तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: बेइजिङ फर्कनेलाई अनिवार्य १४ दिनको क्वारन्टीन
बेइजिङ फर्कने जोसुकै व्यक्ति १४ दिनको क्वारन्टीनमा जानुपर्ने नत्र दण्डको भागी हुने खतरा रहने चीनका राज्य नियन्त्रित समाचार माध्यमले जनाएका छन्।
बिदाबाट फर्केका बासिन्दाहरूलाई "स्व-क्वारन्टीनमा जान वा सरकारी क्वारन्टीनका लागि तय गरिएका स्थलहरूमा जान भनिएको छ।"
अफ्रिका महादेशमै पहिलोपटक इजिप्टमा पहिलो कोरोनाभाइरस भएको पुष्टि भएका बेला यो नियम लगाइएको छ।
वुहान शहरमा उत्पन्न भएको कोरोनाभाइरसको सङ्क्रमणबाट अहिलेसम्म १,५०० जना मानिसको मृत्यु भइसकेको छ।
चीनमा अन्य भागबाट मानिसहरू चिनियाँ नयाँ वर्षको बिदा मनाएर फर्कन थालेपछि बेइजिङस्थित भाइरसबाट बचाउका लागि काम गरिरहेको समूहले यो सूचना जारी गरेको हो।
यो प्रकोप नियन्त्रण गर्न बिदाको समय बढाइएको थियो।
बेइजिङमा दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन्।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिवार १४३ नयाँ मृत्यु भएर कुल १,५२३ जनाको मृत्यु भएको जनाएको छ। चारबाहेक अरू सबै नयाँ मृत्यु भएकाहरू कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित हुबे प्रान्तका हुन्।
नयाँ २,६४१ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि कुल सङ्क्रमण हुनेको सङख्या ६६,४९२ पुगेको छ।
मुख्य भूमि चीन बाहिर २४ देशमा ५०० जनामा सङ्क्रमण भएको र हङ्कङ, फिलिपिन्स र जापानमा एक-एक गरी तीनजनाको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनको नेतृत्वमा चीनमा एउटा समूहले यो सप्ताहन्तदेखि प्रकोपमाथि अनुसन्धान थाल्नेछ।
कोभिड-१९ भन्ने नाम दिइएको भाइरस कसरी फैलिरहेको छ र स्थिति कत्तिको गम्भीर छ भन्ने अध्ययन गरिने डब्लुएचओ प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने।
अन्तर्राष्ट्रिय विज्ञ सहितको टोलीले १,७०० भन्दा बढी स्वास्थ्यकर्मीहरूको कसरी र कहिले सङ्क्रमित भए भन्ने पनि अनुसन्धान गर्नेछ।
समूहमा १२ जना अन्तर्राष्ट्रिय सदस्य र १२ जना चिनियाँ समकक्षीहरू हुनेछन्।
डब्लुएचओका माइक रायनले भने, "भाइरस फैलिनुको कारण खोज्न त्यसको गम्भीरता बुझ्न र अहिले त्यसलाई नियन्त्रण गर्न अवलम्बन गरिएका उपायहरूको असरमा अध्ययन केन्द्रित हुनेछ।"