तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस रोक्न त्रिभुवन विमानस्थलमा 'उच्च सतर्कता'
दैनिक हजारौँ मानिसहरू नेपाल भित्रिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ भाइरसको सङ्क्रमण देशमा भित्रिन नदिन उच्च सतर्कता अपनाइएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार 'थर्मल स्क्यान' भनिने यन्त्र जडान गरेर विदेशबाट काठमाण्डू आइपुग्ने यात्रुको स्वास्थ्य परीक्षण गर्ने क्रममा ज्वरो आए-नआएको हेर्ने गरिएको छ।
विमानस्थललाई 'उच्च सतर्कता'मा राख्दै कर्मचारीहरूलाई मास्क वितरण गरेको र कोरोनाभाइरसको जोखिमबाट बच्ने उपाय सिकाइएको उनीहरू बताउँछन्।
चीनमा ८० जनाको ज्यान लिइसकेको कोरोनाभाइरसबाट अहिलेसम्म ३,००० जना सङ्क्रमित भएको पुष्टि भइसकेको छ।
नेपालमा पनि कोरोनाभाइरसको सङ्क्रमण भएका व्यक्ति फेला परेको पुष्टि भएको छ।
विमानस्थलमा उच्च सतर्कता किन?
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल ठूलो सङ्ख्यामा विदेशबाट मानिस नेपाल भित्रिने एक प्रमुख नाका हो।
अध्यागमन विभागका अनुसार त्यहाँबाट दैनिक ६,००० देखि ७,००० मानिस नेपाल भित्रिने गरेका छन्।
पाँचवटा चिनियाँसहित २७ अन्तर्राष्ट्रिय वायुसेवाहरूले विमानस्थलबाट दैनिक ४५ भन्दा बढी उडान सञ्चालन गर्छन्।
नेपालको हिमालय एअरलाइन्सले पनि चिनियाँ सहरहरूमा उडान गर्दै आएको छ।
त्रिभुवन विमानस्थलमा २०७० सालदेखि यात्रुको स्वास्थ्यको जाँच गर्न र उनीहरूले सरुवा रोग भित्र्याए-नभित्र्याएको निगरानी गर्न एउटा विशेष हेल्थ डेस्क राखिएको छ।
कसरी गरिँदैछ निगरानी?
अधिकारीहरूका अनुसार विमानस्थलको यात्रु प्रवेश कक्षमा केही वर्षअघि अफ्रिकाबाट इबोला भाइरस भित्रिन सक्ने जोखिम कम गर्न स्थापना गरिएको स्वास्थ्य डेस्कमार्फत् नै कोरोनाभाइरस सङ्क्रमण फैलिने जोखिम घटाउने प्रयास तीव्र बनाइएको छ।
डेस्कका अतिरिक्त विमानस्थलको यात्रु आगमन कक्षमा यात्रुलाई ज्वरो आए-नआएको मापन गर्ने थर्मल स्क्यान समेत जडान गरिएको डेस्कका संयोजक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका गोपाल पाण्डेले बीबीसी न्यूज नेपालीलाई बताए।
उनले भने, "हामीले सबै यात्रुलाई अनिवार्य त्यो थर्मल स्क्यानमा मापन गराएर मात्रै नेपाल भित्रिन अनुमति दिने गरेका छौँ। हामीसँग अहिले स्रोत र साधनको कमी छैन।"
उनका अनुसार स्वास्थ्य डेस्कका कर्मचारीहरूलाई पनि आवश्यक सुरक्षा उपकरणहरू दिइएको छ।
निगरानीमा के भेटियो?
पाण्डेका अनुसार शङ्का लाग्नेबित्तिकै बिरामी यात्रुलाई अन्य यात्रुबाट अलग गराउने गरिएको छ।
उनले भने, "कसैलाई कोरोनाभाइरस सङ्क्रमण भएको शङ्का लागेमा हामीले बिरामी यात्रुलाई फरक बाटोबाट बाहिर लगेर टेकु अस्पताल पुर्याउने गरेका छौँ।"
"हिजो मात्रै चीनबाट नेपाल उत्रिएका एक अमेरिकी यात्रुलाई ज्वरो आइरहेको थाहा पायौँ। त्यसपछि हामीले उहाँलाई धावनमार्गको बाटो बाहिर निकालेर टेकु लग्यौँ।"
विमानस्थल कति सुरक्षित?
त्रिभुवन विमानस्थलस्थित अध्यागमन विभागका अधिकारी रुद्रनाथ देवकोटाका अनुसार विमानस्थलमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम उच्च भएकोले त्यसलाई 'उच्च सतर्कताको अवस्थामा' राखिएको बताए।
उनका अनुसार त्यहाँ खटिएका सबै कर्मचारीलाई मास्क वितरण गरिएको छ।
साथै कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सबैलाई सुरक्षित व्यवहार अपनाउन निर्देशन दिइएको छ।
देवकोटाले बीबीसी न्यूज नेपालीसँग भने, "छिउँ गर्दा वा खोक्दा मुख छोप्ने, साबुनपानीले हात धोइराख्ने र हात नमिलाउने जस्ता नियम हामीले पालना गरिरहेका छौँ।"
"सङ्क्रमणबाट सुरक्षित रहन हामीले सबै उपाय अपनाएका छौँ।"