मलेसिया: प्रधानमन्त्री रजाकद्वारा संसद् भङ्ग

तस्बिर स्रोत, AFP
मलेसियाका प्रधानमन्त्री नजिब रजाकले संसद् विघटन गरेको घोषणा गरेका छन्।
उनको यस कदमले आमनिर्वाचनको लागि मार्ग प्रशस्त भएको छ।
अब हुने निर्वाचनमा उनका भूतपूर्व राजनीतिक गुरु एवम् पूर्वप्रधानमन्त्री महाथिर मोहमदले रजाकलाई चुनौती दिने अपेक्षा गरिएको छ। महाथिरको उमेर नब्बे वर्षभन्दा माथि छ।
उनले सन् २००३ मा प्रधानमन्त्रीको पद छोडेका थिए।
प्रधानमन्त्रीका रूपमा उनले दुई दशकभन्दा बढी समय सत्ता चलाएका थिए।

तस्बिर स्रोत, Reuters
नयाँ निर्वाचन
मलेसियामा संसद् भङ्ग भएको ६० दिनभित्र निर्वाचन भइसक्नु पर्ने प्रावधान रहेको छ।
मलेसियाको निर्वाचन आयोगले एक साताभित्र निर्वाचनको मिति तोक्ने छ।
सम्वाददाताहरूका अनुसार एउटा सरकारसँग सम्बन्ध भएको लगानी कम्पनीमा भएको भनिएको अर्बौँ डलरको भ्रष्टाचार काण्डले रजाकको लोकप्रियतामा असर पुगेको छ।
तर रजाकले आफूले केही गलत कार्य नगरेको बताउँदै आएका छन्।








