तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३औँ दक्षिण एशियाली खेलकुदः गौरिका सिंहले पौडीमा दिलाइन् अर्को स्वर्ण पदक
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
१३औँ दक्षिण एशियाली खेलकुदमा गौरिका सिंहले दुई सय मिटर ब्याक स्ट्रोकमा शुक्रवार स्वर्ण पदक जितेकी छन्।
यसअघि बिहीवार उनले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जितेकी थिइन्।
शुक्रवार नै नेपालले भारोत्तोलनमा एउटा स्वर्ण पदक पाएको छ। योसँगै नेपालको स्वर्ण पदक सङ्ख्या ४१ पुगेको छ।
८९ किलो तौल समूहमा विकास थापाले स्वर्ण जितेका हुन्। उनले स्न्याचमा १२३ किलो र क्लिन एन्ड जर्कमा १४६ किलोभन्दा बढी भार उचालेका थिए।
पदक
विकासले बाङ्ग्लादेशका प्रतिद्वन्द्वीले भन्दा एक किलो बढी भार उचालेका थिए।
शुक्रवार नै गल्फमा सुवास तामाङले पुरुष एकल र नेपाली टोलीले पुरुष टिम स्पर्धामा स्वर्ण जितेका छन्।
तामाङले चार दिनको खेलपश्चात् १४ अन्डर २७४ अङ्क प्राप्त गर्दै स्वर्ण जितेका हुन्।
यस स्पर्धामा बाङ्ग्लादेशका मोहम्मद फर्हादले छ अन्डर २८२ अङ्क प्राप्त गरेभने नेपालका शुक्रबहादुर राईले चार अन्डर २८४ अङ्क प्राप्त गर्दै काश्य हात पारे।
त्यस्तै टिम स्पर्धामा नेपालका तामाङ, राई, निरज तामाङ र टङ्कबहादुर कार्कीले चार अन्डर ८६० अङ्क खेल्दै स्वर्ण जितेका हुन्।
शुक्रवार बिहान गोपीचन्द पार्कीले शुक्रवार बिहान ५,००० मिटर दौड १४ मिनेट ५४:२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका छन्।
सो प्रतिस्पर्धामा भारतीय खेलाडी सुनिल दावाले रजत जिते। उनले १४ मिनेट ५५:२१ मा दौड पूरा गरे।
नेपालकै हरि रिमालले १४ मिनेट ५७:०५ सेकेन्ड समय निकाल्दै काश्य पदक जिते।
पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो।
यसअघि राजेन्द्र भण्डारीले सो दूरीमा सन् २००६ को दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए। तर पछि डोपिङमा परेपछि उनको पदक खोसिएको थियो।
कुस्तीमा भारत अगाडि
दक्षिण एशियाली खेलकुद अन्तर्गत नै शुक्रवारदेखि जनकपुरधाममा सुरु भएको कुस्ती प्रतियोगितामा भारतले पहिलो दिनमै चारवटा स्वर्ण पदक जितेको छ।
पहिलो दिनको चारवटा तौल समूहको खेलमा भारतकै खेलाडीहरूले स्वर्ण पदक जितेका छन्।
नेपालले भने एक रजत र तीन कास्य पदक हात पारेको छ ।
पहिलो दिनको खेलमा श्रीलङ्काले तीनवटा रजत र एउटा कास्य पदक जितेको छ।