतिहासिक मानिएको थियो।
तर त्यहाँ दुई वर्षभन्दा कम समयमा सरकार ढलेको छ र त्यही पुरानो पार्टी सत्तामा फर्किएको छ। मलेशियामा परिवर्तनको आशा उत्पन्न गराउने गठबन्धन किन यति चाँडै ढल्न गयो त?
अभूतपूर्व राजनीतिक अस्थिरता र अनिश्चिततापछि मलेशियामा नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गरेका छन्। मुहिइद्दिनका यासिन एक सरल नेता हुन् जसलाई सन् २०१६ मा सत्तामा रहेको यूएमएनओले पार्टीबाट निष्काशित गरेको थियो।
उनले महाथिर मोहम्मद र अन्वर इब्राहिमजस्ता चर्चित नेतासँग मिलेर पाकातान हारापन (पीएच) नामक बहुजातीय गठबन्धन बनाएका थिए।
उनीहरूले भ्रष्टाचारविरुद्धको आक्रोशलाई आफ्नो मुद्दा बनाए। त्यसबाट पहिलो पटक यूएमएनओको नेतृत्वमा रहेको बारिसान नासिओनाल (बीएन) गठबन्धनले पराजित भयो।
तर दुई साताअघि मुहिइद्दिनकाले ३० भन्दा बढी सांसदसँग मिलेर सरकार ढाले र आफ्नो पुरानो पार्टीसँग गठबन्धन गरे।
'विश्वासघात'
"तपाईँहरूलाई दु:खी बनाएकोमा म क्षमा माग्छु। मैले साँच्चिकै उनीहरूलाई रोक्ने प्रयास गरेँ," सन् २०१८ मा जोहोर निर्वाचनक्षेत्रमा मुहिइद्दिनको दलबाट विजयी भएका युवानेता सइद सादिकले ट्वीट गरे।
"यो पूर्ण रूपमा विश्वासघात हो," वकिल तथा अधिकारवादी फादिया नाद्वा फिक्रीले भनिन्। "जनताले यसका लागि मत दिएका होइनन्।"

तस्बिर स्रोत, Getty Images
निर्वाचनका लागि बनेको पाकातान गठबन्धनमा विभिन्न पार्टी थिए। मलेहरूले पुरानो पार्टीलाई समर्थन नगरेर नयाँ गठबन्धनलाई समर्थन गर्नुमा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको भूमिका महत्त्वपूर्ण थियो।
वर्षौँदेखि भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध अभियान चलाउँदै आएका नागरिक समाज सञ्जालहरूले पनि पाकातानलाई समर्थन गरेका थिए।
मतदान दिन अर्थात् २०१८ को मे ९ सम्म बारिसानलाई हराउन सकिन्छ भन्ने कुरामा उनीहरू ढुक्क थिएनन्। तर उनीहरूमा उत्साह थियो।
तत्कालीन प्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोज्मा मान्सरलाई चोरको सङ्ज्ञा दिँदै महाथिर चुनावी अभियानमा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत भएका थिए।
जीवनयापनको बढ्दो खर्च र मूलत: अलोकप्रिय विक्रीकरजस्ता विषयलाई विपक्षीहरूले उठाए। प्राय: सरकारको समर्थनमा रहने मलेहरूको मत तीनतिर अर्थात् बारिसन र पीएएस नाम गरेको इस्लामिक पार्टीमा बाँडियो।

तस्बिर स्रोत, AFP
मतदानकेन्द्रमा यूएमएनओको सदस्यतापत्र देखाइरहेका तर विपक्षीहरूलाई भोट हाल्छौँ भन्ने मतदाताहरू भेट्दा केही परिवर्तन हुन लागेको सङ्केत देखिएको थियो।
नजिबले चुनाव हारेपछि हर्षोत्सव मनाइएको थियो। आफ्नो पार्टीबाट निर्वाचन हार्ने उनी पहिलो प्रधानमन्त्री थिए।
त्यसो भए पाकातान गठबन्धनले बनाएको सरकारमा के मिलेन?
आन्तरिक सङ्घर्ष
यो गठबन्धनको यात्रा सहज थिएन। महाथिर र अन्वरबीच विगत तीन दशकअघिदेखि तिक्ततापूर्ण सम्बन्ध थियो।
उनी कुनै बेला महाथिरका घोषित उत्तराधिकारी थिए। तर आफ्नो जेलजीवनको पहिलो पाँच वर्षका लागि महाथिरलाई जिम्मेदार भएको अन्वरको आरोप थियो।

तस्बिर स्रोत, Getty Images
तर ती दुईले तिक्तता मेटे अनि चुनाव जिते निर्वाचन अभियानको नेतृत्व गरेका महाथिर प्रधानमन्त्री बन्ने कुरामा सहमति गरे।
सहमतिमा दुई वर्षपछि प्रधानमन्त्रीको पद अन्वरलाई हस्तान्तरण गर्ने उल्लेख थियो। तर त्यो ठ्याक्कै कहिले हुन्छ र कसरी गरिन्छ भन्ने कुरा स्पष्ट थिएन।
गठबन्धनमा व्यक्तित्वको लडाइँ पनि थियो। र उनीहरूबीच नराम्रो आर्थिक परिस्थितिसँग कसरी सङ्घर्ष गर्ने भन्ने विषयमा पनि फरक मत थियो।
जातीय राजनीति
सन् १९५७ मा स्वतन्त्र भए देखि नै मलेशियामा जातीय राजनीति हाबी छ।

तस्बिर स्रोत, Getty Images
देशमा मलेहरूको जनसङ्ख्या आधाभन्दा बढी छ। सबैभन्दा ठूलो सङ्ख्यामा रहेका अल्पसङ्ख्यकमा चिनियाँहरू पर्छन्।
उनीहरू ब्रिटिश औपनिवेशिक शासनका बेला मलेशिया आएका थिए। सन् १९६९ मा भएका जातीय दङ्गाले सरकारलाई मलेहरूको पक्षमा नीति बनाउन प्रेरित गरेको थियो।
यूएमएनओले आफूलाई मलेहरूलाई हेर्ने पार्टीका रूपमा परिभाषित गर्यो। सन् १९८० को दशक देखि १९९० को दशकसम्म महाथिरको २२ वर्षे शासनमा मलेहरूप्रति उदार परियोजना देखिएका थिए। ती आशालाग्दो निर्यातकेन्द्रित वृद्धिमा आधारित थिए।
दुर्बल पक्ष भनेको बढ्दो नातावाद र भ्रष्टाचार थियो। तर पनि मलेहरू अझै पनि सरकारी उदारताको आशा राख्छन्।
अल्पसङ्ख्यक चिनियाँहरूको समेत प्रतिनिधित्व रहेको पाकातानले त्यो उदारता राख्दैन भन्ने डरले गर्दा पनि मलेहरूमा आंशिक रूपमा उनीहरूप्रति समर्थन घट्यो।
एउटा सानो क्याफे बनाइरहेका मोहम्मद अमिन आफू र आफ्ना छिमेकी मलेहरूलाई पहिले जस्तो ध्यान नदिइएको महसुस भएको बताउँछन्।

तस्बिर स्रोत, Getty Images
मोहम्मद तार्मिजीका अनुसार गरिबहरूले जीवनयापनका लागि लाग्ने खर्च धान्न सकिरहेका छैनन्।
राज्यकोषबाट ठूलो परिमाणमा रकम हराएको र त्यसको केही भाग नजिबको व्यक्तिगत ब्याङ्कखातामा रहेको खुलासाले यूएमएनओको प्रतिष्ठामा धक्का लागेको भए पनि अर्थतन्त्रको अवस्थाबारे सर्वसाधारणहरूको असन्तुष्टिलाई उक्त पार्टीले मुद्दाका रूपमा उठायो।
उपनिर्वाचनमा छमध्ये पाँचमा पाकातान आश्चर्यजनक रूपमा पराजित भएको छ।
यसैबीच प्रधानमन्त्री पदका विषयमा विवाद सुरु भयो।
अन्वर र उनका समर्थकहरूले आगामी मे महिनामा सत्ता सम्हालेको दुई वर्ष पुग्ने भन्दै पद हस्तान्तरण गर्नका लागि मिति तोक्न दबाव दिए। तर महाथिरले त्यसो गर्न अस्वीकार गरे। अन्वरको समूह मौन बस्यो।
गठबन्धनमा बढिरहेको तनावले मुहिइद्दिनलाई छुट्टिएर अर्को पक्षसँग मिल्न प्रेरित गर्यो।
पछिल्लो ४० वर्षमा मलेशियामा देखा परेका सङ्कटमा जस्तै जे भइरहेको छ त्यो सब महाथिरले आफ्ना लागि गरिरहेका छन् भन्ने धारणा मलेशियाभित्र र बाहिर बनाइयो।
राजाको भूमिका
सबैलाई चकित पार्नेगरी उनले राजीनामा दिए। धेरै दलले उनलाई सत्ता नछाड्न आग्रह गर्दै आफ्नो समर्थन रहेको बताए।

तस्बिर स्रोत, Getty Images
अन्वरले पनि आफ्ना समर्थकहरूलाई उनकै शब्दमा "गठबन्धनविरुद्ध भएको कू'मा महाथिरको हात नरहेको बताएका थिए।
तर सप्ताहान्तसम्ममा ९४ वर्षीय महाथिरको आकलन गलत भएको स्पष्ट भइसकेको थियो।
मलेशियाका संवैधानिक राजा अब्दुल्लाले नयाँ सरकार गठन गर्न चाहिने सङ्ख्या मुहियिद्दिनसँग रहेको भन्दै उनलाई मलेशियाको आठौँ प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराइने घोषणा गरे।
महाथिरले यसलाई चुनौती दिएका छन्। संसद् सञ्चालन भएपछि उनले नयाँ सरकार ढाल्ने प्रयास गर्न सक्छन्।
तर पद र संवैधानिक राजतन्त्रको समर्थन मुहिइद्दिनका लागि लाभजनक हुन सक्छ।
"राजाले राजनीतिक निर्णय लिन मिल्दैन," न्याश्नल यूनिभर्सिटी अफ सिङ्गापुरका मुस्तफा इज्जुद्दिन भन्छन्।
"तर उनले कुरा नमिल्ने पक्षहरूलाई एक ठाउँमा ल्याएर इमानदार मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छन्। यस्तो अवस्थामा पनि मलेशियामा त्यस्तो गर्नु राजाका लागि अभूतपूर्व हो।"
"तर मलेशियाको राजनीति नयाँ स्थानमा छ। जसका कारण क्रान्तिकारी विधि आवश्यक परेको हुन सक्छ। अनि राजाले मुहिइद्दिनलाई सबैभन्दा विश्वासयोग्य स्थिर पात्रका रूपमा हेरेको हुन सक्छ।"
मलेशियाका सुल्तानहरूसँग महाथिरको द्वन्द्व भएको इतिहास छ। त्यसले गर्दा पनि राजाको निर्णय प्रभावित भएको हुन सक्छ।
सन् १९८३ र सन् १९९३ मा उनले राजाको अधिकार निर्धारण गर्नेगरी संवैधानिक परिवर्तनका लागि वकालत गरेका थिए।











