पानी चोरिने डरले इनारमा ताला र चौकीदार

    • Author, प्रकाश पन्त
    • Role, बीबीसी न्यूज नेपाली

सुर्खेतको चौकुने गाउँपालिका पुच्माकी दिलाकुमारी बीसीको परिवारका सबै सदस्य सधैँ टपरीमा खाना खान्छन्।

उनी भन्छिन्, "पानी अड्कलेर खानुपर्छ; भाँडा माझ्न पानी पुग्दैन त्यसैले दुनामा दाल र टपरीमा भात खान्छौँ।"

खानेपानीको अभावका कारण जुठो भाँडा माझ्न पानी नपुग्ने भएकाले वर्षौँदेखि गाउँलेले टपरी प्रयोग गदै आएको उनले बताइन्।

सो गाउँपालिकाको वडा नम्बर ४ र ५ मा पर्ने रेक्चा र पुच्मा गाउँका मानिसहरू वर्षौँदेखि अड्कलेर पानी खाने गरेको बताउँछन्।

पानीको लोभ

पानीको मुहान पुग्न एक डेढ घण्टा लाग्ने भएकोले साँझबिहान मुहानबाट पानी ल्याएर खान नसकिने भएकोले वर्षामा इनारमा सङ्कलन गरेको पानी अड्कलेर प्रयोग गर्ने गरेको राधिका बोगटी बताउँछिन्।

"पानी तेल घसेजस्तो हुन्छ," वर्षौँदेखि पानीको चर्को समस्या झेल्दै आएकी ७८ वर्षीय मन्दरा बूढा भन्छिन्, "बरु खान दिन लोभ लाग्दैन, पानी दिन लोभ लाग्छ।"

पानीका मुहान बस्तीभन्दा तल भएकाले पाइपबाट ल्याउन सम्भव नभएपछि वर्षाको पानी सङ्कलन गर्न गाउँलेले निजी र सार्वजनिक इनार बनाएका छन्।

इनारको निगरानी गर्न र पानीको समान वितरणका लागि चौकीदार पनि उनीहरूले राखेका छन्।

चौकीदारले बिहान ६ देखि १० बजेसम्म प्रत्येक घरलाई दुई-दुई गाग्रीका दरले पानी बाँड्ने गरेको वडाध्यक्ष नमराज जैसीले बताए।

इनारमा ताला

कसैको घरमा पाहुना आएको अवस्थामा थप पानी दिइन्छ तर चोरी हुने डरले इनारमा ताला लगाउने व्यवस्था गरिएको छ।

मङ्सिर महिनाबाट दैनिक दुई गाग्रीभन्दा बढी पानी नपाइने भएकाले त्यसैले पुर्‍याउनुपर्ने गाउँलेहरू बताउँछन्।

उनीहरूका अनुसार पालो लगाएर पानी भर्ने अनि ताला लगाएर राख्ने गरिएको हो। पानी चोर्ने र अटेर गरी बढी पानी लिनेलाई जरिबाना गरिन्छ।

रेक्चाकी राधिका बोगटी भन्छिन्, "पहिलोपटक गल्ती गरे पाँच सय रुपैयाँ, दोस्रो पटकको गल्तीका लागि एक हजार रुपैयाँ र त्यसपछि जरिबाना रकम पनि बढ्दै जान्छ।"

इनारको खानेपानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न समिति समेत बनाएका गाउँलेले जरिबानाबाट सङ्कलित रकम इनार मर्मतमा खर्च गर्ने गरेका छन्।

खानेपानी अभावले गर्दा आफूहरू ठूलो समस्यामा परेको महिलाहरू बताउँछन्।

सुत्केरी र महिनावारी हुँदा इनार छुन नदिइने गरेकाले झगडा समेत हुने गरेको उनीहरूको अनुभव छ।

खानेपानीको समस्याकै कारण हिउँद र खडेरीका बेला पाहुनालाई समेत नआउन अनुरोध गर्ने गरेको गाउँलेहरू बताउँछन्।

उनीहरू दुई-तीन दिन बिराएर गाईवस्तुलाई पानी खुवाउन खोलामा लानुका साथै नुहाउन र कपडा धुन खोलामै जाने गरेका छन्।

अछामको मैयाकाँडाबाट आएर यो स्थानमा बस्ती बसेको पाँच पुस्ता भएको उनीहरू बताउँछन्।

बस्ती बढेसँगै पानीको समस्या गहिरिँदै गएपछि २०५५ सालदेखि खानेपानी वितरणलाई व्यवस्थित गर्न इनारमा चौकीदार राखिएको हो।

चौकीदारलाई गाउँलेले मासिक नगद र अन्न उठाएर दिने गरेका छन्।

पुच्मा समुद्री सतहबाट १,०४५ र रेक्चा १,४४५ मिटरको उचाइमा पर्छन्।

उब्जनी राम्रो हुने र जङ्गल क्षेत्र भएकाले चौपाया पाल्न सजिलो भएकोले पानीको असुविधा हुँदाहुँदै पनि ठाउँ छोड्न नसकिएको गोपाल बीसीले बताए।

विकल्प

पानीको असुविधा भएका पुच्मा, रेक्चा बागमारा, खुङ्ग, बूढापुच्मा, बाड्ले, ड्वाङड्वाङे, रुदेउ, कट्कपानी, कुटौला, साइरेदुला र पनटुक्रा गाउँमा करिब पाँच सय घरधुरीको बसोबास छ।

उनीहरूमध्ये चार सय घरधुरी बाह्रैमास बस्ने गरेको वडाध्यक्ष जैसीले बताए।

डाँडोका बस्तीहरूभन्दा तल रहेका भोग्रे खोला र धाक्चे खोलाबाट एक हजार छ सय मिटरमाथि लिफ्ट गरी पानी ल्याउनेबाहेक अरू विकल्प नभएको उनी बताउँछन्।

इनार देख्दा आश्चर्य

पानीको समस्या बुझ्न पुगेका चौकुने गाउँपालिकाका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले पहिलो पटक डाँडैभरि ताला लगाएका इनारहरू देख्दा आश्चर्य लागेको बताए।

उनले भने, "लिफ्ट गरेर पानी लिन सकिने प्रविधि हुँदा समेत यहाँका मानिसहरू अड्कलेर पानी खानुपर्ने बाध्यता रहेछ।"

चौकुने गाउँपालिकाकी उपाध्यक्ष निर्माला रानाले चाहिँ ठूलो रकम लाग्ने भएकोले लिफ्ट गर्न गाउँपालिकाको बजेटले नभ्याउने बताइन्।

उनले लिफ्टका लागि प्रदेश र केन्द्र सरकारसँग सहयोग मागे पनि अहिलेसम्म कतैबाट सहयोग नभएको जानकारी दिइन्।