तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३ औँ दक्षिण एशियाली खेलकुद: गौरिका सिंहले जितिन् चौथो स्वर्ण पदक
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
पौडीको १०० मिटर फ्रि-स्टाईलमा गौरिका सिंहले स्वर्ण पदक जितेर नेपालको खेलकुद इतिहासमा नयाँ कीर्तिमान बनाएकी छन्।
यो १७ वर्षीया सिंहको १३ औँ दक्षिण एशियाली खेलकुद सागमा चौथो स्वर्ण पदक हो।
यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन्।
गौरिकाको चौथो स्वर्ण पदक
सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा सिंहले १०० मिटर फ्रि-स्टाईल ५८.१३ सेकेन्डमा पूरा गरिन्।
उनले भारतीय शिवाङ्गी शर्माले ०.०२ सेकेन्डले पछाडि पारिन्।
यो पदकसँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४९ पुगेको छ।
बक्सिङमा दुई स्वर्ण
नेपालले १३औँ सागको बक्सिङमा सोमवार दुईवटा स्वर्ण पदक जितेको छ।
भुपेन्द्र थापा मगरले भारतका मनिष कौशिकलाई ६४ केजी तौल समूहमा अङ्कका आधारमा हराउँदै नेपालको ४७ औँ स्वर्ण पदक जितेका हुन्।
यसअघि महिलातर्फ ५४ केजी तौल समूहमा मिनु गुरुङले भारतकी शिक्षालाई फाइनलमा ५-० अङ्कले हराएर स्वर्ण पदक जितेकी हुन्।
त्यस्तै सोमवार जुडोमा ७८ केजी मुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।
उनले फाइलनमा बङ्ग्लादेशकी फरिना खनोम पराजित गरेकी हुन्।
तीन फाइनलमा भारतसँग पराजित
सोमवार नेपाल तीन खेलका फाइनलमा भारतसँग पराजित हुँदै रजत पदकमा सीमित भयो।
महिला फुटबलमा पोखरा रङ्गशालामा भएको खेलमा भारत २-० ले विजयी भयो।
भारतका लागि बाला देवीले पहिलो र दोस्रो हाफमा एक-एक गोल गरिन्।
इतिहास रच्दै सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपाली महिला कबड्डी टोली पनि भारतसँग पराजित भएको छ।
काठमाण्डूमा भएको फाइनलमा ५०-१३ ले पराजित भएको हो।
त्यस्तै काठमाण्डूमै भएको थ्री बाई थ्री बास्केटबलमा नेपालको पुरुष टोली भारतसँग २०-१५ ले पराजित भयो।
सागको पदक-तालिकामा भारत शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।