दक्षिण एशियाली खेलकुदः पौडीमा गौरिकालाई ऐेतिहासिक स्वर्ण, नेपालको स्वर्ण पदक सङ्ख्या ३६

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

गौरिका सिंहले दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्दै पौडीको व्यक्तिगत विधामा स्वर्ण पदक जित्ने पहिलो खेलाडीको इतिहास रचेकी छन्।

१३ औँ दक्षिण एसियाली खेलकुदको पाँचौँ दिन उनले सातदोबाटो पौडी पोखरीमा उक्त कीर्तिमान बनाएकी हुन्।

उनले उक्त दूरी २ मिनेट ०५:०६ सेकेन्डमा पूरा गरेकी हुन्।

यसअघि नेपालले आठौँ सागमा टिम इभेन्ट्स स्वर्ण जितेको थियो। स्वर्ण पदक जित्ने उक्त टोलीका खेलाडीहरू नयना शाक्य, रुना प्रधान, रुबिना प्रधान र स्तुति सिंह हुन्।

चार गुणा एक सय मिटरको मिड्ले रिलेबाट प्राप्त भएको उक्त स्वर्णमा खासमा नेपाली टोली तेस्रो स्थान हात पारेको थियो।

तर पहिलो र दोस्रो स्थान हात पारेको दुवै टोली अयोग्य भएपछि नेपाल भाग्यमानी बन्दै स्वर्ण पाएको थियो।

तर गौरिकाको हकमा त्यस्तो भएन।

लन्डनमा कडा मेहनत गरेर नेपाल आएकी गौरिकाले सबै प्रतिद्वन्द्वीलाई उछिनेर स्वर्ण जितिन्।

तेह्र वर्षको उमेरमा ओलिम्पिक खेलेर चर्चा बटुलेकी गौरिकाले भारतको गुवाहटीमा भएको १२ औँ सागमा पनि २०० मिटर मिड्लेमा रजत पदक जितेकी थिइन्।

दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा दुवाना लामाले रजत पदक जितेकी छिन्।

भारोत्तोलनमा इतिहास

सञ्जु चौधरीले ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेपछि महिला भारोत्तोलनमा अर्को इतिहास रचेकी छिन्।

उनले कुल स्न्याच तर्फ ७४ केजी र क्लिन एण्ड जर्कमा ९७ केजी सहित कुल १ सय ७१ केजीको भार उठाएपछि उनि भारोत्तोलनमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्।

तेक्वान्दो र उसुमा थप एक स्वर्ण

बिहीवार भएको तेक्वान्दोको ग्यारोगीतर्फ ८७ केजीमुनि तौल समूहमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन्।

फाइनलमा उनले भारतका अक्षय होडालाई २९-२६ स्कोरले पराजित गरेका हुन्।

योसँगै तेक्वान्दोबाट नेपालले कुल १२ स्वर्ण पदक प्राप्त गरेको छ।

आशा गरिएकी भेट्रान खेलाडी मनिता शाही भने फाइनलमा रोकिन पुगिन्।

उसुमा सान्सौं तर्फ जुनी राईले स्वर्ण जितेकी हुन्। ५६ केजी तौल समुहको फाइनलमा उनले श्रीलंकाकी मधुमालीलाई २-० ले हराएर स्वर्ण जितेकी हुन्।

साइक्लिङमा दुई स्वर्ण

नेपाली खेलाडीहरूले १३‌औँ दक्षिण एशियाली खेलकुद सागमा बिहीवार थप स्वर्ण पदक जितेका छन्।

क्रस-कन्ट्री साइक्लिङको पुरुषतर्फको स्पर्धामा नेपालले सबै पदक जितेपछि नेपालको स्वर्ण पदक सङ्ख्या ३२ पुगेको छ।

योसँगै नेपालका लागि यो सबैभन्दा सफल साग सहभागिता बनेको छ। यसअघि नेपालले सन् १९९९ मा काठमाण्डूमा आयोजित सागमा ३१ वटा स्वर्ण पदक जितेको थियो।

सबैभन्दा पछिल्लो स्वर्ण पदक बुद्धिबहादुर तामाङले क्रस-कन्ट्री साइक्लिङमा जितेका हुन्।

यसअघि क्रस-कन्ट्री साइक्लिङको महिलातर्फ लक्ष्मी मगरले स्वर्ण पदक जितेकी थिइन्।

नेपालकै उषा खनालले उक्त विधामा रजत पदक जितिन्।

बिहीवारै निमा घर्तीमगरले उसुमा स्वर्ण पदक जितेकी थिइन्। अहिलेसम्म नेपाल सागको पदक-तालिकामा दोस्रो स्थानमा छ।

निमा घर्तीमगरको दोस्रो स्वर्ण

निमा घर्तीमगर लगातार दुईवटा दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण जित्ने पहिलो उसु खेलाडी हुन्।

उसुको थाउलोअन्तर्गत नान्दौमा बिहीवार उनले बङ्ग्लादेशकी मोर्जिना अख्तरलाई पराजित गरेकी हुन्।

घर्तीमगरले भारतमा भएको १२औँ सागमा पनि उसुमा स्वर्ण जितेकी थिइन्।

उनले १८.१९ अङ्क प्राप्त गरिन् भने अख्तरले १६.३ अङ्क जोडिन्। श्रीलङ्काकी सञ्जु कुमारीले कांस्य पदक हात पारिन्।

भारत शीर्ष स्थानमा

बुधवार धेरै स्वर्ण पदक जितेर भारत शीर्ष स्थानमा पुगेको हो।

नेपालले मार्शल आर्ट्सका विभिन्न विधामा अधिकांश स्वर्ण पदक जितेको हो।

नेपाली खेलाडीहरूले तेक्वान्दो, कराते, उसु, एथलेटिक्स, ट्रायथलन, र साइक्लिङमा स्वर्ण पदक जितेका छन्।

बुधवारसम्म भारतले ५८ स्वर्ण, ४१ रजत र १९ कांस्यसहित कुल ११८ वटा पदक जितेको थियो भने नेपालले ३६ स्वर्ण २६ रजत र ३४ कांस्यसहित ९६ वटा पदक हात पारेको थियो।

भुटानबाहेक सबै सहभागी राष्ट्रले स्वर्ण पदक जितेका छन्।