मलेशिया: भ्रष्टाचारकाण्डमा पूर्वप्रधानमन्त्री रजाक पक्राउ

रजाक

तस्बिर स्रोत, Reuters

मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाक एउटा ठूलो भ्रष्टाचारकाण्डमा पक्राउ परेका छन्।

उनलाई बुधवार औपचारिक रूपमै अभियोग लगाइनेछ।

लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य विकास कोष संलग्न भएको 'वनएमडीबी' नामक एउटा कोषबाट ७० करोड अमेरिकी डलर कुम्ल्याएको आरोप छ।

उनले स्थापना गरेको सो कोषमा करोडौँ डलरको लेखाजोखा छैन।

गत मे महिनामा भएको निर्वाचनमा पराजय भोगेपछि उनीमाथि अनुसन्धान थालिएको थियो।

आफूले अनुचित काम नगरेको उनको दाबी छ।

वनएमडीबीको विशेष कार्यदलद्वारा जारी गरिएको एउटा विज्ञप्तिमा सो परियोजना अधीनस्थ एसआरसीसँग सम्बन्धित विषयमा रजाकलाई मङ्गलवार स्थानीय समयानुसार दिउँसो २:३५ बजे उनकै निवासबाट पक्राउ गरिएको उल्लेख छ।

क्वालालम्पुर उच्च अदालतमा बुधवार ८:३० बजे उनीविरुद्ध अभियोग दर्ता हुनेछ।

बरामद गरगहना

तस्बिर स्रोत, EPA

छापा

रजाक र उनकी पत्नी रोज्मा मान्सरसँग सम्बन्ध देखिएका स्थानहरूमा प्रहरीले केही हप्तादेखि छापा मार्दै आएको थियो।

प्रहरीले गत हप्ता छापा मार्दा २७.३ करोड अमेरिकी डलर मूल्य भएका विलासिताका सामग्री र नगद बरामद गरेको जनाएको छ।

मलेशियाको इतिहासमा बरामद गरिएको ती सबैभन्दा मूल्यवान् सामग्री भएको बताइन्छ।

रजाक र उनकी पत्नी रोज्मा मान्सर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रजाककी पत्नी रोज्मा मान्सरलाई इमेल्डा मार्कोससँग तुलना गर्ने गरिन्छ।

तिनमा गरगहनाको भाग ठूलो थियो। हीरा र सुनको एउटा गलहारको मूल्य नै १६ लाख अमेरिकी डलर पर्छ।

प्रहरीका अनुसार बरामद भएका अन्य सामग्रीमा ५६७ वटा हातेझोला र तिनमा राखिएका तीन करोड अमेरिकी डलर, चार सय २३ वटा घडीहरू र दुई सय ३४ वटा चस्मा थिए।

बरामद भएका सामग्री गन्न र तिनको मूल्याङ्कन गर्न पाँच हप्ता लागेको एक अधिकारीले बताए।

महँगा सामान किनमेल गर्ने रोज्माको बानी र उनको ब्रान्डेड सामग्रीप्रतिको मोहबारे पहिला पनि चर्चा हुने गर्थ्यो। उनलाई फिलिपिन्सका भूतपूर्व निरङ्कुश शासक फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्डा मार्कोससँग तुलना गर्ने गरिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मलेशियामा ९२ वर्षीय प्रधानमन्त्री

भ्रष्टाचार प्रकरण

रजाकले सधैँ भ्रष्टाचारको आरोपको खण्डन गर्ने गरेका छन्। सत्तारूढ हुँदा सम्बन्धित निकायहरूले उनलाई सफाइ पनि दिएका थिए।

तर उनीविरुद्ध केही देशमा अनुसन्धान हुँदै आएको छ।

उनलाई देश छोड्न प्रतिबन्ध लगाइएको छ।

वनएमडीबी

तस्बिर स्रोत, Reuters

क्वालालम्पुरलाई एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा रजाकले वनएमडीबी स्थापना गरेका थिए।

तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि सो परियोजनाबारे संशय व्यक्त हुन थालेको थियो।

त्यति बेला नै वाल स्ट्रीट जर्नलले सो कोषबाट ७० करोड डलर रजाकका निजी ब्याङ्क खाताहरूमा सारिएको कागजपत्र आफूले फेला पारेको भनेर विवरण प्रकाशित गरेको थियो।

तर रजाकले कुनै पनि सार्वजनिक कोषबाट आफूले पैसा नलिएको दाबी गर्दै आएका छन्।