सेक्युरिटी प्रिन्टिङ प्रेस: मन्त्री गोकुल बाँस्कोटा विवादमा तानिएपछि खरिदसम्बन्धी सबै प्रक्रिया रोक्न लेखा समितिको निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषय विवादमा परेको भन्दै संसद्‌को सार्वजनिक लेखा समितिले त्यससम्बन्धी सबै प्रक्रिया तत्कालका लागि स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ।

उक्त प्रेस खरिदको विषयमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा विवादमा परेपछि उक्त संसदीय समितिले यस्तो निर्णय गरेको हो।

"सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा यसअघि पनि थुप्रै विषय उठेका थिए। आज समितिमा सञ्चारमन्त्रीको अडिओबारे पनि कुरा उठ्यो," सङ्घीय संसद्का प्रवक्ता एवं समितिका सदस्यसचिव रोजनाथ पाण्डेले बीबीसीसँग भने, "त्यसैले अर्को निर्णय नहुँदासम्मका लागि हामीले यो प्रक्रियालाई अगाडि नबढाउन पत्राचार गर्ने निर्णय गरेका छौँ।"

मन्त्री बाँस्कोटाले घुस मागेको भनिएको अडिओसहितका विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य दलले उनलाई पदबाट हटाउनुपर्ने माग राखेका छन्।

लेखा समितिमा के भयो?

सेक्युरिटि प्रेस खरिद प्रक्रिया अझ शङ्कास्पद देखिएकाले थप छानबिन आवश्यक देखिएको पाण्डेले बताए।

समितिमा उक्त प्रिन्टिङ प्रेस खरिदको विषयमा खुला प्रतिस्पर्धा गरेको नदेखिएको आदि विषय सांसदहरूले उठाएका थिए।

ती विषयमा उत्तर दिन बिहीवार सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी र सुरक्षा मुद्रण केन्द्रका कार्यकारी अधिकृत पनि समितिमा पुगेका थिए।

तर त्यस विषयमा भएका प्रश्नोत्तरमा समितिका सदस्यहरूले चित्त नबुझाएको पाण्डेले बताए।

सञ्चारमन्त्री बाँस्कोटा भने समितिको बैठकमा उपस्थित थिएनन्।

घटना कहिलेको हो?

स्विस कम्पनीका नेपालस्थित प्रतिनिधि विजयप्रकाश मिश्रसँग भएको भनिएको संवादमा बाँस्कोटाले प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा घुस मागेको झन्डै साढे दुई मिनट लामो श्रव्य सामग्री बुधवार अपराह्ण हाम्राकुरा डट कमबाट सार्वजनिक भएको थियो।

मिश्रले 'मन्त्री बाँस्कोटासँगको उक्त कुराकानी डेढ वर्षअघि नै भएको' बीबीसीलाई बताएका छन्।

यो पनि पढ्नुहोस्

स्विस कम्पनीका नेपाल प्रतिनिधि भनिएका विजयप्रकाश मिश्रले सरकारका प्रवक्तासँग कमिसनबारे गरेको कुराकानी डेढ वर्षअघि नै भएको बताएका छन्।

गत पुसको पहिलो साता स्वीस कम्पनीलाई खरिद प्रक्रियाबाट हटाउने विषय बाहिर आएपछि मिश्रले नै लेखा समितिमा सेक्युरिटी प्रिन्टिङको विषयमा उजुरी हालेको बताइएको छ।

मिश्रले बीबीसीसँग भने, "तपाईँहरूले अडिओमा जे सुन्नुभयो साँचो कुरा त्यही हो। डेढ वर्षअघि त्यो कुरा हुँदा हामीले उहाँलाई प्रस्ताव गरेका होइनौँ, उहाँले नै हो।"

के हो सेक्युरिटी प्रिन्टिङ प्रेस?

स्वदेशमै सुरक्षित रूपमा मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नेपाल सकारले निर्णय गरेको थियो।

प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, ब्याङ्कका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै गर्न सकिने बताइन्छ।