मलेशिया: रजाकविरुद्ध सम्पत्ति शुद्धीकरण, अधिकार दुरुपयोगका २५ अभियोग

नजिब रजाक

तस्बिर स्रोत, Reuters

मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकलाई करोडौँ डलरको एउटा भ्रष्टाचारकाण्डमा सम्पत्ति शुद्धीकरणसम्बन्धी २१ वटा अभियोग लगाइएको छ।

बिहीवार उनलाई एउटा अदालतमा राज्यकोषबाट सञ्चालित 'वनएमडीबी' परियोजनाबाट ५५.६ करोड डलर आफ्नो ब्याङ्क खातामा सारेको अभियोग लगाइएको हो।

प्रधानमन्त्रीको पदमा हुँदा अधिकार दुरुपयोग गरेको भन्दै रजाकविरुद्ध चारवटा अरू अभियोग पनि दर्ता भएका छन्।

रजाकले २५ वटै अभियोग अस्वीकार गर्दै आफू दोषी नभएको दाबी गरेका छन्।

गत अगस्ट महिनामा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा अभियोग लगाइएको थियो।

आफू पदासीन हुँदा रजाकलाई उनले तथा उनका परिवारका सदस्य र केही सहयोगीहरूले ठूलो रकम हिनामिना गरेको आरोप लागेको छ।

उनीहरूले कलात्मक वस्तुदेखि देशविदेशमा घरजग्गासम्म किनेको बताइन्छ।

यस्ता आरोपकै कारण केही महिनाअघि सम्पन्न निर्वाचनमा रजाकले पराजय बेहोर्नुपर्‍यो।

निर्वाचनमा जितेर ९३ वर्षीय महाथिर मोहमद पुन: देशको प्रधानमन्त्री बनेका छन्।

के हो वनएमडीबी प्रकरण?

क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए।

वनएमडीबी

तस्बिर स्रोत, Reuters

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन्।

सो कोषमा करोडौँ डलरको लेखाजोखा छैन।

सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले रजाकलाई सफाइ पनि दिएका थिए। तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको छ।

पक्राउ र छापा

निर्वाचनपछि उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको थियो। पछि जुलाई महिनामा उनलाई पक्राउ गरियो।

त्यसअघि रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले छापा मारेको थियो।

रजाक र मान्सरका गहना

तस्बिर स्रोत, EPA

प्रहरीले छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद भेटेको थियो। तिनमा गरगहनाको भाग ठूलो थियो।

प्रहरीका अनुसार बरामद भएका सामग्रीमा १६ लाख डलर पर्ने हीरा र सुनको एउटा कण्ठहार तथा ५६७ वटा महिलाले हातमा बोक्ने झोला र तिनमा राखिएका तीन करोड अमेरिकी डलर, चार सय २३ वटा घडीहरू र दुई सय ३४ वटा चस्मा थिए।

महँगा सामान किनमेल गर्ने रोज्माको बानी र उनको ब्रान्डेड सामग्रीप्रतिको मोहबारे पहिला पनि चर्चा हुने गर्थ्यो।

उनलाई फिलिपिन्सका भूतपूर्व निरङ्कुश शासक फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्डा मार्कोससँग तुलना गर्ने गरिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मलेशियामा ९२ वर्षीय प्रधानमन्त्री